उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस
काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो।
परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ।
जिल्ला अदालतका न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृत तोकिएका हुन्। त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ।
वैद्यको पार्टीले संयुक्त मोर्चामार्फत संघर्ष अघि बढाउने
काठमाडौं। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने भएको छ । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो। मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो । महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय लिइएको नेता सीपी गजुरेलले जानकारी दिए । जसअनुसार पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरूको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट उनलाई नै महासचिव चयन गरिएको गजुरेलले बताए ।
देशभर पश्चिमी वायुको प्रभाव, अधिकांश ठाउँमा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यसअघि सोमबार देशका केही पहाडी भू-भागमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात भएको थियो ।
स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश
काठमाडौं । नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउनुभएको छ । स्मिताकी आमा गंगा दाहाललाई सम्बोधन गर्दै मोदीले शुभकामना सन्देश पठाउनुभएको हो । मोदीले स्मिता र सायुज्यलाई वैवाहिक बन्धनमा बाँधिएकोमा बधाई दिँदै सफल दाम्पत्य जीवनको लागि शुभकामना दिनुभएको छ । पत्रमा भनिएको छ– उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’
सुन र चाँदी दुवैको मूल्य घट्यो
काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो । चाँदी पनि आज २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो ।