बार्सिलोनाका पूर्व फुटबलर अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्ष कैद

बार्सिलोनाका पूर्व फुटबलर अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्ष कैद

एजेन्सी । बार्सिलोनाका पूर्व फुटबलर ड्यानी एल्भेस बलात्कार मुद्दामा दोषी ठहरिएका छन्।

२०२२ डिसेम्बर ३१ मा बार्सिलोनाको नाइट क्लबमा युवतीमाथि भएको बलात्कार घटनामा बिहीबार बार्सिलोनाको प्रान्तीय अदालतले अल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको कैद सजाय सुनाएको हो।

तीन जना न्यायाधीशको इजलासले पीडितलाई अल्भेसबाट १ लाख ५० हजार युरो क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ।

४० वर्षीय अल्भेसलाई जेल सजाय भुक्तान गरेको पाँच वर्षपछि सम्म पनि निगरानीमा राख्न अदालतले आदेश गरेको छ भने ९ वर्षसम्म उनीसँग कुनै पनि माध्यमबाट कुराकानी गर्न प्रतिबन्ध लगाएको छ।

स्पेनमा यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएमा चार देखि १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

बिबिसीका अनुसार पीडिततर्फका वकिलले अल्भेसलाई १५ वर्षको जेल सजाय माग गरेका थिए। तर फैसलाले सत्य स्थापित गरेको भन्दै उनीहरुले अदालतको आदेशको स्वागत गरेका छन्।

अल्भेसकी वकिल इनेस ग्वार्डिओलाले अदालतको उक्त आदेशविरूद्ध माथिल्लो अदातलमा अपील गर्ने बताएकी छन्।

अल्भेसले बार्सिलोनाको नाइट क्लबमा २३ वर्षीय युवतीलाई मदिरा सेवन गराएर फकाइफुल्याइ शौचालयमा पुर्‍याएर‍ बलात्कार गरेका थिए।  

इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा

एजेन्सी । फ्रान्सेली प्रतिद्वन्द्वीलाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको फाइनलमा पुगेको छ । एटलान्टाले बिहीबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी क्लब मार्सेलीलाई ३–० गोलले हरायो । यो नतिजापछि एटलान्टा ४–१ कुल गोल भिन्नताका आधारमा फाइनलमा प्रवेश गरेको हो । अघिल्लो साता खेलिएको सेमिफाइनलको पहिलो खेल भने १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेग खेल एटलान्टाको घरेलु मैदानमा खेलिएको थियो ।  सेमिफाइनलको दोस्रो लेग खेलमा एटलान्टाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेल सुरु भएको ३०औँ मिनेटमा एटलान्टाका लागि एडमोला लुकम्यानले पहिलो गोल गरे ।  सोही गोलका कारण पहिलो हाफमा अगाडि रहेको एटलाण्टाका लागि ५२औँ मिनेटमा माटियो रुगेरीले दोस्रो गोल थपे । टोलीका लागि तेस्रो गोल भने इन्जुरी समयको चौथो मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका अल बिलाल टुरेले गरे ।  एटलान्टाले अब फाइनलमा उपाधिका लागि जर्मन क्लब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्नेछ । बायर लेभरकुजन क्लब बलियो मानिएको इटालियन प्रतिद्वन्द्वी रोमालाई हराउँदै युरोपा लिगको फाइनलमा पुगेको हो ।

बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता सुरु

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएका छन् । प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलाए । विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए ।  ललितपुरको महाँकाल गाउँपालिका–३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा आजदेखि सुरु भएको प्रतियोगितामा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता यही वैशाख २२ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाश दाहालको स्मृतिमा १२ लाख पुरस्कार राशीको अन्तरपालिका भलिबल हुने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  वैशाख २२ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको छ ।  समितिहरूले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन् ।  प्रतियोगिताका लागि जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको छ । यस्तै, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।  प्रतियोगितामा प्रदेशका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १÷१ लाख रुपैयाँ प्रदान गरिने छ ।  साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानाले जानकारी दिए ।  वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैयाँ रकम राखिएको छ । प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान आयोजकले छ ।  महाकाल माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकले बताएको छ ।

कुराँश च्याम्पियनसिपमा २ स्वर्ण, ३ रजतसहित नेपाल दोस्रो

काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो हुन सफल भएको छ । हिजो वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । यस्तै, परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएको बताइएको छ । अर्जुनले ६० केजी मुनि तथा परीले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरे । दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको थियो।

लोकप्रिय