गौरवमय यात्रातर्फ राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१

गौरवमय यात्रातर्फ राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको औचित्यलाई राम्रोसँग प्रमाणित गर्दै लगेको छ । विगतका दिनहरूमा भएका प्रयासहरूले यो पटक थप शक्ति आर्जन गरेको देखिन्छ । नेपाल रैथाने मौलिक लोककलाको मूलभण्डार भएको देश हो । नेपालभित्रका प्रदेशका विविधतालाई झल्काउने मात्र नभएर ललितकलाभित्रका विविध विधालाई मुखर गर्ने कार्यमा राष्ट्रिय ललितकला प्रदर्शनी (२०८१) ले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

पुरस्कारको सङ्ख्या र गुणमा नौलो पाइला चालेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले विगतमा दिँदै आएको ३६ ओटा पुरस्कारमा ३० ओटा थपेर ६६ ओटा बनाइएको छ । प्रदेश प्रदेशमा व्यवस्थित ढङ्गले चलाइएको कला प्रदर्शनी र त्यस प्रदर्शनीमा छानिएका कलालाई मात्र नभएर गणतन्त्र प्राप्तिका लागि बलिदान दिने सहिद कलाकार अनिल लामा र सहिद कलाकार बाबुराम लामाका स्मृतिमा पुरस्कार स्थापना गरेर गणतन्त्रको आधारलाई थप बलियो बनाउने कार्य भएको छ । प्रादेशिक कला प्रदर्शनी र पुरस्कारको व्यवस्थाले कर्णाली प्रदेशले समेत राष्ट्रिय कला प्रदर्शनीमा आफूलाई राष्ट्रिय स्तरमा सशक्त ढङ्गले उभ्याउन पाएको तथ्यले देखाएको छ । यस कला प्रदर्शनीमा प्रादेशिक प्रदर्शनीबाट छनोट भई आएका र अप्रतियोगीसमेत गरी ४८२ कलाकारका ५२२ कलाकृतिहरू समावेश छन् । यसबाट कला सिर्जना र सम्मानका पाटामा महत्त्वपूर्ण यात्रा तय भएको मान्न सकिन्छ । कला कलाका लागि होइन, कलाले सामाजिक रूपान्तरण गर्नुपर्दछ । कला राष्ट्र निर्माणको जग अर्थतन्त्रको स्रोत बन्नुपर्दछ । कलाले मानवजीवनको यात्रालाई प्रस्तुत गर्नुपर्दछ । नेपाली कलामा रहेको स्थानीय रङ र त्यसभित्रको कलाशिल्प अनि ज्ञानपरम्पराको हस्तान्तरणको पक्ष अति नै शक्तिशाली माध्यम हो । 

राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको कलालाई दुईओटा पक्षबाट सशक्त बनाएको छ, एकातिर काष्ठकला, मूर्तिकला, लोककलाका पाटामा पुनर्जागरणको सम्भावनातर्फ सङ्केत गरेको छ भने प्रतिस्थापन कला, फोटोग्राफी कलाजस्ता कलाले विश्वस्तरमा उन्नत गर्नुपर्ने मेहनतलाई राम्रैसँग देखाएको छ । कलाले नेपालको अर्थतन्त्रलाई उकास्न कति मद्दत पु¥याउन सक्छ भने कुरा हामी पौभा कला र थाङ्का कलाबाट थाहा पाउन सक्छौँ । मूर्तिकला र काष्ठकलाको शक्ति कति छ भन्ने पत्ता लगाउन हामी अरनिको जस्ता प्रतिभाले विश्वस्तरमा पारेको प्रभावका आधारमा पनि हेर्न सक्छौँ । राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका कलाकृतिबाट नेपालको अर्थव्यवस्था, समाज व्यवस्था र यसले आगामी दिनमा निर्माण गर्ने मनोविज्ञानको पाटोलाई समेत हेर्दा प्रस्ट आशाका सङ्केत देख्न सकिन्छ । त्यसको मूल आधार भनेको हाम्रो रैथाने संस्कृति र भौगोलिक विविधता नै हो । 

