२३ वर्ष पछि दरबार हत्याकाण्डको बहस

दरबार निकट डा. सुन्दरमणि दीक्षितको दाबीः ‘दरबार हत्याकाण्ड दिपेन्द्रले गराए, कारण लभ अफयर’

२३ वर्ष पछि दरबार हत्याकाण्डको बहस

काठमाडौं । दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । दरबार हत्याकाण्डमा तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको थियो । उक्त हत्याकाण्ड छानविन गर्न तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनेपनि विश्वसनीय प्रतिवेदन दिन सकेन । दरबार हत्याकाण्डका बारेमा अहिले पनि अनेकौं अनुमान लगाइन्छ । 
रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) तत्कालीन समयमा दरबारको नजिक मानिएका डा. सुन्दरमणि दीक्षित सहितको उपस्थितिमा अन्तरक्रिया गरेको छ । 
कार्यक्रममा नागरिक समाजका अगुवा डा. दीक्षितले राजा विरेन्द्रलाई असल र नम्र व्यक्तिको रुपमा सम्झिए । उनले दरबार हत्याकाण्ड दिपेन्द्रले नै गराएको दाबी गरे । उनले दरबार हत्याकाण्ड हुनुको मुख्य कारण दिपेन्द्रको लभ अफयर नै रहेको दाबी गरे । 
दरबार हत्याकाण्डलाई उनले यसरी सम्झिए, ‘त्यो दिन शुक्रबारको दिन थियो । राज परिवारको जमघट हुने दिन थियो । त्यहाँ दिपेन्द्रले कम्ब्याट ड्रेस लगाएर आएर गोली हानेको छ । राजा विरेन्द्रलाई गोली हानिसकेपछि अरुलाई हान्दै गए, फेरि फर्किएर आएर राजा मरेका छन् कि छैनन् ? हेरेको छ । त्यो बेलासम्म राजाको स्वर्गीय भएको थिएन । त्यस बेलामा राजाको शीर उहाँको बहिनी (शोभा) को काखमा राखेर उहाँको बहिनीले हेरविचार गरिराख्नुभएको थियो । त्यस बेलामा दिपेन्द्र आएर फेरि गोली हानेर हत्या भएको छ । यो हत्या दिपेन्द्रले गरेको हो । कारण सबैलाई थाहा छ, कारण लभ अफयर नै हो । बिहेको सम्बन्ध हो । दिपेन्द्रको मुकुटधारी मान्छे आयो भने । त्यो होईन । दिपेन्द्रले वंशनाश गरेको हो ।’ 
त्यस बेलाको राजनीतिक नेतृत्व पूरै प्यारालाइज हुँदा छानविन हुन नसकेको उनको भनाइ छ । दिपेन्द्रले हत्या गरेको कुरामा विवाद नरहेको दाबी गर्दै उनले ज्ञानेन्द्रको परिवारलाई केही नहुनुको रहस्य समेत खुलाए । 
उनले ज्ञानेन्द्र घटना हुनुभन्दा केही दिनअघि नै पूर्वनिर्धारित कार्यक्रम अनुसार बाहिर गएको बताए । घटना भएपछि मात्रै ज्ञानेन्द्रलाई सो बारेमा उनकी आमाले फोन मार्फत जानकारी गराएको उनको दाबी छ । ज्ञानेन्द्रको श्रीमती कोमल सो घटनामा घाइते भएको उनले बताए । सो घटनामा कोमलको मृत्यु नहुनुमा एउटी राजकुमारी गोली लागेर ढलेपछि त्यसमाथि कोमल र कोमल माथि पुन अर्की राजकुमारी ढल्दा उनीलाई केही नभएको बताए । 
‘दिपेन्द्रले गोली हान्दै जाँदा एकपछि अर्को ढल्दै गए । एउटा दिदी ढलिन्, त्यसमाथि कोमल ढलिन र अर्की राजकुमारी पनि त्यहीमाथि ढल्दा उनी बचिन् । आजको दिनसम्म पनि पूर्वरानी कोमलको छातीमा गोली छ । त्यो निकाल्न सकिएको छैन । त्यो निकालियो भने उनको मृत्यु हुनसक्छ,’– दीक्षितले भने । 
