११ बुँदे विकास प्रतिबद्धतासहित देवेन्द्र पौडेल घरदैलोमा : नवलपरासी–२ मा नेकपाप्रति जनआकर्षण तीव्र
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार देवेन्द्र पौडेल ११ बुँदे स्थानीय विकास प्रतिबद्धतासहित यतिबेला जनताको घरदैलोमा सक्रिय रूपमा पुगिरहेका छन् । विकास, सुशासन र जनजीविकासँग प्रत्यक्ष जोडिएका ठोस एजेन्डा बोकेर गाउँ–गाउँ र टोल–टोलमा पुग्दा स्थानीय जनताले उनलाई आशा र भरोसाका रूपमा हेर्न थालेका छन् । यससँगै उक्त क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनआकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताइएको छ ।
स्थानीयवासीका अनुसार विगतमा यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले जनताका आधारभूत समस्या र विकासका मुद्दालाई अपेक्षित रूपमा सम्बोधन गर्न नसकेको गुनासो रहँदै आएको थियो । यस्तो अवस्थामा अनुभवी र स्पष्ट विकास दृष्टिकोण भएका नेताका रूपमा देवेन्द्र पौडेलको उम्मेदवारीलाई जनताले सकारात्मक रूपमा लिएका छन् ।
यसअघि बागलुङ क्षेत्र नं. २ बाट दुई पटक निर्वाचित सांसद रहिसकेका पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए । पूर्व शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्रीसमेत रहिसकेका उनले शिक्षा क्षेत्रमा गरेका सुधार, पूर्वाधार विस्तार तथा नीतिगत पहलकदमीले उनको नेतृत्व क्षमताको प्रमाण दिएको स्थानीयको भनाइ छ । यही अनुभव र कार्यसम्पादनकै आधारमा उनी नवलपरासी–२ मा पनि विकासको नयाँ आधार तयार गर्ने प्रतिबद्धतासहित मैदानमा उत्रिएका छन् ।
घरदैलो अभियानका क्रममा पौडेलले स्थानीय आवश्यकताको पहिचान गरी त्यसअनुसार विकास योजना अघि बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जनताको प्रत्यक्ष सहभागितामा विकास कार्यक्रम सञ्चालन गर्ने र दीर्घकालीन रूपमा क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकास सुनिश्चित गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । जनतासँगको भेटघाटका क्रममा उनले पाएको उत्साहजनक साथ र समर्थनले आफू विजयको नजिक पुगेको उनको भनाइ छ ।
यस्ता छन् देवेन्द्र पौडेलका ११ बुँदे मुख्य प्रतिबद्धता
पौडेलले महेशपुर भन्सारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई महेशपुरदेखि महलपोखरी, पाल्पा हुँदै पोखरासम्म जोड्ने रणनीतिक सडक निर्माण गर्ने mentioning गरेका छन् । यस सडकलाई प्रमुख व्यापारिक तथा आवागमन मार्गका रूपमा विकास गरिनेछ भने पालिकास्तरीय रिङरोड निर्माण गरी स्थानीय यातायातलाई सहज बनाउने योजना अघि सारिएको छ ।
शिक्षा क्षेत्रलाई समयानुकूल प्रतिस्पर्धी र गुणस्तरीय बनाउन विद्यालय तथा क्याम्पसहरूको भौतिक पूर्वाधार सुदृढ गर्ने, आधुनिक प्रविधिसहितको शिक्षण प्रणाली लागू गर्ने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने उनको अर्को प्राथमिकता रहेको छ ।
स्वास्थ्य क्षेत्रमा जिल्लाको एकमात्र पृथ्वीचन्द्र अस्पताललाई १०० शैयाको आधुनिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने तथा प्रत्येक वडाका स्वास्थ्य चौकीहरूलाई थप सशक्त र सुविधासम्पन्न बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउने, किसानलाई उत्पादन, भण्डारण तथा बजारीकरणमा सहजीकरण गर्ने तथा आवश्यक नीतिगत र भौतिक संरचना निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन् । जिल्लाको सदरमुकाम परासीलाई योजनाबद्ध रूपमा नमूना सहरका रूपमा विकास गर्न दीर्घकालीन गुरुयोजना लागू गर्ने उनको लक्ष्य रहेको छ ।
त्यसैगरी धार्मिक तथा पर्यटकीय सम्भावना भएका स्थलहरूको पहिचान, संरक्षण र विकास गरी पर्यटन प्रवर्द्धन गर्ने, उद्योग तथा कलकारखाना स्थापना र विस्तारका लागि उद्योगमैत्री वातावरण सिर्जना गरी स्थानीय स्तरमै रोजगारीका अवसर बढाउने उनको प्रतिबद्धता छ ।
खानेपानीको दीर्घकालीन समस्या समाधान गर्ने, डुबान प्रभावित क्षेत्रका लागि वैज्ञानिक समाधान लागू गर्ने, साथै मुस्लिम, मधेशी, जनजाति, थारु, दलित, महिला, सहिद तथा घाइते परिवारलगायत उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्न विशेष पहल गर्ने उनले बताएका छन् ।
जनतामा उत्साह, नेकपाप्रति विश्वास बढ्दो
घरदैलो अभियानका क्रममा स्थानीयवासीले विकासका स्पष्ट योजना, अनुभव र प्रतिबद्धतासहित आएको नेतृत्वको आवश्यकता रहेको बताउँदै पौडेलप्रति विश्वास व्यक्त गरेका छन् । स्थानीय समस्यालाई केन्द्रमा राखेर प्रस्तुत गरिएका योजनाले जनतामा नयाँ आशा जागेको उनीहरूको भनाइ छ ।

पौडेलले अघि सारेका यथार्थपरक र जनमुखी एजेन्डाले नवलपरासी–२ मा नेपाली कम्युनिस्ट पार्टीप्रतिको जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय कार्यकर्ताहरूको दाबी छ । घरदैलो अभियानमा देखिएको जनसहभागिता, समर्थन र उत्साहले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउनेमा पार्टी विश्वस्त रहेको जनाएको छ ।
जनताको आवश्यकता, विकासको स्पष्ट दृष्टिकोण र अनुभवी नेतृत्वको संयोजनले देवेन्द्र पौडेलको उम्मेदवारी नवलपरासी–२ मा केन्द्रिय चासोको विषय बन्न पुगेको छ ।

आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

