१० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का !
-सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग,
-कालोधन बिटक्वाइनमा लगानी,
-हुन्डीको नयाँ तरिका बिटक्वाइन,
-ह्याकरले बढाए बिटक्वाइनको भाउ
नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ ।
‘हाम्रो अनुसन्धानले १० हजार नेपालीसँग अवैध बिटक्वाइन रहेको थाहा भएको छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले भने, ‘व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।’
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटक्वाइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो ।
कालोधन बिटक्वाइनमा लगानी
विगतमा अवैध रूपमा कमाएको रकम भारतीय ठूला नोटमा जम्मा गर्ने नेपालीको संख्या पनि निकै ठूलो रहेको राष्ट्र बैंकको भनाइ छ । भारतले विमुद्रीकरण गरेपछि भौतिक मुद्रामा सम्पत्ति सञ्चय गर्नु जोखिमपूर्ण भएका कारण ती मानिसले बिटक्वाइनमा लगानी गरेको अनुमान राष्ट्र बैंकले गरेको छ । बिटक्वाइन खरिद सम्पत्ति सञ्चय मात्रै होइन, लगानी पनि हो । अमेरिका, जापानलगायत विश्वका धेरै मुलुकमा बिटक्वाइनको कारोबार अवैध नभएका कारण पनि मानिसले यो मुद्रा खरिद गरी सम्पत्ति सञ्चय र लगानी गरिरहेको हुन सक्ने राष्ट्र बैंकका उच्च अधिकारीहरू बताउँछन् । त्यस्तै, सेना, प्रहरी र सरकारी कर्मचारीहरूले घुस खाएर कमाएर अवैध पैसा पनि बिटक्वाइनमा लगानी गरेको हुन सक्ने उनीहरूको अनुमान छ ।
सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग
नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले सम्पत्ति लैजानका लागि बिटक्वाइनको प्रयोग गरेको हुन सक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाको भनाइ छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँछन् । राष्ट्र बैंकले नेपाली पैसा विदेश लैजाँदा डलरको सीमा तोकेका कारण नेपालीले आफ्नो सम्पत्ति विदेश लैजान बिटक्वाइनको प्रयोग गरेको पाइएको छ । नेपालबाट पुँजी विदेश लैजानसमेत पाइँदैन । ‘यस्तो अवस्थामा अमेरिकाको डिभी परेकालगायत विदेशमा स्थायी रूपमा बस्न जानेहरूले चल–अचल सम्पत्तिलाई बिटक्वाइनमा परिवर्तन गरेर लैजाने गरेको देखिएको छ,’ उनले भने । यहाँ बिटक्वाइन खरिद गरी विदेश जाने र त्यहाँ त्यो बचेर नगद प्राप्त गर्ने गरेको पनि देखिएको छ ।
हुन्डीको नयाँ तरिका ‘बिटक्वाइन’
विगतमा हुन्डीवालाले हुन्डी गर्दा यहाँ नगद लिन्थ्यो र जहाँ पैसा पठाउने हो, त्यहाँ पनि पाउनेलाई नगद नै भुक्तानी गथ्र्यो । यसो गर्दा उसले केही शुल्क पनि लिने गथ्र्यो । तर, बिटक्वाइनले हुन्डीमा पनि ‘क्रान्ति’ ल्याइदिएको छ । हुन्डीवालाहरूले पैसा पठाउन चाहनेहरू बिटक्वाइनको प्रयोगबाट अत्यन्तै कम शुल्कमा पुँजी बाहिर पठाइरहेका छन् । ‘हामी बिटक्वाइन कसले प्रयोग गरिरहेको छ भनेर सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ ढुंगानाले भने, ‘हुन्डीमा लागेका व्यक्तिले यसको प्रयोग अत्यधिक गरेको पाइएको छ ।’
हुन्डीमा संलग्न व्यक्ति र व्यापारिक घरानाहरूले बिटक्वाइनको कारोबारलाई वैध बनाउनका लागि पनि धेरै पहिलेदखि प्रयास गरिरहेको उनले बताए । व्यापारीहरूले अवैधानिक आयातका लागि बिटक्वाइनको कारोबार धेरै गर्ने गरेका छन् । राष्ट्र बैंकका अनुसार नेपालमा रेमिट्यान्सको कारोबार गर्ने केही कम्पनीले पनि यसको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
ह्याकरले बढाए बिटक्वाइनको भाउ
पछिल्लो समय विश्वभरि साइबर हमला गरेर संसारभर तहल्का मच्चाएको ह्याकर समूहले त्यसबापतको फिरौती रकम बिटक्वाइनमा मागेपछि यसको भाउमा एक्कासि वृद्धि भएको थियो । ह्याकरहरूले विश्वका लाखौँ कम्प्युटरमा एकैपटक साइबर हमला गरेपछि शक्तिशाली राष्ट्रहरूले पनि यस विषयमा गम्भीर भएको बताएका थिए । तर, उनीहरूले बिटक्वाइनबाहेक कुनै पनि माध्यमको रकम ट्रान्सफर नलिने बताएपछि यसको भाउमा डबलभन्दा धेरैले वृद्धि भएको थियो । केही दिनअघि एक बिटक्वाइनको मूल्य ५ हजार डलरसम्म पुगेको थियो । तर, अहिले घटेर ४ हजार डलरको केही तल छ ।
ह्याकरहरूले अमेरिका, जापान, चीन, दक्षिण कोरिया, भारत, क्यानाडा, फ्रान्स, जर्मनीलगायतका विश्वका शक्तिशाली देशका कम्प्युटरमा एकैपटक हमला गरेका थिए । त्यसको फिरौतीबापत उक्त समूहले बिटक्वाइन दिनुपर्ने माग गरेका थिए । सोबापत विश्वभरका देशले बिटक्वाइन दिएपछि यसको भाउले आकाश छोएको थियो ।
चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध
चीनले क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएको छ। वित्तिय जोखिम बढेको भन्दै चीन सरकारले शुक्रवार क्रिप्टोकरेन्सीको एक्सचेन्ज गर्ने चिनियाँ कम्पनी केस ट्रेडिङलगायत सम्पूर्ण एक्सचेञ्जहरु तुरुन्तै बन्द गर्न निर्देशन दिएको हो । सरकारले जारी गरेको सूचना अनुसार ’कुनैपनि क्रिप्टोकरेन्सीहरु कारोवार गर्न अब चिनमा अवैध छ र यसको कारोवार गरेमा कारबाही हुनेछ,’ भनिएको छ । सूचना जारी भएपछि चीनको सवैभन्दा ठूलो साङ्घाईको विटिसी चाइनाले कारोवार बन्द गरेको छ। त्यस्तै अर्का ठूला विटक्वाइन कारोवार गर्ने कम्पनीहरु भायबिटिसी, योबबिटिसी र युनबीले पनि कारोवार बन्द गराएका छन् । यसको प्रत्यक्ष असर बिटक्वाइनको कारोवारमा परेको छ ।
