कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको गोदाममा भएको आगलागीमा कम्तीमा बिस जना सैनिकको मृत्यु भएको छ ।  शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री हुन मानेटले बताए । 

काम्पोङ स्पेउ प्रान्तको चबर मोन सहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताए । हतियार डिपोमा भएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन ।

केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए। न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो। केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो।  केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा

एजेन्सी । इरानको कब्जामा रहेका पाँच भारतीय नागरिक रिहा भएका छन् । इरानले कब्जामा लिएको एमएससी एरीज जहाजमा रहेका पाँच भारतीय नागरिकलाई रिहा गरेको हो ।  भारतीय नागरिकलाई शुक्रबार साँझ इरानबाट भारत पठाउने तयारी छ । इरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको छ । इरानको नौसेनाले १३ अप्रिलमा भारत आउँदै गरेको एमएससी एरीज मालबाहक जहाज कब्जा गरेको थियो । जहाजमा २५ जना चालक दलका सदस्य रहेका थिए । यसमा १७ भारतीय नागरिक  थिए । इजरायलसँग जारी तनावबिच इरानले यस्तो कदम चालेको हो । यो जहाजका मालिक इजरायली व्यापारी रहेका छन् । जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफलाई भने जहाज नियन्त्रणमा लिएको केही दिनपछि नै रिहा गरिएको थियो ।

टर्कीले तोड्यो इजरायलसँगको व्यापार सम्बन्ध

काठमाडौं । टर्कीले इजरायलसँगको व्यापार सम्बन्ध तोडेको घोषणा गरेको छ । बीबीसीका अनुसार टर्कीले इजरायलसग सात अर्ब डलरको व्यापार गर्दै आएकोमा अब यसको अन्त्य भएको घोषणा गरेको हो । व्यापार सम्बन्ध तोडेको टर्कीले इजरायलले गाजाको मानवीय सङ्कट अन्त्य गरेपछि मात्र सम्बन्ध स्थापित हुने जनाएको छ । इजरायली विदेशमन्त्री इजराइल कजले टर्कीको आलोचना गर्दै राष्ट्रपति रेसेस तेयिप इर्दोगानलाई तानशाह शासक भनेका छन् । टर्कीका जनता, व्यापारिक समुह तथा अन्तर्राष्ट्रिय व्यापार सम्झौता विरोधमा उर्दोगान गएको काजको आरोप छ । सन् १९४९ मा टर्कीले इजरायललाई देशको मान्यता दिँदा यो त्यस्तो मान्यता दिने प्रथम मुस्लिम बाहुल्य देश रहेको थियो । यसअघि सन् २०१० मा प्यालेस्टाइन पक्षधर अधिकारवादीहरुलाई इजरायली कमान्डोले हत्या गर्दा कूटनीतिक सम्बन्ध ६ वर्षसम्म अन्त्य भएको थियो ।

चीनमा आँधीका कारण ११ जना बेपत्ता

बेइजिङ । दक्षिणी चीनमा आँधीबेहरीका कारणले एघार जना बेपत्ता भएका छन् । दशौँ हजारलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको राज्य मिडियाले सोमबार जनाएको छ ।   पछिल्लो समयमा गुआङ्गडोङको दक्षिणी प्रान्तमा भारी वर्षा भएकाले नदीहरूको सतह बढ्दा गम्भीर बाढीको डर बढेको छ । यस्तो ‘शताब्दीमा एक पटक मात्र’ हुने राज्य मिडियाले बताएको छ । गुआङ्गडोङका धेरै भागमा लगातारको भारी वर्षाले ११ जना बेपत्ता भएको स्थानीय आपत्कालीन व्यवस्थापन विभागलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । बाढीको जोखिमबाट बचाउन ५३ हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको एजेन्सीले जनाएको छ ।  तीमध्ये ४५ हजारभन्दा बढीलाई उत्तरी गुआङ्गडोङ सहर किङयुआनबाट विस्थापित गरिएको थियो । उक्त सहर फराकिलो नदी डेल्टामा सहायक नदी बेई नदीको किनारमा फैलिएको छ ।  सोमबार पनि भारी वर्षा जारी रहने अनुमान गरिएको छ । मौसम विज्ञान अधिकारीहरूले ‘गुआङ्गडोङको तटीय पानीमा आँधीबेहरी र तीव्र हावा’ हङकङ र शेन्जेनलगायत प्रमुख सहरहरूको सिमानामा रहेको समुद्री क्षेत्रमा रहेको पूर्वानुमान गरेका छन् । फुजियान, गुइझोउ र गुआङ्सीलगायत छिमेकी प्रान्तहरू पनि ‘अल्पकालीन भारी वर्षा’ बाट प्रभावित हुने राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । गुआङडोङ चीनको सघन जनसङ्ख्या भएको प्रान्त हो । यहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन् ।  जियाङवान सहरमा भारी वर्षाका कारण भूस्खलनमा छ जना घाइते भएका छन् भने धेरैजना प्रभावित भएका छन् । राज्य प्रसारणकर्ता सिसिटिभीको तस्बिरहरूमा खैरो माटोको पर्खालले घरहरू ध्वस्त पार्दा मानिसहरू प्रभावित भई सार्वजनिक खेलकुद कोर्टमा शरण लिइरहेको देखाइएको छ । पर्ल नदीको सहायक नदीहरूमा सोमबार बिहान चेतावनी सीमाभन्दा पाँच दशमलव आठमाथि बाढी आउने सिसिटिभीले रिपोर्ट गरेको छ ।

लोकप्रिय