व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. महतको आग्रह
नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यवसायीहरुलाई उच्च मनोबलका साथ लगानी गर्न अनुरोध गरेका छन्। नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा.महतले भने, ‘आत्मविश्वास बढाऔं, अब अर्थतन्त्र अगाडि बढ्छ, अहिलेको जस्तो अवस्थामा रहँदैन । विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरु ढुक्क भएर लगानी गर्नुहोस् ।’
उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उनले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा.महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पु¥याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’
उहाँले मूल्यवृद्धि पनि नियन्त्रणमा रहेको स्पष्ट पार्नुभयो । मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्री भएका बेला मूल्यवृद्धि सालाखाला ८ प्रतिशतभन्दा माथि थियो, अहिले साढे ६ प्रतिशतभन्दा तल झरेको छ । यसले उपभोक्तालाई राहत दिन्छ ।’
उनले भने, ‘भारतको आर्थिक वृद्धि दर अहिले संसारमै अगाडि छ । सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’
उनले भने, ‘तमाम कारणले गर्दा अर्थतन्त्रमा समस्या थियो, हामी सुधारको बाटोमा छौं । ब्याजदर छिट्टै एकलविन्दुमा झर्छ । अन्तर्राष्ट्रिय समस्या चर्केका बेला घरजग्गा र सेयर बजारमा अत्याधिक लगानी भयो । समस्या आएपछि नेपाल राष्ट्र बैंकले ऋण प्रवाह घटायो, ब्याज बढायो ।’
‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन् । मेरो पछि लाग्यो भने ऋण तिर्नुपर्दैन, माफी पाइन्छ भनेर एकथरिले लघु वित्त पीडितलाई बोकेर हिडेका छन् । साँच्चै तिर्नुपर्दैन भनेर पीडित पनि पछि लागेर हिडेका छन्’ मन्त्री डा.महतले भने, ‘स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन । ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन । ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ । त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्नेक्रममा छ ।’
‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन । ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन’ मन्त्री डा.महतले भने, ‘पहिलो धेरै ऋण लिनेहरु समस्यामा परेको हुनाले ब्याजदर घटेको छ । हिजो ऋण लिएकाहरुले अहिले ऋण लिन सक्ने स्थिति भएनन, नयाँ ऋण लिन चाहनेहरुलाई पहिलाको समस्या देखेर तर्सिरहेका छन् । यही कारण बैंकमा तरलता भए पनि ऋण प्रवाह हुन सकेको छैन । तर विस्तारै यसमा सुधार आउँछ ।’
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
काठमाडौं । रियादस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण गरिएको छ। साउदी अरबको कूटनीतिक क्षेत्रभित्र भएको उक्त आक्रमणपछि दूतावास परिसरमा आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था राेयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ। साउदी अरबको रक्षा मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट दूतावासतर्फ दुईवटा ड्रोन प्रहार गरिएको पुष्टि भएको छ। आक्रमणपछि दूतावास भवनमा सामान्य आगलागी र भौतिक क्षति भएको दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा उल्लेख गरेको छ। बिबीसीकाका अनुसार साउदी अरबस्थित अमेरिकी मिसनले रियाद, जेद्दा र धाहरानमा रहेका आफ्ना कर्मचारी र नागरिकका लागि ‘सेल्टर इन प्लेस’ (जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोस्) सूचना जारी गरेको छ। साथै, कूटनीतिक क्षेत्र आसपासका सैन्य प्रतिष्ठानतर्फ अनावश्यक आवतजावत नगर्न पनि आग्रह गरिएको छ। घटनामा मानवीय क्षतिको विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। आक्रमण कसले र किन गर्यो भन्नेबारे आधिकारिक जानकारी आउन बाँकी छ। सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ।
छ महिनापछि रसुवागढी नाका खुल्यो, आजदेखि ट्रक आवतजावत सुरु
रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाका आजदेखि खुला भएको छ। आज बिहान ७ बजेदेखि नेपाली ट्रकहरू केरुङतर्फ प्रस्थान गर्न थालेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज पूरा भएपछि चिनियाँ पक्षले १७ पुसदेखि नाका खोल्ने जानकारी दिएको हो। गत असारअघि सामान लोड गर्न केरुङ पुगेका मालवाहक कन्टेनरहरू फिर्ता ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र व्यवसायी प्रतिनिधिहरू केरुङतर्फ गएको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताए। ल्हेन्दे खोला मितेरी पुल बाढीले बगाएपछि असारदेखि व्यापार ठप्प हुँदा गत वर्षको सोही अवधिको तुलनामा भन्सार राजस्वमा २० अर्ब रुपैयाँ नोक्सान भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पु¥याएको तथा रसुवागढी–स्याफ्रुबेँसी १६ किमी सडकखण्ड विभिन्न स्थानमा कटान भएको थियो।
दुई होटेलको आइपिओ आउँदै
काठमाडौं । दुई होटेलले प्राथमिक सेयर निष्कासन गर्ने भएका छन् । चितवनको सौराहास्थित होटेल पार्क ल्यान्ड र भक्तपुरस्थित नगरकोट रिसोर्ट लिमिटेड प्राथमिक सेयर निष्कासनका लागि प्रक्रियामा गएका हुन् । सिटिजन्स क्यापिटल लिमिटेड र होटेल पार्क ल्यान्ड लिमिटेडबिच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा होटेल पार्क ल्यान्ड लिमिटेडका अध्यक्ष शरदकुमार पाण्डे तथा सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले होटेल पार्क ल्यान्ड लिमिटेडको सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् बिक्री प्रबन्धकको कार्य गर्ने छ । यस्तै नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । उक्त रिसोर्टको कर्पोरेट एडभाइजरीसम्बन्धी कार्य ज्योति क्यापिटल लिमिटेडले गर्दै आइरहेको छ ।
इराकमा वैध रूपमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इराक पुगेका र बिदामा नेपाल फर्किएका नेपाली कामदारहरूको समस्या सम्बोधन गर्दै उनीहरूलाई श्रम स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरेर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यसअघि इराकलाई वैदेशिक रोजगारीका लागि ‘प्रतिबन्धित’ वा ‘जोखिमयुक्त’ मुलुकको सूचीमा राखिएका कारण त्यहाँबाट फर्किएका कामदारहरूले श्रम स्वीकृति पाउन सकेका थिएनन् । सरकारको यो निर्णयले विशेषगरी इराकमा वैध रूपमा कार्यरत रहेर हाल बिदामा नेपाल आएका वा फर्कन चाहने कामदारहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ । श्रम स्वीकृति लिन कामदारले आफ्नो सक्कल रेसिडेन्सी कार्ड र त्यसको फोटोकपीसहित तोकिएका अन्य कागजात वैदेशिक रोजगार विभागमा पेस गर्नुपर्नेछ । यो निर्णयको मुख्य उद्देश्य इराकमा कार्यरत नेपालीहरूको रोजगारी सुरक्षित गर्नु र उनीहरूलाई कानुनी मान्यता दिनु हो । हाल इराकमा हजारौँ नेपाली विभिन्न प्रतिष्ठित कम्पनीहरूमा कार्यरत छन् । श्रम स्वीकृति नहुँदा उनीहरूले रोजगारी गुमाउने जोखिम थियो । यसले अवैध बाटोबाट इराक जाने बाध्यतालाई कम गर्न र त्यहाँ रहेकाहरूको विवरण सरकारी अभिलेखमा दर्ता गर्न पनि सहयोग पुग्नेछ । सन् २००४ मा चरमपन्थी समूहद्वारा १२ जना नेपाली कामदारको विभत्स हत्यापछि नेपाल सरकारले इराकमा वैदेशिक रोजगारीका लागि पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त घटनाले देशभर ठूलो आक्रोश र शोक उत्पन्न गरेको थियो । द्वन्द्वग्रस्त मुलुक भए पनि उच्च तलबको प्रलोभनमा नेपालीहरू लुकिछिपी वा कुवेत, युएई हुँदै इराक पुग्ने क्रम भने रोकिएन । हाल इराकको कुर्दिस्तान क्षेत्र र अन्य relatif सुरक्षित मानिएका भागमा हजारौँ नेपाली निर्माण, सेवा क्षेत्र र अमेरिकी सैन्य क्याम्पहरूमा कार्यरत छन् । सरकारको यो निर्णयले कामदारहरूलाई दुई मुख्य लाभ हुने देखिन्छ । पहिलो, श्रम स्वीकृति लिएर गएमा मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता प्राप्त हुन्छ । दोस्रो, हुण्डीमार्फत पैसा पठाउनुपर्ने बाध्यता हटेर बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्रिने सम्भावना बढ्नेछ । यद्यपि, यो निर्णयले नयाँ कामदारका लागि इराकको ढोका पूर्ण रूपमा खोलेको हो वा पुरानै कार्यरतहरूलाई मात्र सहज बनाएको हो भन्ने विषयमा सरकारले स्पष्ट पारेको छैन ।