दिपेन्द्रको लभ अफयर चलिरहँदा उनको पक्षमा निराजन र पारस रहेको दीक्षितको दाबी छ । अरु सबै परिवार रानीको पक्षमा रहेकाले दिपेन्द्रले छानीछानी गोली हानेको उनले बताए । पारसलाई दिपेन्द्रले नै छाडेको उनको भनाइ छ । दिपेन्द्रले सबै जनालाई मारेपछि निराजन जाइ लाग्दा उनलाई पनि मारेको दीक्षितले दाबी गरे । 
अहिले एडीसीले के हेरेर बसेको भन्ने प्रश्न आइरहेको भन्दै उनले राज परिवारको जमघटमा कुनै एडीसी छिर्न नपाउने बताए । विरेन्द्रका निकट रहेका तत्कालीन एडीसी सुन्दर राना मगरले विरेन्द्रलाई हस्पिटल पुर्याएको उनले बताए ।
विरेन्द्रको वंशनाशपछि अहिलेसम्म आइपुग्दा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि अब देशले यसलाई धेरै दिन झेल्न नसक्ने उनले बताए । गणतन्त्र आउँदा आफूले पनि दीप प्रज्वलन गरेको स्मरण गराउँदै उनले अब यो व्यवस्था फ्याक्नुपर्ने अवस्था आइपुगेको तर्क गरे । 
प्राध्यापक डा. सुरेन्द्र केसीले दरबार हत्याकाण्डमा जनताले  ज्ञानेन्द्रमाथि ठूलो आशंका गरेको बताए । ज्ञानेन्द्रमाथि जनताले आशंका गरेपनि घटनाबाट बचेका गोखर शमशेरले पनि यसमा दिपेन्द्रकै हात रहेको बताएको उनले सुनाए । 
सेना, प्रहरीले, शाही परिवार र दरबारसँग जोडिएका राणाहरुले उक्त घटना युवराज दिपेन्द्रले नै गराएको दाबी गरिरहेको उनले बताए । आफूलाई भने सबै घटना दिपेन्द्रले गराएकोमा विश्वास नरहेको बताए । उनले विरेन्द्रलाई हान्नेसम्म चाहीँ दिपेन्द्रले गरेको र त्यसपछि अरु कोही संलग्न भएको आशंका व्यक्त गरे । दरबार निकटका कलाकार नीर शाहले पनि उक्त घटना दिपेन्द्रकै कारण घटेको भनी अन्तरवार्ताहरु दिएको केसीले स्मरण गराए । दिपेन्द्रलाई सो घटनामा आफ्नो पनि ज्यान जाँदैछ भन्ने कुरा थाहा नभएको डा. कसीको दाबी छ । दिपेन्द्रले गोली चलाएर विरेन्द्र ढलेपछि त्यसपछिको घटनालाई अरुले टेकओभर गरेको उनको उनको अनुमान छ । 
संवैधानिक दायरामा आइसकेको राजपरिवारको वंशनाश गर्नुपर्ने नेपाली जनताबाट कुनै खतरा नरहेको उनले बताए । विरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले पाले हुर्काएकाहरुबाट नै राजासंस्थामा खतरा आएको उनले बताए । उनले ज्ञानेन्द्र सत्ताच्यूत हुनुमा कमल थापा र भेषबहादु थापाको नाम लिए । 
अहिले राजतन्त्रको पक्षमा माहोल बन्दै गएको डा. केसीको भनाइ छ । उनले अहिलेका राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुको भन्दा बजारमा आफ्नो क्रेज बढी रहेको समेत दाबी गरे । 
सो क्रममा क्लबका सभापति ऋषि धमलाले राजा विरेन्द्रसँग आफ्नो भेटलाई स्मरण गरे । उनले उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको भन्दै छानविनको माग गरे । सभापति धमलाले पुनः छानविन समितिबनाएर निश्पक्ष छानविन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । 
‘त्यो हत्याकाण्ड त्यसै भएको छैन । छानविन गर्नुपर्छ । दरबार हत्याकाण्ड कसरी भयो, कसले गर्यो ?किन गर्यो ? छानविन गर्नुपर्छ । उच्चस्तरीय समिति पहिला पनि बन्यो । तारानाथ रानाभाट अहिले पनि हाम्रो सामू हुनुहुन्छ । माधव नेपालले समितिमा बस्न मान्नुभएन,’– उनले भने ।

