किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?

किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?

पेट दुख्ने समस्याबाट हरेक पीडित हुने गर्दछन् । सामान्यतः पेट किन दुख्छ भन्ने कुराको यकीन कारण थाहा हुँदैन । कतिपय बेला यस्तो दुखाई सामान्य लाग्छ भने कतिपय बेला यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।
पेट किन दुख्छ र कस्तो अवस्थामा चिकित्सककहाँ जानुपर्छ त भन्ने विषयमा जान्नु जरुरी छ ।

Pain Abdomen ( पेट दुख्नु)

पेटको दुखाई करंगको मुनिदेखि  यौनाङ्गको माथिल्लो भाग जहि पनि हुन सक्छ। सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हात लैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टयाई दुखेको भाग देखाउन सक्दछ ।

के कारणले पेट दुख्छ ?

  • पेटको दुखाई (Colic) बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ। यसको सहि कारण अहिलेसम्म थाहा हुन सकेको छैन। आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ। बच्चामा दुखाई दिउसो र साझतिर बढी देखिन्छ। यस्तो भएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याकदछ , हावा बढी फ्याक्दछ र आलस्य हुन्छ। यसको समाधानको लागि  बच्चालाई थुम्थुमाउने र बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ।
  • अपच(Indigestion): धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट  दुख्न सक्छ।
  • संक्रमण (Infection): कुनैपनि किटाणुको संक्रमणले पेट काट्न सक्छ।  यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ।
  • विषाक्त खाना (Food Poisoning ) : फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडाबान्ता लाग्न सक्छ।
  • कब्जियत(Constipation) : कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ।
  • घाटिको सुजन (Streptococcal pharyngitis) : घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ।
  • तनाब (Stress) : बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्येसैले  बच्चालाई तनावबाट मुक्त राख्नु   पर्दछ।  घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाब पर्न सक्दछ। परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिबर्तनबाट पनि तनाब उत्पन्न हुन सक्दछ। तनाबको कारणले हुने पेटको दुखाई  प्राय नाइटोमा केन्द्रित हुन्छ।
  • गम्भीर कारणहरु  : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन।  गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण  सकिन्छ। आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश (Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नु पर्दछ  भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ।

पेट दुखेको बिरामीलाई कहिले चिकित्शक कहा देखाउने ?

  • बच्चा सार्हैनै सिकिस्त देखिएको छ भने
  • यदि बच्चाले बिषालु बिरुवा, औषधि, रसायन  चलाएको छ भने
  •  हिड्न सक्दैन वा हिड्दा शरीर निहुराएर हिड्छ भने
  • दायापट्टी तल्लो भागमा बढी दुखेको छ भने
  • दुखाइ संगै अन्डकोश सुनिएको छ भने
  • कुनै पनि भागमा बढिनै दुखेको छ भने
  • दुखाइ संगै बिरामी बढिने रोइरहेको छ भने
  • दिसा वा बान्तामा रगत देखिएको छ भने
  • बान्ता पहेलो वा हरियो  छ भने
  • केहि पहिला कुनै दुर्घटना भएको छ भने
  • २ वर्ष भन्दा मुनिको बच्चा छ भने
  • ज्वरो १०४ भन्दा माथि छ भने
  • महिनावारी भईसकेको र गर्भवतीको लक्षण देखाउछिन भने
  • दुखाई  झन् बढ्दै गएको छ भने
  • २ घण्टा सम्म पनि दुखाई कम हुदैन भने
  • २४ घण्टामा दुखाई  आउदै जादै गर्छ भने

घरमा गर्न सकिने उपचार :

  1. पेटमा हावा भरिएर वा बढी खानाको  सेवन गरेर  हल्का पेट दुख्न सक्छ। यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरु खुवाउन  सकिन्छ। यसको लागि बजारमा  पाईने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ। बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने सौचालय जान  प्रोत्साहित गर्नु पर्दछ।  पेटबाट  दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ।
  2. बच्चालाई पेट थिचेर केहि बेर सुत्न लगाउदा आराम हुन्छ।
  3. पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस।
  4. बच्चालाई बान्ता गर्न प्रोत्शाहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ।
  5. लामो समय देखि कब्जियतले दुख दिईरहेको छ भने पेट दुखाइको  कारणनै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ।  त्येसैले सकेसम्म बच्चालाइ दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ। यसको लागि बच्चालाई सौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ। यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहीर सजिलै निस्कन्छ।
  6. खानपानमा बिशेष ध्यान दिनु पर्दछ। बजारमा पाईने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुदैन। यसमा प्रयोग हुने रशायनले पेटको अल्सर भएको पाईएको छ।
  7. पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बांताको लागि तयार भएर बस्नु पर्दछ।
  8. कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुदैन। दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्रि भित्ता खिईयाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ। ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ।
  9. गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई  कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय