चीनमा आँधीका कारण ११ जना बेपत्ता

बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।
पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको छ । यस्तो ‘शताब्दीमा एक पटक मात्र’ हुने राज्य मिडियाले बताएको छ ।
गुआङ्गडोङका धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ ।
तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी गुआङ्गडोङ सहर किङयुआनबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी बेई नदीको किनारमा फैलिएको छ ।
सोमबार पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ । मौसम विज्ञान अधिकारीहरूले ‘गुआङ्गडोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् ।
फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । गुआङडोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् ।
जियाङवान सहरमा भारी वर्षाका कारण भूस्खलनमा छ जना घाइते भएका छन् भने धेरैजना प्रभावित भएका छन् ।
राज्य प्रसारणकर्ता सिसिटिभीको तस्बिरहरूमा खैरो माटोको पर्खालले घरहरू ध्वस्त पार्दा मानिसहरू प्रभावित भई सार्वजनिक खेलकुद कोर्टमा शरण लिइरहेको देखाइएको छ ।
पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सिसिटिभीले रिपोर्ट गरेको छ ।
ट्रम्प भन्छन्, –‘म राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध कहिल्यै हुने थिएन’
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् । रिपब्लिकन पार्टीको चारदिने सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने दाबी पनि गरे । उनले भने, ‘जितेर हामी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्नेछौँ।’ सम्बोधनका क्रममा ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धका विषयमा वर्तमान सरकारको आलोचना पनि गरे । ट्रम्पले भने, ‘यदि म राष्ट्रपति भएको भए रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध र इजरायलमा हमलाका कारण सुरु भएको युद्ध हुने नै थिएनन्।’ सम्बोधनमा ट्रम्पले वर्तमान सरकारले सिर्जना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने दाबी पनि गरेका छन् ।
चीनको सपिङ सेन्टरमा भएको आगलागीमा कम्तीमा १६ जनाको मृत्यु
काठमाडौं । चीनको सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । एक १४ तले सपिङ सेन्टरमा भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो । सरकारी सञ्चारमाध्यमले आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा बुधबार साँझ भएको जनाएका छन् । आगलागीमा परेका अरु ३० जनाको उद्धार गरिएको जनाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको बताइएको छ । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा यस भवनको चारैतिर आगोको मुस्लो सहित कालो धुवाँ देखिएको छ ।
चिनियाँ अर्बपति अमेरिकामा दोषी ठहर
एजेन्सी । चीनबाट निष्काशित अर्बपति गुओ वेंगुई अमेरिकामा दोषी ठहर भएका छन् । अमेरिकाको संघीय अदालतले उनलाई समर्थकको १ अर्ब डलर बढी ठगी र धोखाधडीको आरोपमा मंगलबार दोषी ठहर गरेको हो । सीएनएनका अनुसार १२ आरोपमध्ये ९ वटामा गुओ दोषी ठहर भएका छन् । सेयर बढाउन ठगी गरेको, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा माइल्स गुओका रुपमा परिचित उनी माथि आरोप लागेको थियो । योसँगै उनले दशकौँ जेल बस्नुपर्ने सजाय पाउने सम्भावना रहेको समाचारमा उल्लेख छ । आगामी नोभेम्बर १९ मा उनलाई सजाय तोकिनेछ। गुओले धेरै अन्तर्सम्बन्धित धोखाधडीका स्किमहरु चलाएको र बफादार समर्थकले मिहिनेतले कमाएको पैसामा खेलबाड गरेको अदालतले ठहर गरेको छ। चिनले निश्कासित गरेपछि उनी अमेरिकामा निर्वासित जीवन बिताइरहेका थिए । उनको जीवनशैली पनि अत्यन्तै विलासी थियो । न्युयोर्कमा उनीविरुद्धका आरोपमा ७ हप्तासम्म सुनुवाइ भएको थियो । गुओका वकिलहरुले यसबारे केही प्रतिक्रिया दिएका छैनन् । दोषी ठहर भएसँगै उनका केही समर्थकमा रुवाबासी समेत चलेको छ । गुओ सन् २०१४ मा चीनबाट निर्वासित भएका थिए । उनले वरिष्ठ चिनियाँ अधिकारी र धनाढ्यहरुको काण्डको खुलासा गर्ने चेतावनी दिदै आएका थिए । यसबाहेक उनलाई अहिले राष्ट्रपतीय दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निकटस्थ स्टिभ ब्याननका साथी समेत मानिन्छ । ब्यानन पनि यही महिनाको सुरुतिर संसदीय अनुसन्धानलाई असहयोग गरेको आरोपमा संघीय कारागार चलान भइसकेका छन् । ब्याननलाई गुओले १० लाख डलर दिएको पनि खुलासा भएको छ । आफ्ना अनलाइन समर्थकलाई आफ्नो व्यवसाय र क्रिप्टोकरेन्सीमा लगानी गर्न हौस्याएर २०१८ र २०२३ को बीचमा १ अर्ब डलर बढी डुबाइदिएको आरोप गुओमाथि छ। सन् २०१७ मा हङकङ तथा चीन सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँगै उनको सम्पत्ति जफत समेत गरेको थियो ।
नोबेल शान्ति पुरस्कार पाएका युनुसमाथि भ्रष्टाचार आरोप
काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जनामाथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । युनुसले ग्रामिण क्षेत्रका कर्मचारीहरुको कल्याणकारी कोषको रकम अपचलन गरेको आरोप लागेको छ । युनुसले बंगलादेशका हजारौं व्यक्तिहरुलाई ऋणबाट मुक्त गरिदिएवाफत् सन् २००६ मा विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेका थिए । उनले आफूमाथि लागेका आरोपको खण्डन गर्दै विनाकारण प्रताडित गरिएको आरोप लगाएका छन् । युनुसले प्रधानमन्त्री शेख हसिनाले आफूमाथि झुट्टा मुद्दा दर्ता गराएको बताएका छन् । बंगलादेश सरकारले भने युनुसले लगाएको आरोपको खण्डन गरेको छ ।