भृकुटीमण्डपको जनसभाअघि समाजवादी मोर्चाले यी ठाउँबाट निकाल्दै छ जुलुस

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा बृहत् जनप्रदर्शन र जनसभाको आयोजना गरेको छ।  वर्तमान अवस्था तथा प्रतिगामी षड्यन्त्रको विरोध गर्दै गणतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्ने उद्देश्यका साथ भृकुटीमण्डपमा आयोजना गरिएको जनसभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिनेछ ।  यस्तो छ समाजवादी मोर्चाको चैत्र १५ गते आन्दोलनका रूटहरू  १. माइतिघर मण्डला नेकपा (माओवादी केन्द्र)  रूटः बबरमहल, माइतिघर मण्डला, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, भद्रकालि हुँदै मन्च  २. कुपण्डोल - नेकपा (माओवादी केन्द्र)  रूटः कुपण्डोल, थापाथली चोक, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मन्च (त्रिपुरेश्वरको जुलुशसँग मिसिने)  ३. त्रिपुरेश्वर - नेकपा (माओवादी केन्द्र)  रूटः त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मन्च (सुन्धाराको जुलुशसँग मिशिने)  ४. सुन्धारा नेकपा (विप्लव)  रूटः सुन्धारा, न्युरोड गेट, शान्तिबाटिका, पुरानो बसपार्क हुँदै मन्च  ५. न्युरोड गेट - नेसपा  रूट : न्युरोड गेट, रत्नपार्क, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, प‌द्मोदयमोड हुँदै मन्च ( भोटाहिटीमा सोह्रखुट्टेको जुलुशसँग मिशिने)  ६. सोह्रखुट्टे - नेकपा (माओवादी केन्द्र)  रूटः सोह्रखुट्टे, असन, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, प‌द्मोदयमोड हुँदै मन्च ( भोटाहिटीमा न्युरोड गेटको जुलुशसँग मिशिने)  ७. शान्तिबाटिका - - नेकपा (एकिकृत समाजवादी)  रूट : शान्तिबाटिका, भोटाहिटी, विश्वज्वति हल, घण्टाघर, पुतलीसडक, प‌द्मोदयमोड हुँदै मन्च -( भोटाहिटीमा न्युरोड गेट र सोह्रखुट्टेको जुलुशसँग मिशिने)  ८. मैतिदेवि - नेकपा (एकिकृत समाजवादी)  रूट : मैतिदेवी, पुतलीसडक, प‌द्मोदयमोड हुँदै मन्च पुतलिसडकमा न्युरोड गेट र सोह्रखुट्टेको जुलुशसँग मिशिने)

प्रतिक्रान्तिकारीहरुलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकाहरुलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरुको काँधमा आएको बताउनुभएको छ ।  पार्टीको सहायक संगठन वाइसिएल नेपालको बैठक उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक नहुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हुने बताउनुभयो ।  अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उहाँले अहिले त्यही संघर्षको विन्दु सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उहाँले बताउनुभयो । उहाँले युवालाई प्रतिगमनको मतियार बनाउने खतरा बढेकाले आम युवाहरुलाई अग्रगमनका लागि थप सचेत र संगठति गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । वर्ग संघर्षको विशिष्ट मोडमा नेपाल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै खाले प्रतिक्रान्तिकारी हर्कतलाई परास्त गरी संविधानलाई अझै परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिंदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।  प्रतिक्रियावादी शक्तिहरुसँग आवश्यकताभन्दा बढी सहकार्य र सम्झौता गर्दा जनतामा भ्रम पर्न गएको र परिवर्तनका एजेण्डा भनेजस्तो गरी कार्यान्वयन हुन नसकेको ठहरसहित पार्टीले गत केन्द्रीय समिति बैठकबाट गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्ग र समुदायतर्फ फर्कने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि पार्टीले जनतासँग माओवादी अभियान सुरु गरिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अग्रमोर्चामा युवाहरुलाई नै राखिएको र वाइसिएलले पनि देशव्यापी लाखौं युवाहरुलाई तम्तयार अवस्थामा राख्नुपर्ने बताउनुभयो । पछिल्लो पटक सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय  समृद्धिको पक्षमा गरेका पहलका कारण जनतामा सकारात्मक वातावरण बन्दै गएको र पार्टीले जनस्तरबाटै समाजवाद निर्माणको पहल थालेको उल्लेख गर्दै उहाँले यसले युवाहरुलाई पनि आकर्षित गर्दै लगेको र झापाबाट रौतहटसम्म अभियान पुग्दा हजारौं नयाँ युवाहरु पार्टीमा गोलबन्द भएको बताउनुभयो । उहाँले वाइसिएललाईसंघर्ष र उत्पादनको मोर्चा अगाडि बढाउन निर्देशन पनि दिनुभयो ।

जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

कैलाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभएको छ । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, त्यस्तो सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’ जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं ।’ हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उहाँले थारु समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जनयुद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको संयुक्त राष्ट्रसंघको तथ्यांकमा समेत उल्लेख गर्दै उहाँले नेपालको राजनीतिक परिवर्तनमा थारु समुदायले ऐतिहासिक बलिदानी गरेको बताउनुभयो । थारु मुक्तिको कार्यभार अझै बाँकी रहे पनि थारु आयोगको व्यवस्था, थारुलाई मधेशी क्लष्टरबाट छुट्याउने, थारु समुदायका लागि समावेशी समानुपातिक अधिकार स्थापित भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले थारु समुदायका लागि लड्ने शक्ति माओवादी नै नभएकाले अरुको भ्रममा नपर्न आग्रह गर्नुभयो । ‘थारु समुदायमा जागरण ल्याउनेदेखि अधिकार सुनिश्चित गर्नेसम्म माओवादीले नै नेतृत्व गरेको हो’– उहाँले भन्नुभयो– ‘अब माओवादीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा स्थापित गरेर थारु समुदायका बाँकी अधिकार पनि संस्थागत गर्दै लैदाने प्रतिबद्धता व्यक्त गर्दछु ।’ थारु समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेकाले थारु समुदायकै मुक्तिका लागि भनेर फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उहाँले  रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गर्नुभयो । टीकापुर काण्डमा जालझेल गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफूले यो संघर्षको सम्मान गरेको र यही बहानामा एउटा थारुको छोरालाई जेलमा राखिरहन अन्याय हुने निष्कर्षका साथ आफू प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई रिहा गर्ने निर्णयमा पुगिएको ताउनुभयो । उहाँले विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारु अगुवाहरुलाई पनि मूल घरमै फर्केर थारु अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो । पहिलेको तुलनामा जिल्लाजिल्लामा कमैया कम्लरी प्रथा कम भए पनि पहुँचवालाहरुले अहिले पनि कम्लरी राख्ने गरेको उल्लेख गर्दै उहाँले सामन्तवादको अवशेषको रुपमा रहेको यो प्रथालाई पूरै उन्मुलन गर्न थारु समुदायबाटै सशक्त संघर्ष आवश्यक रहेको बताउनुभयो । दाङका स्वर्गद्वारी गुठीपीडित किसानलाई न्याय दिन आफ्नो नेतृत्वको सरकारले विधेयक मस्यौदा प्रक्रिया अघि बढाएकै बेला सरकार परिवर्तन भएकाले यो प्रक्रिया रोकिएको र हाल यसलाई अघि बढाउनुको साटो सरकारले किसानमाथि दमन प्रक्रिया सुरु गरेको आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले आफूले केही दिनअघि संसदको विशेष संबोधनबाट पनि आग्रह गरेको र यसमा हुने सडक संघर्षमा पार्टीको सहयो रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । माओवादीले आफ्नो वर्ग र समुदायभन्दा पनि कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्नेतिर ध्यान लगाउँदा माओवादी मात्र होइन, वर्ग समुदायका एजेण्डासमेत कमजोर भएको उल्लेख गर्दै उहाँले अब फेरि त्यस्तो गल्ती नदोहोर्याउने बरु आफ्नै वर्ग समुदायको बलमा २०४८ को निर्वाचनमा बहुमत ल्याएर सबै समुदायका अधिकार सुनिश्चित गर्ने दिशातिर अघि बढेको बताउनुभयो ।      

अध्यक्ष प्रचण्डद्वारा थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन (तस्विरहरु)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको आज कैलालीको टीकापुरमा उद्घाटन गर्नुभएको छ ।