ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

सुनसरी । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्त्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।

ऐतिहासिक गढीको सम्बन्ध र भूमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्त्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताए । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उनले भने, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्त्व तथा भूमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।”

संक्षिप्त इतिहास

धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्त्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।

विशेष गरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छन् ।

विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला/गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो ।

नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ ।

विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उनले भने, “यस वर्षको कार्यक्रम विशेष गरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।”

विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवर्द्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्त्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवर्द्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ ।

पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष ) र १० किलोमिटर दौड (पुरुष/महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।

दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वी पृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय