डेंगुबाट देशभर १९ हजार संक्रमित

डेंगुबाट देशभर १९ हजार संक्रमित

काठमाडौं । देशभर डेङ्गी सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गी सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गी सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।


यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,'पोस्ट मनसुन सुरु हुँदा डेङ्गीको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गीका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गी सङ्क्रमण फैलिएको देखिन्छ ।'

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

डेङ्गी सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा. पुन भन्छन्, 'झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।'

राष्ट्रिय सभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच द्विपक्षीय भेटवार्ता

जेनेभा, असोज ३० । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले स्वीजरल्याण्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमर (Eric Nussbaumer) सँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका अध्यक्ष दाहालले स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकसँग भेटवार्ता गर्नुभएको हो। भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको सहयोगका बारेमा छलफल भएको थियो। सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्वीस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघ, आइपीयू लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र स्वीजरल्याण्डले आपसी सहयोग र सहकार्य गर्दै आइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि दुई देशबिचको पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्याण्डसँग काम गर्न नेपाल सधैं तयार रहेको बताउनु भयो। प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्वीट्जरल्याण्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “संघीय गणतन्त्रको रुपमा भर्खरै अभ्यास गरिरहेको नेपालले स्वीट्जरल्याण्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ। हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौं।” राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको भन्दै उहाँले संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनु भयो।   सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष दाहालले संघीय संसदका दुवै सदनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको जानकारी दिनुभयो। “शान्ति प्रक्रियाका बाँकी काम पूरा गरि हामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौं,” अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्वीस सरकारको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं।” संघीय संसदले नेपाल-स्वीट्जरल्याण्ड संसदीय मैत्री समूह गठन गरेको जानकारी दिदै अध्यक्ष दाहालले मैत्री समूहले दुई देशका संसदीय अनुभव, अभ्यास, सहकार्य र आपसी सहयोगका लागि संवादको ढोका खोलेको बताउनु भयो। स्वीट्जरल्याण्ड नेपालको एक प्रमुख विकास साझेदार भएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “स्वीस सरकारले प्रदान गर्दै आएको विकास सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकोमा म स्वीस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। स्वीस विकास सहयोगले नेपालको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।” भेटमा स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरले दुई देशको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपीयूको महासभाका सन्दर्भमा नेपाली समकक्षीलाई स्वीजरल्याण्डमा भेट्दा आफूलाई खुसी लागेको बताउनु भयो। नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुन पारित गरेकोमा बधाई दिदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो। “शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकोमा बधाई दिन चाहन्छु,” अध्यक्ष नसबाउमरले भन्नुभयो, “कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौं।” नेपालले नयाँ संविधानमार्फत् संघीय शासन प्रणाली अवलम्बन गरेकोमा खुसी व्यक्त गर्दै उहाँले संघीयताको कार्यान्वयनमा पनि स्वीस सरकारको सहयोग हुने बताउनु भयो। नेपाल पर्यटकीय रुपमा निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवर्द्धन र हवाइ सेवाको गुणस्तर एवं विकासमा स्वीस सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। सो अवसरमा अध्यक्ष नसबाउमरले आफूले नेपालको भ्रमण गर्न चाहेको पनि बताउनु भयो।

