स्यालको तुलना सिंहसँग गर्न सकिन्न– प्रचण्ड

स्यालको तुलना सिंहसँग गर्न सकिन्न– प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको जाँतोमा धकेल्ने काम सह्य नहुने बताएका छन् ।

तत्कालिन माओवादी जनयुद्दका क्रममा प्रहरीबाट मारिएका सुरेश वाग्ले वासुको २१ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीबाट केही कमजोरी भए सच्याउन तयार रहेको तर इतिहासका उपलब्धि खोस्न चाहने तत्वलाई भने छूट दिन नसकिने बताए ।

प्रचण्डले सुरेश वाग्लेको योगदानको व्याख्या गर्दै वाग्ले वैचारिक र नैतिकरुपमा निकै उच्च व्यक्तित्व रहेको बताए ।
प्रचण्डको सम्बोधनको मुख्य अंश

कमरेड बासुका अगाडि हामी सबै झुक्नुपर्थ्यो

त्याग र बलिदानको भावनाले पोलिटब्यूरो भन्दा धेरै माथिको योग्यता थियो । कमरेड सुरेश वाग्लेलाई स्मरण र चर्चा गर्ने कुरा धेरै ठूलो जिम्मेवारीको कुरा हो ।

जनयुद्दको तयारीको बेला महामन्त्री थिएँ, जनयुद्द शुरु भएर त्यो अगाडि बढदै जाँदा जुन परिस्थिति बन्यो, सुरेश वाग्ले त्यस्तो नेतामध्ये हुनुहुन्थ्यो जो पार्टीका सबै वरिष्ठ नेता म, किरण, बाबुराम, बादललगायत हामी बासुका अगाडि नतमस्तक हुन्थ्यौं । बहसहरुमा वहाँ अगाडि सरेपछि सबै झुक्नुपथ्र्यो । बौद्धिक व्यक्तित्व, विचार र निष्ठा तथा राजनीतिक प्रवृत्तिलाई सन्तुलनमा ल्याउने सवालमा र खासगरी चरित्रको नैतिक बल धेरै ठूलो थियो ।
सबै वरिष्ठ नेताहरुलाई आफ्नो राजनीतिक कुशलताद्वारा प्रभावित पार्न सक्नुहुन्थ्यो ।

जनयुद्दको तयारीको बेला, जनयुद्द शुरु भइसकेपछि किलो सेरा लगायतका अप्रेसन चलिरहेका बेला, अन्तर्पार्टी वहस र अन्तर्सघंषलाई ठीक ढंगले परिचालन गर्ने कुरामा कमरेड सुरेश अग्रणी भूमिका हुनुहुन्थ्यो ।

अहिले वहाँको त्यो चरित्र, नैतिक तागत र कम्युनिष्ट आदर्शप्रतिको समर्पण भावलाई एउटा सानो कार्यक्रम या भाषणमा समेटन सकिने जस्तो मलाई लाग्दैन ।

बाँच्ने मर्ने ठेगान थिएन

जनयुद्दमा यदि कमरेड सुरेश जस्ता वैचारिक स्पष्टता, निष्ठा र नैतिक चरित्र भएका मानिस नभएको भए त्यो जनयुद्दका रुपमा युगान्तकारी तागतका रुपमा विकास हुने थिएन । अन्तर्राष्ट्रिय अनुकुल थिएन, देशकै परिस्थिति पनि त्यति धेरै अनुकुल थिएन । हामीले तयारी गर्दै गरेको बेला, पञ्चायतबिरोधी आन्दोलन बिस्तारित भइरहेको बेला छापामार युद्द शुरु गर्नुपर्छ भनेर गोर्खाको सिरानचोकमा सुरेश वाग्लेको व्यवस्थापन र सहयोगमा त्यसको आयोजना गरिएको थियो ।

को बाँचिन्छ, को मरिन्छ ठेगान थिएन । केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गरेका थियौं । हामी केन्द्रीय समितिमा १९ जना थियौं, हामी छिटै मारिन्छौं जस्तो लागेको थियो । विद्रोहका आधार त छन तर सांगठनिक तागत र बौद्धिक तागतले राज्यसँग लडेर तुरुन्त जित्न सकिन्छ अनि नेतृत्व सबै बाँचिन्छ नै भन्ने छैन भन्ने परेको थियो । हामीले अलग अलग फोटो खिचेका थियौं । यो अन्तिम बैठक पनि हुनसक्छ भनेर फोटो खिँचेका थियौं । हामीले जम्मा गरेको साधनको जिम्मा पनि सुरेशले नै लिनुभएको थियो ।
वहाँ बौद्धिक समुदायमा खासगरी शिक्षक समुदायमा असाध्यै व्यक्तिको रुपमा प्रेरणादायी व्यक्तिको रुपमा परिचित हुनुभयो ।