नेपालको जातीय विविधता र भौगोलिक विविधताले निर्माण गरेको जैविक विविधताको पाटो शक्तिशाली छ । यहाँको  भूगोलपिच्छे फरक रहेको जीवनशैलीले हाम्रो राष्ट्रिय जीवनमा सङ्कट समाधानको मौलिक सूत्र सुझाउने गर्दछ । कला जीवनको प्रतिबिम्बन हो । अर्थात् जीवन निर्वाहभित्रका सुख दुःखको अभिव्यक्ति कला हो । यस कोणबाट हेर्दा हाम्रो नेपाल एउटा विशेष गुणले युक्त देश हो । जुन जाति आफ्नो भूगोलमा लामो समय बसेका छन् त्यही जाति त्यस भूगोलको प्रतिबिम्ब कलामा उतार्न सफल हुन्छ । दैनिक जीवनका आवश्यकताले निर्माण गरेको खोजको बाटोलाई निरन्तरको कला अभ्यास भन्न सकिन्छ । त्यसभित्रको बनोटमा आएको निखार र त्यसले ल्याएको जनजीवनको गुणात्मक यात्रा नै कलाको लक्ष्य हुनुपर्दछ । कला चिन्तन काल सापेक्ष हुन्छ भने कला निर्माण जीवनयापनसँग जोडिएको हुन्छ नै । जीवन व्यवहारसँग नजोडिएको कलाले मानवजीवनलाई सही बाटामा डो¥याउन सक्दैन । 

राष्ट्रिय ललितकला प्रदर्शनी (२०८१) मा समावेश भएका प्रतियोगी र अप्रतियोगी कलाकृतिले नेपालका प्रतिभालाई विश्वसामु थपिएको चुनौतीका बारेमा कलाचेत भर्न र नेपालको मौलिक पहिचान जोगाउन अपनाउनुपर्ने उपायतर्फ ध्यान खिचिदिएको छ । राष्ट्रिय ललितकला प्रदर्शनी हेरिरहँदा यस्तो लाग्छ जन्मदेखि मृत्युसम्म आवश्यक वस्तु, ज्ञान–चिन्तन परम्परा र अर्थतन्त्रको विकासमा कलाले मात्र मार्ग निर्माण गर्न सक्दछ, र गरिरहेको छ । यस कला प्रदर्शनीमा पुरस्कृत भनेर राखिएको सूचना सङ्केत निकालिदिने हो भने प्रदर्शनीमा आएका आमदर्शकहरू सबैलाई उत्तिकै आदर दिन तयार छन् तथापि कला मूल्याङ्कनका आधार तय गरेर मूल्य निर्धारण गर्ने कलाविज्ञ र आमदर्शक उही दर्जाका होइनन् नै । 

राष्ट्रिय ललितकला प्रदर्शनीभित्र परिवर्तनको कला अर्थात् देशमा आएको गणतन्त्र र यसको प्राप्तिका लागि भएका बलिदानीपूर्ण सङ्घर्षको कथालाई देखाउने कलाकृति निर्माणमा ध्यान पु¥याउनुपर्ने विषय खड्किएको छ । कला प्रदर्शनीमा स्वदेशको माया झल्काउने सामग्री धेरै भए पनि स्वदेशमै युवालाई अवसर दिलाएर आत्मनिर्भर संस्कृति र अर्थतन्त्रको निर्माणका लागि विशेष सन्देश प्रवाह गर्ने कला समावेश हुनु आजको आवश्यकता हो ।
 

