सेमिफाइनलमै रोकियो नेपालः युएईसँग ६ विकेटले पराजित

सेमिफाइनलमै रोकियो नेपालः युएईसँग ६ विकेटले पराजित

काठमाडौं । कमजोर व्याटिङ प्रदर्शन गरेको नेपालले एसीसी प्रिमियर कप टी २० प्रतियोगिता २०२४ को सेमिफाइनलमा रोकिएको छ । टस हारेर व्याटिङ गरेको नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी व्याटिङ गरेको युएईले १७ बल बाँकी छँदा चार विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । नेपालका लागि गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएपनि त्यो पर्याप्त भएन ।

त्यसअघि नेपालका आठ खेलाडीले दोहोरो अंक जोड्न नसकेको खेलमा २० ओभर खेल्दा नौ विकेट गुमाएर नेपालले ११९ रन मात्रै बनाउन सक्यो ।  

नेपालका लागि सन्दिप जोराले ५० रन बनाए भने गुल्सन झाले २० रन तथा करण केसीले १७ रनको योगदान गर्दा अन्य खेलाडीले विर्सनलायक प्रदर्शन गरे । 

प्रकाश दाहालको स्मृतिमा १२ लाख पुरस्कार राशीको अन्तरपालिका भलिबल हुने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  वैशाख २२ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको छ ।  समितिहरूले द्रुत गतिमा तयारी गरिरहेको संयोजक डोल्मा माया गोलेले बताइन् ।  प्रतियोगिताका लागि जिल्ला तहमा ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय तथा सहजीकरणको गरिरहेको छ । यस्तै, पालिका स्तरमा नेकपा माओवादी केन्द्र तथा अन्य संघसंस्थाले तयारीको काम अगाडि बढाइरहेको उनले जानकारी दिइन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग छ । त्यसैगरि नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।  प्रतियोगितामा प्रदेशका १ सय १९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख छ भने प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ, उपविजेतालाई दुई लाख तथा तृतीय हुने २ टिमलाई १÷१ लाख रुपैयाँ प्रदान गरिने छ ।  साथै, उत्कृष्ट प्रशिक्षक र खेलाडी पाँच जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको प्रज्ञा स्मृति प्रतिष्ठानका सदस्य सन्तु दराई परवानाले जानकारी दिए ।  वैशाख १५ गतेसम्म टिम दर्ताको लागि समय निर्धारण गरिएको छ । टिम दर्ताका लागि १५ हजार रुपैयाँ रकम राखिएको छ । प्रतियोगिताका क्रममा १ करोड ३९ लाख खर्च हुने अनुमान आयोजकले छ ।  महाकाल माविको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् भने उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेतृत्वलाई सहभागी गराउनका लागि पहल भइरहेको आयोजकले बताएको छ ।

कुराँश च्याम्पियनसिपमा २ स्वर्ण, ३ रजतसहित नेपाल दोस्रो

काठमाडौं । भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो हुन सफल भएको छ । हिजो वैशाख ८ गते भएको प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । यस्तै, परी घर्तीमगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएको बताइएको छ । अर्जुनले ६० केजी मुनि तथा परीले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरे । दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । २ दिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको थियो।

अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु, प्रधानमन्त्रीद्धारा उद्घाटन (तस्बिरहरु)

काठमाडौं। चितवनमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता शुरु भएको छ । चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुने छ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुने छ। पुरुष फुबटल हेटौंडास्थित गौरीटार रंगशालामा हुने छ ।

राखेपको ६० औं वार्षिकोत्सव : ६ विधाका १८ जना सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।  वार्षिकोत्सवको अवसरमा राखेपले विभिन्न ६ विधामा ५ खेलाडी, समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी गरी १८ जना सम्मानित गरेको छ । सम्मानीति हुनेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य डा.उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत गरेका थिए । यी विभिन्न ६ विधामा पुरस्कृत हुनेहरू सिनियरको पुरुषमा एथलेटिक्सका दीपक अधिकारी र महिलामा बक्सिङकी सुष्मा तामाङ सर्वोत्कृष्ट खेलाडी । जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडी । पारा एथलिट खेलाडी अवार्ड पौडीका भीमबहादुर कुमाल । उत्कृष्ट स्थानिय तह नवलपरासीको मध्यविन्दु नगरपालिका । उत्कृष्ट राष्ट्रिय खेल संघ नेपाल भलिबल संघ । कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राई सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहाल उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहाल परिषद् सेवा पुरस्कार । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कार । कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठ करार सेवा पुरस्कार । नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की उत्कृष्ट खेल पत्रकार सम्मान ।

लोकप्रिय