क्रिकेटर लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

क्रिकेटर लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश समेत गरेको थियो ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ।जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए।

लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्।जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ।सो आदेश बदर गर्न लामिछानेले माग गरेका छन् ।

एमालेले भन्यो-'कांग्रेसले समितिका नाममा सरकार माग्यो'

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले संसदीय समितिका नाममा सरकार मागेको टिप्पणी गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको बैठकपछि उनले कांग्रेसको माग सम्बोधन नहुने बताए। “उहाँहरूले समिति माग गर्नुभएको होइन, सरकार माग गर्नुभएको हो । त्यो सम्भव छैन,” उनले भने । कांग्रेसले उठाएको विषय कानुनसम्मत नरहेको उनले जिकिर गरे । हरेक विषयमा छानबिन समिति बनाउँदै जाँदा सांसद समितिमा मात्र रहनुपर्ने अवस्था आउने उनको भनाइ छ । बर्तौलाले समितिका नाममा कानुन निर्माणको दायित्वबाट सांसद च्युत हुन नसक्ने बताए । उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको आरोप समेत लगाए ।

नेप्सेमा ८.२६ अंकको वृद्धि, तीन अर्ब १५ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्से ८.२६ अंकले बढेको छ। नेप्से ०.४२ प्रतिशतले बढेर १९७४.५० को विन्दुमा पुगेको छ। यस दिन ३११ धितोपत्र (कम्पनीलगायत)का ७८ लाख ५७ हजार ३१ कित्ता सेयर तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८.४३ रुपैयाँमा कारोबार  भयो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, १२७ कम्पनीको सेयर मूल्य बढेको छ । १११ कम्पनीको सेयर मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर छ। आइतबार सबैभन्दा धेरै सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये १० वटाको समूहगत परिसूचक बढेको छ । तीनवटाको परिसूचक घटेको छ।

गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान

कुवेत सिटी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबार गाजामा इजराइल–हमास युद्ध, बन्धकहरूको फिर्ता र घेरामा परेको प्यालेस्टाइन क्षेत्रमा मानवीय सहायतामा ‘वृद्धि’ तुरुन्त रोक्न आग्रह गरेका छन्। “तुरुन्त मानवीय युद्धविरामका लागि म विश्वको आह्वानलाई दोहोर्‍याउँछु, सबै बन्धकको बिना शर्त रिहाई र मानवीय सहायतामा वृद्धि होस”, कुवेतमा अन्तर्राष्ट्रिय दाता सम्मेलनलाई गर्नुभएको भिडियो सम्बोधनमा उनले भने, “तर युद्धविराम सुरुआत मात्र हुनेछ, यो युद्धको विनाश र आघातबाट फर्किन धेरै समय लाग्नेछ ।” गाजामा इजराइली आक्रमण आइतबार पनि जारी रहेको छ । सहरको पूर्वी क्षेत्रहरूमा सैन्य घुसपैठका बारेमा अन्तर्राष्ट्रिय आलोचनाका बाबजुद इजराइलले रफाहका लागि निकासी आदेश विस्तार गरेपछि प्रभावकारीरूपमा मुख्य सहायता क्रसिङ बन्द भएको छ । “गाजामा युद्ध भयानक मानवीय पीडाको कारण बन्दै गएको छ भने जीवनलाई तहसनहस बनाएको छ । त्यस्तै पारिवारिक विखण्डनलाई बढाएको छ । युद्धले ठूलो सङ्ख्यामा मानिसहरूलाई घरबारविहीन, भोक र आघातमा पारेको छ”, महासचिव गुटरेसले भने। कुवेतमा अन्तर्राष्ट्रिय इस्लामिक परोपकारी संस्था (आइको) र राष्ट्रसङ्घको मानवीय समन्वय संस्थाले आयोजना गरेको सम्मेलनको उद्घाटन समारोहमा उनको उक्त टिप्पणी आएको हो । शुक्रबार गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिए । इजराइलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व हमलापछि गाजाको सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भयो । हमासको आक्रमणमा एक हजार एक सय ७० भन्दा बढी मानिसको मृत्यु भएको इजराइली आधिकारिक तथ्याङ्कले बताएको छ । हमासलाई समाप्त पार्ने वाचा गर्दै इजरायलले जवाफी आक्रमण सुरु गर्दा गाजामा ३४ हजार नौ सय ७१ भन्दा बढीको मृत्यु भएको छ । यसमा अधिकांश महिला र बालबालिका रहेका हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डका बिचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । 

लोकप्रिय