हत्याले जनयुद्दमा बलिदान गर्न चाहने लर्को

२०५६ सालमा वहाँको हत्या भएपछि निकै ठूलो तरंग आयो । त्यो भन्दा अगाडि विद्रोह शुरु गरेपछि १५, १६ सय बढीको मृत्यु भएको थिएन । तर वासुको हत्या निमर्म तरिकाले गरिएको खबर फैलिएपछि विद्यार्थी, बुद्धिजीवि, शिक्षक सबैमा फैलिएपछि माओवादी आन्दोलनमा संलग्न हुने राजनीतिक कार्यकर्ताको संख्या गुणात्मकरुपमा बढ्यो । अहिले कथा जस्तो लागेपनि मर्नका लागि बलिदानका लागि तछाडमछाड हुन थाल्यो । मलाई अग्रीम मोर्चामा राखियोस् भन्ने सयौं हजारौं देखा पर्न थाल्यो । त्यसपछि सहीदको संख्या बढेर हजार बढी भयो । हामीले सकेसम्म कम बलिदानबाट यो राजनीतिक आन्दोलन अघि जाओस् भन्ने चाहना राखेका थियौं । तर कमरेड सुरेश र भीमसेनको हत्या भएपछि, सांस्कृतिक आन्दोलनका थुप्रै योद्दा मस्त विष्टदेखि कृष्णसेनसम्म समाजले सबभन्दा राम्रो नागरिक र असल प्रतिनिधिको रुपमा स्वीकार गरेका व्यक्तित्वको लामबन्दी शुरु भयो ।

त्यो बलिदानका कारण निमोठेर नै सक्ने प्रतिक्रियावादीको सपना पुरा हुन दिएन । यो बलिदानकै बलमा त्यो परिस्थिति सिर्जना भयो । अहिले पनि सबैभन्दा राम्रा मान्छेको मृत्यु हुँदा, मारिँदा या शहीद हुँदा तिनले थुप्रै क्रान्तिकारी जन्माउँदा रहेछौं । यो कुरा हामीले प्रत्यक्ष देख्यौं, भोग्यौं ।

जनयुद्दको अन्तिम तयारीमा हुँदा मधेशमा कमरेड रामवृक्ष यादवको हत्या गर्यो । हामीले जनयुद्द शुरु गरेका थिएनौं तर त्यसले देशैभरी माडसाबको रुपमा परिचित मधेशको होनहार छोरा सबैले मन पराउने पारदर्शी व्यक्तिको हत्या भएपछि मानिसमा बलिदान गर्ने लाइन लाग्दो रहेछ ।

वैचारिक र नैतिक स्खलनबाट रक्षा जरुरी

हामीले कम्युनिष्ट आन्दोलन लोकप्रिय त बनाएको छौं, हामीले अत्यधिक बहुमत प्राप्त गरेर लोकप्रिय मतसहित सरकारको नेतृत्व गर्ने ठाउँमा त पुर्याएका छौं । तर वैचारिक निष्ठाको दृष्टि, वैचारिक स्पष्टताको दृष्टिले, राजनीतिक परिपक्वता, नैतिक चरित्र र आचरणको दृष्टिले हेर्दा हामी निकै खस्किएका छौं मलाई लाग्छ ।

हामी अलि बढी नै आत्मकेन्द्रीत, व्यक्तिवादी, आदर्शबाट विचलनतिर जान थालेको आभास हुन थालेको छ । यस्तो बेला कमरेड वासुसहित अन्य क्रान्तिकारीलाई स्मरण गर्दैछौं भने यो पार्टीलाई फेरी क्रान्तिकारी, आदर्शपुर्ण बनाउने, यो पार्टीका सबै सदस्य र नेतालाई समाजका सबैले स्वीकार्ने पार्टी बनाउने आवश्यकतामा जोड दिनु जरुरी छ । त्यसो गर्ने संकल्प लिए मात्रै समाजवादी आदर्शतर्फ उन्मुख बनाउन सक्छौं ।

हामीले साँच्चिकै औपचारिक होइन, ह्दयदेखि नै यो पार्टीलाई त्यस्तै बनाउने प्रतिबद्धता गर्यौं, संकल्प गर्यौ भने हजारौं शहीदप्रति सच्चा श्रद्धान्जली गरेको ठहर्छ । हैन भने यो औपचारिकता मात्रै हुने देखिन्छ ।
सुरेश वाग्ले तत्कालिन माओवादी आन्दोलनको मात्र हुन भन्ने होइन, उनी राष्ट्रकै सम्पत्ति, गौरव र आउने पीढिका लागि गौरवका रुपमा स्थापित गर्ने व्यक्तित्व वहाँ हुनुहुन्थ्यो । यस्तो चरित्रलाई प्रेरणाका रुपमा कसरी अगाडि लैजाने ? वहाँका कैयन लेख छन । कम्युनिष्ट आचरण र विचारसँग सम्बन्धित सामग्री छन् । तिनलाई जनतामा लैजाने आवश्यकता छ ।

निरंकुशताको जाँतोमा पिस्ने षडयन्त्र

अहिले लोकतान्त्रिक गणतन्त्रमा हामी छौं, त्यस्तो महान क्रान्तिकारीको संलग्नता नभएको भए यो परिवर्तन यति छिटो सम्भव थिएन ।

एकथरिले यो क्रान्तिकारी आन्दोलन र यसको नेतृत्वलाई बदनाम गर्न धेरै तल्लो स्तरमा ओर्लेर गाली गलौज समेत गरिरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने उद्देश्यले आन्दोलनमा प्रदर्शित गरिएको त्याग तपस्या, क्षमता, प्रतिभा र देशका लागि समर्पित गर्ने व्यक्तित्व र आन्दोलनलाई बदनाम गर्ने, हिजोको अत्याचारी निरंकुश सामन्तहरुलाई फेरी अगाडि ल्याउने षडयन्त्रका झिल्का यत्रतत्र देख्न थालिएको छ ।
यस्तो बेला कमरेड सुरेश, भिमसेन जस्ता व्यक्तिलाई जब हामी सम्झिन्छौं, मलाई अनौठो पनि लाग्छ । यस्तो महान इतिहासलाई अपमानित गर्ने, शहीदको अवमूल्यन गर्ने, त्यसका नेताहरुलाई बदनाम गर्नै नियोजित षडयन्त्रभित्र प्रतिक्रान्तिको गन्ध आउँछ ।

त्यसैले यस्तो बेलामा पार्टीलाई सांगठनिक विधिमा लगेर जनताको पार्टी बनाउन जरुरी छ । कहिलेकाहिँ सिंहको अगाडि स्याल आएर हल्ला गरेको भरमा स्यालको तुलना सिंहजस्तो गर्न सकिन्न । स्याल स्याल नै रहन्छ, सिंह सिंह नै रहन्छ ।

हामी आज भोली कहिं न कहिँ पार्टी एकता प्रक्रिया ढिलो भएकोमा चिन्ता, सरकारले प्रभावकारीरुपमा छिटो छिटो काम गरोस भन्ने चिन्ता जताततै सुन्छौं । राम्रा काम गर्न नसकेको होइन, तर जनताको आशा अपेक्षा अनुरुप काम भएन भन्नेतर्फ हाम्रो ध्यान गम्भीररुपमा गएको छ । हामीले देशव्यापीरुपमा कार्यक्रम लिएर कार्यकर्ता र जनताको पंक्तिमा जाने अन्तिम तयारीमा छौं ।

म कमरेड सुरेश वाग्लेजस्ता महान क्रान्तिकारी योद्दा, विचारक, नैतिक उचाईमा रहेका कमरेडहरुलाई सम्मान गर्दै सबैमा एकताबद्ध हुनुको कुनै विकल्प छैन, जनताको सेवा गर्नुको कुनै विकल्प छैन । कुनै पनि नामका प्रतिक्रियावादी आएर निरंकुशताको जाँतोमा पिस्न दिने काम हामी र जनतालाई स्वीकार्य छैन । हामीभित्र केही कमजोरी भए सच्च्याउन चाहन्छौ । तर इतिहासको चक्कालाई पछाडि धकेल्ने तर हजारौं जनताको बलिदान र लाखौं कार्यकर्ताको त्यागले प्राप्त गणतन्त्र र समावेशी लोकतन्त्रलाई उल्ट्याउने छूट कुनै पनि हालतमा दिन सकिन्न । त्यो गरेमा मात्रै सुरेश वाग्लेलगायतको साँचो सम्झना गरेको ठहर्नेछ ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवस–२०८३: गणतन्त्रको रक्षा, सामाजिक न्याय र समृद्धिका लागि प्रचण्डद्वारा एकतामा जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएकाे छ ।  गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएकाे छ ।  उहाँले संविधानले सुनिश्चित गरेको गणतान्त्रिक व्यवस्था कुनै व्यक्ति वा राजनीतिक दलको मात्र नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताउनु भएकाे छ । संविधानको मूल मर्मबाट पछि हट्ने वा लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले परिवर्तनका उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा विद्यमान परम्परागत परिपाटी तथा स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाेएकाे छ । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ छ। सन्देशमा उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा दोहोर्‍याउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धितर्फ अग्रसर गराउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताउनु भएकाे छ।  राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउनु भएकाे छ।  उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली जनतामा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ। 

लोकप्रिय