सम्झनामा प्रकाश दाहाल

कुनै  मानिसको सम्झना उसंगका व्यक्तिगत स्मृतिका कारणले हुन्छ र कसैको सम्झना उसले समाजका लागि गरेको योगदानको कारणले हुन्छ ।   मेरो लागि प्रिय कमरेड प्रकाशको स्मरण व्यक्तिगत संगत र राजनीतिक योगदान दुवै हिसाबमा छ। एक क्रान्तिकारी राजनीतिक आन्दोलनको सक्रीय पत्रकारको नाताले म त्यो आन्दोलनको हरेक उतार चढावमा संगै छु ।   त्यो आन्दोलनको जोखिमपूर्ण समयको एक कार्यकर्ता र मुख्य नेतृत्वको सचिवका रुपमा कमरेड प्रकाशको योगदान स्मरणीय छ ।  मैले उनलाई किशोर अवस्थामा बन्दुक बोकेर दाङ, प्युठान, रोल्पा, रुकुममा जोखिम र कठिन यात्रा गरेको भेटेको थिए । एक पटक रोल्पामा उनलाई मैले भुइमा बसेर सामान्य थालमा भात खादै गरेको तस्बीर लिएको थिए, जुन पछि कान्तिपुरको साप्ताहिकमा कभर तस्बीर पनि बनेको थियो ।   पार्टी अध्यक्ष कमरेड प्रचण्डको सुपुत्र हुनुका नाताले उनले माओबादी अन्दोलनका बिरोधिबाट उनको कमजोरी भन्दा बढी लखेटाइ पाए ।  त्यो उनलाई भन्दा पनि क्रान्तिकारी आन्दोलनलाइ प्रदुषित करार गर्नका लागि थियो ।   एक दिन वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी र म संगको छोट्टो भेटमा उनले भनेका थिए, ‘मलाई मिडियाले मेरो कमजोरी अनुशार हमला गर्नु ठिकै छ, तर बिचारा बुवालाई किन हमला गर्छन ?’ उनी ठूला लगानी भएका मिडियाबाट क्रान्तिका विरुद्धमा र त्यसको मुुख्य नेतृत्वको विरुद्धमा भएको निरन्तरको आक्रमणमा सबैभन्दा बढि चिन्तित देखिन्थे । जनताको पक्षमा र क्रान्तिको पक्षमा अर्को भाषामा भन्दा जनपक्षीय पत्रकारितालाई मुलधारमा ल्याउनुपर्नेमा उनको जोड थियो । शोषक सामन्त र दलालहरुले चलाएका मिडियाहरु स्वघोषित स्वतन्त्र र व्यवसायिक हुने तर क्रान्तिबाट जन्मिएका जनताले चलाएका मिडियाहरु स्वतन्त्र नहुने भन्ने आम बुझाइमा उनको असन्तुष्टी थियो । यही सन्दर्भलाई चिर्नका लागि उनले जनताको पक्षमा आवाज बुलन्द गर्ने र विरोधीका कुराहरुलाई पनि समेटेर वास्तविक निश्पक्ष पत्रकारिता गर्ने अवधारणा ल्याएका थिए । माओवादी र क्रान्तिकारी शक्तिलाई कमजोर पार्नकै लागि सञ्चालन भएका मिडियाहरुप्रति सजग रहनुपर्छ भन्ने उनको मान्यता थियो । प्रकाश भन्थे, ‘त्यसरी चलेका मिडियाहरु स्वघोषित स्वतन्त्र र व्यवसायिक दावी गर्छन् भने हामी क्रान्तिकारीले चलाएका मिडियाहरु स्वतन्त्र र व्यवसायिक भन्न र त्यही धारामा बग्न किन सक्दैनन् ?’ यो चिन्तालाई साकार पार्न जनयुद्धकालिन ‘साकार’ प्रकाशले मिडिया सञ्चालनमा पनि अग्रसरता देखाए । उनी जहिले पनि पार्टी र आन्दोलनको एकताका पक्षमा आफुले जानेको र बुझेको उपाय लगाउँथे, प्रमुख नेतृत्वको बिचको फ़ाटोका बेला पनि उनी कमरेड प्रचण्ड संग फरक मत र बिचार राख्ने नेतृत्व र कार्यकर्ता संग सद्भाव पुर्बक सम्पर्क स्थापित गरि राख्थे।   केन्द्रीय राजनीति मात्रै होइन, टाढा गाउको राजनीति बारे पनि चिन्ता , चासो गर्दै आफुले सकेको पहल लिन्थे ।  रुकुम, रोल्पा, कालिकोट, जुम्ला देखि तराइको जनकपुर, सिराहासम्मका कार्यकर्ता र नेतासंग निकट सम्पर्कमा हुन्थे ।   केन्द्रीय राजधानीको केन्द्रीय राजनीतिमा सुझबुझका साथ् नेतृत्वको कामलाइ सघाउथे, पछिल्लो समय  एक परिपक्वो सचिवालय ब्यबस्थापक र नेताका रुपमा उनले आफुलाई बिकास गरेका  थिए ।   पत्रकारिता, खेलकुद, पर्बतारोहण र कृषिमा समेत आफ्नो रुचिलाइ बिकास गर्दै त्यो क्षेत्रमा पनि केहि गर्ने उनको इच्छा थियो ।  सगरमाथा आरोहण जस्तो जोखिम मोले । बैकल्पिक पत्रकारिताको बिकासका लागि एभरेस्ट दैनिकको स्थापना र संचालन गरे । क्रिकेट खेलको प्रबर्दनमा सकेको प्रयास गरे । कृषि फार्मको स्थापनाको प्रयास गरे । अन्य उद्यमी सहयोग र प्रोत्साहन गरे । एक व्यक्तिले गर्न सक्ने धेरै काम उनले गरे।   पार्टीको काममा जोखिम मोलेका घाइते योद्दा र सहिद परिवार, पूर्णकालीन कार्यकर्ताका परिवारलाइ उनले ब्यबस्थापनमा सकेको सहयोग गरे । इमान्दारिता पुर्बक उनले गरेको कामलाई हामीले गरेको भन्न पनि सक्नु पर्छ । कसैले यो कुरालाई चाकडी बोलेको मान्छ भने कि त्यो संकीर्ण व्यक्ति हो वा आन्दोलनको बिरोधि हो ।   स्वयम् प्रचण्ड, बाबुराम , किरण र बादलको क्षमताले पनि गर्न नसकेका काममा कहिलेकाही उनी माथि अपेक्षा गरियो, जुन उनले गर्न सक्ने क्षमता राख्दैनथे । त्यसपछि माओबादी नेतृत्वको आलोचना गर्न उनलाई अचानो बनाइयो ।   कमरेड प्रकाश, शाकार दाहाल, अल्पायु मै बिते । तर सकेको राजनीतिक, सामाजिक योगदान यो देश र समाजलाई गरे । उनी पनि अरु सामान्य मानिस  जस्तै कमी कमजोरी सहितका थिए ।  आफ्ना कमजोरीको उनले जीवित हुदा नै नेपाली समाजबाट प्रयाप्त आलोचना व्यहोरे । तर अब उनको निधन पछि नेपाली समाजले उनका असल कामको खोजि र सम्मान गर्नेछ र गर्नु पर्नेछ ।   उनको जन्मदिनमा हार्दिक स्मरण र सम्मान ।  हामी यस्तो अर्को साथी भेट्ने छैनौ, उनका उपहारलाइ सम्मान गरौ र जीवित राखौ ।  त्यो नै प्रकाश दाहाल प्रतिको सच्चा सम्मान हुनेछ ।

