नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको विरोध प्रदर्शन
काठमाडौं । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले विभिन्न ८ बुंदे माग राख्दै विरोध गरेका छन् ।
चन्द्रागिरि नगरपालिका ५, किसिपिडीमा निर्माणाधीन नागढुङ्गा सुरुङमार्गको फ्लाई ओभर ब्रिजबाट स्थानीयबासी पिडित भएको र आवतजावतमा अप्ठ्यारो भएकाले विरोध गर्न बाध्य भएको सघर्ष समितिका संयोजक बिनोद महर्जनले बताउनुभयो ।
निर्माणाधीन फ्लाइओभरका कारण उक्त स्थानमा उत्पन्न धुलो धुवाँले स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष रूपमा पर्ने असरलाई मध्य नजर गर्दै स्वास्थ्य बिमा गरिदिन, जग्गा अधिकरण गर्दा दिने मुआब्जा दिन, बाटो समेत मिचेका कारण पैदल यात्रुहरु हिँड्ने सडक पेटीसमेत नहुंदा उक्त स्थानको जनजीवन नै अस्तब्यस्त भएको उनीहरुको भनाई छ ।
उनीहरुले परम्परागत विभिन्न जात्रा पर्वहरू, जेष्ठ नागरिक, स्कूले बालबालिकाहरू तथा सर्वसाधारणहरू दैनिक रूपमा आवतजावत गर्ने बाटो अवरोध हुने देखिएको साथै सवारी साधनहरूसमेत आवत जावत गर्नको लागि कम्तीमा पनि २० फिट बाटोको ब्यवस्था गरिदिनु पर्ने माग गरेको सयोजक महर्जनको भनाइ छ ।
नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना र सडक विभागमा पटक–पटक जानकारी गराउँदा पनि स्थानीयको मागलाई सम्बोधन नगरिएको हुँदा मागहरूसहित विरोध प्रदर्शन गरेको सघर्ष समितिले जनाएको छ ।
पीडितहरुले आज बिहान गरेको विरोध कार्यक्रमका कारण कंलकी नागढुङ्गा सडकखण्ड अवरुद्ध बनेको थियो । स्थानीयको माग पूरा नगरेसम्म निर्माण कार्य गर्न नदिने सघर्ष समितिले जनाएको छ ।
जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले राहत स्वरुप पठायो दुई लाख
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले नेपालमा गत हप्ता भिषण वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित नागरिलाई राहत स्वरुप सहयोग गरेको छ । जनप्रगतिशिल मञ्चले बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत स्वरुप दुई लाख पठाएको हो । अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उहाँहरुको खोजी गर्नु, घाइते हरुको उपचार गर्नु, घरवार बिहिन भएकाहरुलाई सुरक्षित गर्दै पुनर्स्थापना शुरु गर्नु सबैको पहिलो कर्तव्य हुने भन्दै प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले जनताको दुःखमा सँगै रहेको बताएको छ । उक्त सहयोग दुःखमा सँगै रहेको भन्नका लागि पठाएको अध्यक्ष दीपक पाण्डेले बताउनुभयो । आफुहरु विदेसमा रहेको भए पनि विपतको यो घडिमा पीडित नेपालीसँगै रहेको बताउँदै मञ्चका अध्यक्ष दीपक पाण्डेले भन्नुभयो -'बिपत्तिको घडीमा देश गम्भीर पिडामा हुदा हामी प्रवासीहरुको पनि स्वाभाविक रूपमा मन दुखेको छ र रोएको छ। दशै तिहार जस्तो नेपाली हिन्दु समुदायको महान चाड नजिकिएको बेला कतिपयले परिवारका सदस्य गुमाएका छन, कतिपय अस्पतालको शैयामा छन, थुप्रै बेपत्ता छन भने हजारौ नागरिक खाना बिहिन छाना बिहिन हुन परेको छ । यो विषम परिस्थिति र अबस्थालाइ मलम लगाउन जहाँ जहाँ हामी नेपाली छौं त्यहीँ त्यहीँबाट हामिले हातेमालो गर्ने पर्छ र यो हाम्रो दायित्व पनि हो यसर्थ हामी पीडित नेपाली सगै छौं र हुने छौं।' अध्यक्ष पाण्डेका अनुसार संगठनले आफ्नो मातहतका सबै कमिटी, पदाधिकारी, सल्लाहकारलाई स्वैच्छिक रूपमा बाढीपीडितलाई आर्थिक राहत संकलन सहभागी हुन आग्रह समेत गरेको छ ।
अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन
नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)
बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता
काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।
झ्याप्लेको अवरुद्ध सडक सुचारु
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।