१३ दिनमा २ लाख रुपैयाँ घट्यो बिटक्वाइनको मूल्य
-गएको १३ दिनमा बिटक्वाइनको मूल्य २ लाख नेपाली रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा २ सेप्टेम्बरमा बिटक्वाइनको मूल्य ४ हजार ९ सय ३७ डलर (५ लाख ८ हजार रुपैयाँ) सम्म पुगेकोमा १५ सेप्टेम्बरमा २९८५ डलर (३ लाख ७ हजार रुपैयाँ) मा झरेको थियो । १३ दिनको बीचमा बिटक्वाइनको मूल्य ३९ दशमलव ५३ प्रतिशतले घटेको हो । शनिबार साँझ बिटक्वाइनको मूल्य ३ हजार ७ सय ७५ डलर (३ लाख ८८ हजार रुपैयाँ) छ ।
-भारतमा सेप्टेम्बर २ मा बिटक्वाइनको भाउ ३ लाख ४० हजार १ सय १४ भारु रहेकोमा १५ सेप्टेम्बरमा २ लाख २९ हजार ४ सय १७ भारुमा झरेको थियो । चीनले क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाएपछि र भारतीय रिजर्भ बैंकका एक उच्च अधिकारीले क्रिप्टोकरेन्सीको आलोचना गरेपछि भारतमा यो अभौतिक मुद्राको मूल्यमा तीव्र गिरावट आएको द इकोनोमिक टाइम्सले जनाएको छ ।
-भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका कार्यकारी निर्देशक सुदर्शन सेनले क्रिप्टोकरेन्सीलाई लिएर आरबिआईले असहज महसुस गरिरहेको बताएका थिए । आरबिआईले पटकपटक क्रिप्टोकरेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराइरहेको छ । नयाँ पत्रिकाबाट
आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर माओवादी पहिलो पार्टी बन्छः प्रचण्ड
ग्रामथान (मोरङ) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो संख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो ।’ गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उहाँले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत संख्या बढाएर पूर्वले बिरोधीहरुलाई ठूलै जवाफ दिएको बताउनुभयो । ‘बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ’– ‘उहाँले भन्नुभयो– ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनैतिक महत्वको जीत हो ।’ उहाँले ग्रामथानबासीले माओवादीलाई ठूलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । केन्द्रीय समिति बैठकको दस्तावेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उहाँले गराउनुभयो । उहाँले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने बताउनुभयो । देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गर्नुभयो । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौं, जनताको विश्वास कायम राख्न नसकेकै हौं’– उहाँले भन्नुभयो– ‘त्यतिबेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौं, हामी धेरै कुरा सम्झेर तपाइँहरुसमक्ष आएका छौं, तपाईहरुलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दैे– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि ग¥यौं ।’ आफूले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । ‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ।’ सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो । ‘अहिले यहाँसम्म आउँदा पार्टीमा अभूतपूर्वक एकता कायम भएको छ । परामर्श बैठकपछि देशभरिका नेता कार्यकर्ताले विचार र नेतृत्वको केन्द्रिकरणमा जोड दिएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जनताले पनि हामीले गरेका र गर्न खोजेका राम्रा काम तथा अहिलेको एमालेले गरेको नराम्रा कामलाई हेरेर जनताको आशा र भरोसा हामीतिर बढेको छ । भर्खरैको उपनिर्वाचनले प्रष्टरुपमा यो नतिजा दिइ पनि सकेको छ ।’ उहाँले माओवादीनिकटका कर्मचारीहरुलाई माओवादीपन देखाउन आग्रह गर्दै भन्नुभयो– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रुपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुण रोप्ने फौजको रुपमा तपाइँहरु अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’ गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आउनुभएको हो ।
मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु (तस्विरहरु)
ग्रामथान (मोरङ), ५ माघ । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यसपटक ग्रामथानबासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रोपटक यो पालिकामा आउनुभएको हो ।
विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)
काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।
आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन
काठमाडौं । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो । यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।