माओवादी केन्द्र सुदूरपश्चिममा जिम्मेवारी तोकियो

काठमाडौं । काठमाडौँ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको कार्यविभाजन तोकिएको छ । प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले मंगलबार प्रदेश, जिल्ला, सदन, विभाग, जबस/मोर्चाहरूमा नेताहरूको कार्य विभाजन तोकेका हुन् ।  इन्चार्ज पोखरेलले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरूको तीन सदस्य कार्यालय गठन गरेको मातहतका समितिमा परिपत्र पठाएका छन् । जसमा प्रदेश इन्चार्ज पोखरेल, सह इन्चार्ज बिना मगर र स्थायी समिति सदस्य खगराज भट्ट रहेका छन् ।  यसैगरी सङ्घीय र प्रादेशिक निर्वाचन क्षेत्रमा नेताहरूको जिम्मेवारी तोकिएको छ । सङ्घीय निर्वाचन क्षेत्र अन्तर्गत कैलाली १ मा तिलकबहादुर परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र ५ नम्बर क्षेत्रमा ओमप्रकाश पुनलाई जिम्मेवारी दिएको छ । यस्तै कञ्चनपुर १ मा दीपा चौधरी, २ मा निर्मला बडाल जोशी र ३ मा मानबहादुर सुनारलाई जिम्मेवारी दिएको छ ।  अछाम १ मा दीपकबहादुर साउद र २ मा रामप्रसाद तिमिल्सिना रहेका छन् । यसैगरी डोटी १ मा त्रिलोचन भट्ट, डडेलधुरा १ मा कुन्ती जोशी, बैतडी १ मा नरेन्द्रबहादुर कुँवर, दार्चुला १ मा लक्ष्मणदत्त जोशी, बझाङ १ मा मीनबहादुर कुँवर, बाजुरा १ मा कर्णबहादुर बिक रहेका छन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा सङ्घीय निर्वाचन क्षेत्र र ३२ वटा प्रादेशिक निर्वाचन क्षेत्र रहेका छन् । यसैगरी प्रदेशका सम्बन्धित विभागमा संयोजन गर्नेगरी ३२ वटा विभागमा जिम्मेवारी तोकिएको छ । जनवर्गीय सङ्गठन र जातीय मोर्चासँग सम्बन्धित नेताहरूको जिम्मेवारी तोकिएको छ । नेता गणेश बमको उपचारका लागि सबै केन्द्रीय सदस्य र केन्द्रीय निकायका नेताहरूले दुई हजार जम्मा गर्न पोखरेलले निर्देशन दिएका छन् । 

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाइ सिनेट अध्यक्ष सुरसज्जाबीच भेट

जेनेभा। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जा (Mongkol Surasajja) बीच द्विपक्षीय भेटघाट भएको छ। अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आउनुभएका सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका बारेमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्ध सेतुको काम गरेको बताउनु भयो। थाइ पर्यटकका लागि भगवान बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय गन्तव्यका रुपमा रहेको बताउँदै अध्यक्ष दाहालले थाइ सरकारले लुम्बिनी पवित्र बगैंचामा थाइ शैलीको बिहार निर्माण गरेर थाइ पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुसी व्यक्त गर्नुभयो। “दुवै देशका नागरिक वर्षेनी पर्यटकको रुपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटन लगायतका माध्यमबाट नेपाल-थाइल्याण्ड बीच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको मैले पाएको छु।” आफूहरुले नेपाल-थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसदले संसदीय अभ्यास, कानून निर्माण, अनुभव आदानप्रदान गरि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। साझा सरोकार र आपसी हितका विषयहरुमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देश आपसी सहयोग र सहकार्य गर्दै आएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको साँस्कृतिक सम्बन्धका साथै आपसी हितका सबै आयामहरुमा थप सहकार्य गर्दै अघि बढनु आवश्यक रहेको बताउनु भयो। सो अवसरमा थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनु भयो। बहुसंख्यक थाइ जनताले बौद्ध धर्म मान्ने गरेको उल्लेख गर्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य (Dream Destination) भएको बताउनु भयो। नेपालको हस्पिटालिटीमा थाइल्याण्डबाट भएको लगानीले रोजगारी सिर्जनामा राम्रो सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि दुवै देशको हितमा आर्थिक विकासका कामहरु गर्न सकिने बताउनु भयो। थाइ पर्यटकहरुको लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको बताउँदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आए थाइ पर्यटकहरुलाई धेरै सहज हुने थियो भन्नुभयो।    

९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् । अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जान लागेका हुन् ।  संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारी अनुसार ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका हुन् । गिरीले दिएको जानकरी अनुसार असोज २७ देखि कार्तिक १ गतेसम्म कार्यक्रम अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुनेछ । अध्यक्ष दाहाल सँगै प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरू सुनिता बराल र निशा डाँगी, राष्ट्रिय सभाका सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा समावेश छन् । ‘संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त र विश्व शान्तिको मूल्यमान्यताप्रति दृढता व्यक्त गर्दै महासभामा सम्माननीय अध्यक्षज्यूले शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग विषयको जेनेरल डिवेटमा संघीय संसद्, नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ‚’ गिरीले भने ।   महासभामा सहभागी भई प्रतिनिधिमण्डल १९ अक्टोबर अर्थात् कार्तिक ३ गते शनिबार राती १ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

लोकप्रिय