मेरो पहिलो नेपाल भ्रमण

मेरा प्रिय नेपाली साथीहरूमा नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाईंहरूको मनमा कस्तो विचार आउँछ ? ‘नेपाल’ शब्द सुन्नासाथ हामी जापानीहरूको मनमा सर्वोच्च शिखर सगरमाथाको प्रतिनिधित्व हुने अपूर्व मनोरम हिमालय पर्वतहरूको परिकल्पना आउँछ । जापानको फुजी पर्वतको फेदमा अवस्थित सिजुओका प्रान्तमा जन्मी हुर्केकी मेरा लागि नेपाल गहिरो आत्मीयता भएको मुलुक हो, जुन मुलुकमा आज पहिलो पटक भ्रमण गर्न पाउँदा म अत्यन्तै हर्षित छु । पछिल्लो समय जापानमा नेपालको उपस्थिति दिनप्रतिदिन बढ्दै गइरहेको छ । सन् १९०२ मा पहिलो पटक नेपाल सरकारले जापानमा अध्ययन गर्नका लागि आठ जना नेपाली विद्यार्थी पठाएको पनि १२० वर्ष नाघिसकेको छ । आज हाम्रा दुई मुलुकहरू सात घण्टाजतिको सिधा हवाई उडानबाट जोडिएका छन् । हाल जापानमा बस्ने नेपालीको सङ्ख्या एक लाख ७० हजार नाघिसक्यो, जुन जापानमा बसोबास गर्ने विदेशीको सङ्ख्यामा छैटौँ ठुलो हो । जापानमा बसोबास गर्ने नेपालीको सक्रिय सहभागिताका कारण दुई देशबिचको सम्बन्ध निरन्तर रूपमा प्रगाढ हुँदै गएकोमा म अत्यन्त हर्षित छु । जापान र नेपालबिच धेरै समानता छन् । एउटाचाहिँ दुवै देशको ७० देखि ८० प्रतिशत क्षेत्रफल पहाडी अथवा हिमाली भू–भागले ओगटेको छ । भिरालो भूवनोटका कारण निरन्तर प्राकृतिक प्रकोपको सामना गर्दै आएको जापानको इतिहासलाई विचार गर्दा नेपाल जस्ता पहाडी मुलुकको राष्ट्रनिर्माण अत्यन्तै कठिन छ भन्ने कुरा जापानी हुनुको नाताले म बुझ्न सक्छु । दुर्भाग्यवश दुवै देशले भूकम्पबाट क्षति बेहोर्नु परेको कुरामा पनि समानता छ । त्यसैले हामी दुवै देशले एक अर्काको देश ठुला भूकम्पको चपेटामा पर्दा विशेष सहानुभूति तथा ऐक्यबद्धताको भावनाबाट उत्प्रेरित भएर परिवारको जस्तो एकअर्कामा सहयोगी हातहरू बढाउँदै आइरहेका छौँ । सन् २०११ मा पूर्वी जापानमा गएको महाभूकम्पमा नेपालको तर्फबाट पाँच हजार थान कम्बल सहयोग, तथा जापानमा बसोबास गर्ने नेपालीहरूले ठाउँठाउँमा तातो नेपाली खाना तथा कफी जस्ता सामग्री प्रदान गरेका थिए । सन् २०१५ मा नेपालमा गएको गोरखा भूकम्पपछि जापानले करिब एक अर्ब ६८ करोड येनको आकस्मिक अनुदान सहयोग तथा त्रिपाल र कम्बल जस्ता अकस्मिक राहत सामग्री प्रदान गर्नुका साथै जापानी विपत् राहत टोली ९उद्धार टोली, स्वास्थ्य उपचार टोली र जापानी आत्मरक्षा फौजको टोली० नेपाल पठाएको थियो । यी आपत्कालीन मानवीय सहयोगका अतिरिक्त जापानले ‘अझ सशक्त पुननिर्माण’ अन्तर्गत विद्यालय, निजी आवास, सार्वजनिक भवनहरूको पुनर्निर्माणका क्षेत्रमा कुल ३२ अर्ब भन्दा बढी जापानी येन सहायता प्रदान गरेको थियो । यसै वर्षको जनवरीमा जापानको नोटो प्रायद्वीपमा गएको भूकम्पपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेपाल सरकारका धेरै महानुभावहरूबाट हार्दिक सहानुभूतिका सन्देशहरू हामीले प्राप्त ग¥यौँ । यसबाहेक जापानमा रहेका नेपालीहरू विपत्ग्रस्त क्षेत्रमा पटक पटक गएर ‘सङ्कटको समयमा मित्रहरूबिच आपसी सहयोग’ भन्ने नाराका साथ मसालेदार नेपाली खाना तयार गरी भारी हिमपातले अत्यन्त ठण्डा मौसममा पीडितहरूको हृदय र शरीरमा न्यानो साहसको सञ्चार गर्न प्रोत्साहन गर्नुभयो । जापानी विदेशमन्त्रीको हैसियतले नेपालीहरूको जापानप्रतिको न्यानो सहयोग तथा भावनाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । जापान र नेपालले प्राकृतिक स्रोतहरूको पनि अभाव झेलिरहेका छन् । त्यसैले दुवै मुलुकलाई अन्तरआबद्धताको सुनिश्चितता गरी, शक्ति या बलमिच्याइँबाट मुक्त भई, मुलुकको आकारसित नभई स्वतन्त्रता र कानुनी शासनको सुनिश्चितता गर्ने अन्तर्राष्ट्रिय समुदायको आवश्यकता छ । यस्तो