रेमल चक्रवातबाट पहिरोमा परी भारतमा २७ जनाको मृत्यु

रेमल चक्रवातबाट पहिरोमा परी भारतमा २७ जनाको मृत्यु

एजेन्सी । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो ।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै लेखेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ यहाँ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्तिमा पनि असर पर्ने विभागले जनाएको छ ।

विज्ञप्तिमा मिजोरमका मुख्यमन्त्रीले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने जनाइएको छ ।

चक्रवाती आँधी रेमलका कारण मिजोरममा अहिले पनि भारी वर्षा भइरहेको छ । मिजोरमका प्रहरी महानिर्देशक (डीजीपी) अनिल शुक्लाले समाचार एजेन्सी पीटीआईलाई धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू पनि ढलेको जानकारी दिए ।

नोबेल शान्ति पुरस्कार पाएका युनुसमाथि भ्रष्टाचार आरोप

काठमाडौं । नोबेल शान्ति पुरस्कार पाएका बंगलादेशका मुहम्मद युनुससहित १३ जनामाथि भ्रष्टाचार आरोप लागेको छ । युनुसमाथि बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख डलर अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । युनुसले ग्रामिण क्षेत्रका कर्मचारीहरुको कल्याणकारी कोषको रकम अपचलन गरेको आरोप लागेको छ । युनुसले बंगलादेशका हजारौं व्यक्तिहरुलाई ऋणबाट मुक्त गरिदिएवाफत् सन् २००६ मा विश्वप्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेका थिए । उनले आफूमाथि लागेका आरोपको खण्डन गर्दै विनाकारण प्रताडित गरिएको आरोप लगाएका छन् । युनुसले प्रधानमन्त्री शेख हसिनाले आफूमाथि झुट्टा मुद्दा दर्ता गराएको बताएका छन् ।  बंगलादेश सरकारले भने युनुसले लगाएको आरोपको खण्डन गरेको छ ।

बिहे गरेको ८ दिन पछि श्रीमतीसहित परिवारका ८ जनाको हत्यापछि आत्महत्या

एजेन्सी । भारतको छिन्दवाडा जिल्लाको अन्तिम सीमामा पर्ने आदिवासी बाहुल्य क्षेत्रको बोदलकछर गाउँमा एक आदिवासी परिवारका ८ जनाको सामूहिक हत्या भएको छ ।  महुलझिर प्रहरी चौकीअन्तर्गत पर्ने यो गाउँमा परिवारका छोराले बन्चरो प्रहार गरी ८ सदस्यको हत्यापछि आफू पनि झुण्डिएर मरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ती युवकले आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठजनालाई बन्चरोले हानेर मारेका छन्। यसपछि उनी आफू पनि झुन्डिएर प्राण त्यागे।  घटना राति २–३ बजे भएको बताइएको छ । महुलझीर प्रहरी घटनास्थल पुगेको छ। प्रहरीले पुरै गाउँ सिल गरेर अनुसन्धान गरिरहेको छ। विस्तृत जानकारी आउन भने बाँकी छ ।  प्रहरीका अनुसार आरोपितले यही मे २१ तारिखका दिन बिहे गरेका थिए । सुरुमा उनले श्रीमतीको हत्या गरेका थिए । त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजुको हत्या गरे । बन्चरो प्रहार गरी उनले ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ । अहिलेसम्म घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले आरोपित युवक मानसिक रूपमा विचलित भएको जनाएको छ ।

बेलायतमा राजाभन्दा प्रधानमन्त्री धनी

एजेन्सी । बेलायतमा राजासँग भन्दा धेरै सम्पत्ति प्रधानमन्त्रीसँग भएको पाइएको छ । बेलायती पत्रिका सन्डे टाइम्समा प्रकाशित धनाढ्यको पछिल्लो सूचीमा यस्तो देखिएको हो ।  प्रकाशित प्रतिबेदनका अनुसार प्रधानमन्त्री ऋषि सुनक र उनकी पत्नी अक्षता मूर्तिको सम्पत्ति गएको एक वर्षमा १२ करोड पाउण्डले बढेर कुल ६५ करोड १० लाख पाउण्डमा पुगेको छ ।  यस अवधिमा राजा चार्ल्सको कुल सम्पत्ति भने ६० करोड पाउण्डबाट बढेर ६१ करोड पाउण्ड मात्रै पुगेको छ । पत्रिकाले बेलायतमा अरबपतिहरूको संख्या घट्दै गइरहेको जनाएको छ । प्रतिबेदनमा सन् २०२२ मा १७७ रहेको अर्बपतिहरूको संख्या घटेर १६५ मा आएको छ । सूचीमा भारतीय मूलका बेलायती व्यापारी गोपी हिन्दुजा र उनको परिवार ३७ अर्ब २० करोड पाउण्डको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा रहेका छन् ।  प्रतिबेदनका अनुसार सम्पत्तिको यो आकार अर्बपतिहरुको सूचि प्रकाशित गर्न थालेयताकै उच्च हो । दोस्रो स्थानमा सर लियोनार्ड ब्लावटनिक रहेका छन् । उनको नेटवर्थ २९ अर्ब २० करोड पाउन्ड छ भने तेस्रो स्थान २४ अर्ब ९० करोड पाउन्ड नेटवर्थ सहित डेभिड र साइमेर रुबेन र परिवारको रहेको छ ।

केजरीवाललाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एजेन्सी । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनले जुन १ सम्मको आन्तरिक जमानत प्राप्त गरेका हुन् । यसअघि सम्पत्ति शुद्धीकरण मुद्दामा उनी पक्राउ परेका थिए। न्यायाधीशहरु सञ्जीव खन्ना र दीपंकर दत्तको इजलासले यस्तो आदेश दिएको हो। केजरीवाललाई जमानत दिने विषयमा ईडीले चर्को विरोध गरेको थियो।  केजरीवाल हाल तिहाड जेलमा रहेका छन् । उनलाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । सर्बोच्चको फैसला अनुसार उनले अब चुनावको प्रचार गर्न समेत पाउनेछन् । 

लोकप्रिय