नेपालद्वारा बरोडासामु १५७ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा बरोडासामु १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी २० कपमा बरोडालाई जित्नका लागि १५७ रनको चुनौति दिएको छ । 
सुरुमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालले मध्य र अन्तिममा सम्हालिदा मध्यम लक्ष्य प्रस्तुत गर्न सकेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सक्यो । नेपालका कुशल मल्लले २५ बलमा अविजित ४० रनको योगदान गरे । यस्तै सन्दिप जोराले रन आउट हुनु अघि १६ बलमा २९ रन बनाए । 
यसैगरी अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए ।

कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए ।

त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९–९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए । दिपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे । 

प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय बक्सिङ प्रतियोगिता आजबाट

काठमाडौं । आजबाट प्रकाश दाहाल स्मृति चौथो राष्ट्रिय खुला महिला तथा पुरूष बक्सिङ प्रतियगिता शुरु हुँदै छ। राष्ट्रिय बक्सिङ प्रतियोगिता नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा आयोजनामा हुन लागेको हो । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार १७ गते दिउँसो (आज) ठिक १२ बजे दशरथ रंगशालाको कभर्ड हलमा गर्ने आयोजकले जनाएको छ । राष्ट्रिय बक्सिङ प्रतियोगिता पाँच दिन सम्म चल्नेछ।

प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीलाई

काठमाडौं । प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटीले लगातार चौथो पटक जित्दै कीर्तिमान बनाएको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा सिटीले वेष्ट हम युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा रहेका थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो भने आर्सनलको हकमा उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो । अन्तिम दिन भने सिटी र आर्सनल दुवै विजयी हुँदा उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २–१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो । सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे । सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन् ।

इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।  सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे ।  सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे ।  एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए ।  ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । 

लोकप्रिय