अन्तर्राष्ट्रिय समुदायलाई मूर्त रूप दिन हरेक मुलुकले आफ्नो कमीकमजोरीलाई पार गर्दै बलियो समाज निर्माण गर्नु पूर्वसर्त हो । यसै कुरालाई ध्यानमा राखेर जापानले नेपाललाई दिगो विकास र स्थायित्वको मार्गमा अग्रसर हुने कुरालाई ठुलो महìव दिएको छ । यहि विचारमा आधारित भएर जापानले सन् १९६९ देखि नेपालको भौगोलिक तथा ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गर्दै विद्युत्, सडक, विमानस्थल, खानेपानी जस्ता पूर्वाधारको निर्माण तथा कृषि, शिक्षा, स्वास्थ्य उपचारलगायत नेपालका विविध क्षेत्रको विकासमा सहयोग गर्दै आइरहेको छ । हालसालै छिचोलिएको नागढुङ्गा सुरुङमार्ग नेपालकै पहिलो पहाडी सडक सुरुङ हो र यो निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्जाललाई सहज बनाई तीव्र गतिमा बढिरहेको ट्राफिक व्यवस्थापनको मागलाई सम्बोधन गर्नुका साथै यात्राको समय पनि घट्न जाने छ । यस अलावा सडक सुरक्षामा सुधार भई क्षेत्रीय, सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याइ समग्र नेपालको थप विकासमा दृढताका साथ सहयोग पु्याउने छ । जापानको यस्तो पूर्वाधार सहयोगमार्फत नेपाली जनताले आफ्नो दैनिक जीवनयापनमा सुरक्षा र सुविधाको वास्तविक रूपमै अनुभव गर्न सकून् भनी हामीले कामलाई निरन्तरता दिइरहेका छौँ । जापान र नेपाल दुवै लोकतान्त्रिक मुलुकहरू भएकाले नेपालको लोकतान्त्रीकरण प्रयासमा जापानले विभिन्न सहयोग प्रदान गरेको छ । सन् २००८ मा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको घोषणा भएदेखि नेपालको संसदीय निर्वाचनहरूमा जापानले निर्वाचन पर्यवेक्षकहरू पठाइरहेको छ तथा नेपालको कानुनी प्रणालीको विकासमा सहयोग गरी नेपालमा लोकतान्त्रीकरणको प्रवर्धनमा योगदान पु¥याउन विभिन्न सहयोग प्रदान गरेको छ । विगतमा म कानुनमन्त्री हुँदा कानुन मन्त्रालयले जाइकासँगको सहकार्यमा नेपालको मुलुकी देवानी संहिता र मुलुकी देवानी कानुन नियमावली तयार पार्ने विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै नयाँ मुलुकी देवानी संहिताको तयारीमा पनि सहयोग गरेको थियो । यस अवसरमा हालैका वर्षमा जापान सरकारले सशक्त रूपमा प्रवर्धन गरेको ‘महिला, शान्ति, सुरक्षा’ ९ध्एक्०, जुन मेरो जीवनकालको कार्य पनि हो । यस सम्बन्धमा नेपालसँगको सहकार्यको बारेमा पनि कुरा गर्न चाहन्छु । डब्लुपिएसले द्वन्द्वमा परेका महिलाहरू जस्ता नाजुक स्थितिका मान्छेहरूको संरक्षणमा पहलकदमी गर्दै महिलाको नेतृत्वकारी भूमिकाले द्वन्द्वको रोकथाम र मानवीय पुनर्निर्माणमा सहभागी भई दिगो शान्तिको नजिक पुग्न सकिन्छ भन्ने विचार हो । जापान सरकारले डब्लुपिएसलाई जोडतोडका साथ बढावा दिइरहेको छ र मैले पनि विदेशमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि नै विभिन्न पहल गर्दै आइरहेको छु । संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा विश्वमा सबभन्दा बढी शान्ति सेना पठाउने मुलुक तथा सबभन्दा धेरै महिला शान्ति सेना खटाउने मुलुक पनि नेपाल नै हो । यसरी डब्लुपिएस क्षेत्रमा पनि सहयोगको प्रचुर सम्भावना भएकाले यस पटकको नेपाल भ्रमणको क्रममा म नेपालसँगको सहयोगको सम्भाव्यताबारे खोजी गर्न चाहन्छु । सन् २०२६ जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका साथै नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने वर्ष पनि हो । म जापानको विदेश मन्त्रीको हैसियतले यस सम्झनायोग्य वर्षका लागि नेपालसँगको सम्बन्धलाई अझ प्रगाढ बनाई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपालको थप विकासका लागि दृढतापूर्वक सहयोग गर्दै जाने विचार व्यक्त गर्दछु । (कामिकावा जापानी विदेशमन्त्री हुन्)

लोकप्रिय