पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत उहाँले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो ।


‘नेपालकी पलेशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्’– उहाँले भन्नुभएको छ– ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।’
 

पारालिम्पिक्समा पदक विजेता पलेशालाई भव्य स्वागत

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उहाँसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक प्राप्त गर्नुभएको थियो । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक विजेता पलेसाको सम्मानमा आज नगर परिक्रमा

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धननको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जित्नुभएको थियो ।  नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आएपछि उहाँसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो । राखेपका अनुसार बुधबार बिहान साढे बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि आज स्वदेश फर्कदै हुनहुुन्छ । १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध हुनुभएको थियो । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उहाँले पाँचौं स्थान हासिल गर्नुभएको थियो ।  २१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जित्नुभएको छ, जसमातीन स्वर्ण र तीन कांस्य छ । पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन

नेपालगञ्ज, १६ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो । ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’– उहाँले भन्नुभयो– ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’ यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उहाँले स्पष्ट गर्नुभयो । सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उहाँसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।  

महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग–२०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख रुपैँया, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई दुई लाख रुपैँया, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार रुपैँयाराशीसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ देखि २३ गतेसम्म काठमाडौंमा भएको उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शनसहित दोस्रो स्थान हासिल गरेको थियो । मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री ओलीले यही भदौ २ गते सहभागी खेलाडी र प्रशिक्षकलगायतसँग भलिबल खेलको विकाससम्बन्धी छलफल गरेका थिए ।  

लोकप्रिय