पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

पाँच वर्षपछि युरोप भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङ पाँच वर्षपछि युरोपको सद्भावना भ्रमणमा निस्केका छन् । चीन र बेल्जियमबीच आर्थिक तनाव बढिरहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी युरोप भ्रमणमा निस्किएका हुन्।

उनले सोमबार फ्रान्स पुगेर समकक्षी इम्यानुअल म्याक्रोँ र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनडिअरसँग भेट गर्ने कार्यक्रम रहेको छ ।


त्यसपछि उनी सर्बिया र हंगेरी जाने कार्यक्रम छ । सर्बिया र हंगेरी रूसलाई सहयोग गरिरहेका युरोका देश हुन् । चीनका राष्ट्रपति सी तीन उद्देश्यले युरोप भ्रममा निस्किएको विज्ञहरुको मत छ ।

पहिलो, युरोप र चीनबीच रूस(युक्रेन युद्धपछिको सम्बन्ध सुधार । दोस्रो, आर्थिक तथा सुरक्षासम्बन्धी एजेण्डामा छलफल र तेस्रो सर्बिया र हंगेरीसँग चीनको समेत बलियो सम्बन्ध रहेको सन्देश प्रवाह ।

भूराजनीतिक मामिलाका जानकार म्याट जेरासिमले अलजजिरासँग भनेका छन्, ‘सीले युरोप पुगेर सम्बन्ध सुधारसँगै  आर्थिक र सुरक्षा मामिलामा युरोपियन चासोलाई सम्बोधन गर्न खोजेका छन् । सर्बिया र हंगेरीसँग आफ्नो पनि राम्रो सम्बन्ध रहेको सन्देश उनले दिन चाहेका छन् ।’

बेइजिङ र पेरिसले कुटनीतिक वर्षगाँठको ६ दशक समेत मनाउँदैछन् । विश्व सुरक्षा मामिलामा दुई युद्धका कारण चुनौती थपिएको अवस्थामा सी युरोपतर्फ निस्किएका हुन् । सीको भ्रमणमा अन्तर्राष्ट्रिय संकटबारे छलफल हुने फ्रान्सका अधिकारीहरूले बताएका छन् ।

‘दुई मुलुकबीच अर्न्तराष्ट्रिय संकट, मध्यपूर्व र रूस(युक्रेन युद्धका सवालमा छलफल हुनेछ’, फ्रान्सेली पक्षको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ।

म्याक्रोँ युरोपको सुरक्षामा सबैभन्दा प्रखर रूपमा अघि सरिरहेका छन् । उनले सीलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाबका लागि आग्रह गर्ने अपेक्षा राखिएको छ । यस युद्धले युरोपको अस्तित्वमा चुनौती थपेको म्याक्रोँले इकोनोमिस्टसँगको कुराकानीमा भनेका छन् ।

‘यो युद्ध रूसले जितेको अवस्थामा युरोप सुरक्षित हुनेछैन । रूस यहीसम्म रोकिन्छ भन्ने के सुनिश्चितता छ रु युक्रेनलाई हमला गरेको रूसले मोल्डोभमा, रोमानिया, पोल्याण्ड वा लिथुआनियालाई उसै छोड्ला र ?’ म्याक्रोँको प्रश्न थियो ।

यो भेटमा युरोपेली युनियनले युद्धबारे मात्रै नभएर चीनले विद्युतीय सवारी साधनमा दिएको अनुदानले थपेको चुनौतीबारे समेत छलफल गर्नेछ । चिनियाँ घरेलु अनुदानले युरोपेली कम्पनीहरूले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिने भएकाले यसमा छलफल हुने भएको हो ।

सी युरोप जानुअघि विदेश मन्त्रालयका प्रवक्ता ली जिआनले युरोपसँग रणनीतिक तथा आर्थिक साझेदारीका लागि रचनात्मक छलफल हुने बताएका थिए। ‘हामी फ्रान्स र समग्र युरोपसँग रणनीतिक साझेदारीको पक्षमा छौँ । आपसी हित तथा विश्व शान्तिका  लागि दीर्घकालीन सहकार्यको प्रस्ताव सहित राष्ट्रपति भ्रमणमा निस्किनुभएको छ’, उनले भनेका थिए।

सोमबार म्याक्रोँले समकक्षी सी र चिनियाँ फर्स्ट लेडी पेङ लीयुआनलाई राजकीय भोजमा सरिक गराउनेछन् । त्यसपछि मंगलबार उनले  हिमाल दृश्यावलोकनका लागि लाने कार्यक्रम छ।

त्यसपछि उनी सर्बिया पुग्नेछन्। सर्बिया युरोपेली युनियनको सदस्य राष्ट्र भने होइन। सर्बियामा चीनको ठूलो लगानी रहेको छ। मे ८ मा सीले हंगेरीको बुडापेस्ट पुगेर युरोपको यात्रा अन्त्य गर्नेछन् । उनले त्यहाँ राष्ट्रपति भिक्टर ओरबानसँग भेट गर्नेछन्।

हंगेरीले लिएको नीतिबारे युरोपेली युनियनका सदस्यहरूले प्रश्न उठाइरहेका छन् । मस्को र बेइजिङसँग हंगेरीको हिमचिमबारे प्रश्न उठ्ने गरेको छ । अझ उसले सुरक्षा सहकार्य सम्बन्धमा मस्को र बेइजिङसँग सहमति गरेपछि युरोपेली युनियनमा हंगेरीप्रति असन्तुष्टि बढ्दै आएको छ । हंगेरी बीआरआईमा समेत संलग्न राष्ट्र हो ।

युरोप भ्रमणका दौरान मानवअधिकारका सवालमा पनि छलफल हुनेछ । करिब १० लाख तिब्बती बालबालिका शिक्षाबाट बञ्चित भएको उइगुर समुदायप्रति दमन भएको लगायतका विषयमा पनि छलफल गर्ने तयारी युरोपेली आयोगको छ ।

विशेषगरी रूस युक्रेन युद्ध रोक्नका लागि थप पहल लिन म्याक्रोंले दबाब दिनसक्ने अपेक्षा राखिएको छ ।

प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल-१३ झोलुंगे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल(११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका(७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २०६ रनको चुनौती नेपालले पूरा गर्न सकेन । तीन खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो। पार्क हिल मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७।१ ओभरमा १३८ रन बनाएर अलआउट भयो । नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै तेस्रो बलमै आउट भएका थिए । नेपालले मात्र १९ रन बनाउँदा अनिलकुमार शाह मात्र २ रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अर्का ओपनर आशिफ शेख २४ रनमा आउट हुँदा नेपालले मात्र ४० रन बनाएको थियो । सम्हालिएर खेलेका नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनी चौथो विकेटको रुपमा ५३ रन बनाएर क्याच आउट भए । पाचौं विकेटको रुपमा गुल्सन झा पहिलो बलमै क्याच हुँदा नेपालले १०७ रन मात्र बनाएको थियो । पहिलो बलमा दुई रन जोडेका सोमपाल कामी दोस्रो बलमा आउट हुँदा नेपाले १०९ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सम्हालिएर खेलेका अर्का ब्याट्सम्यान सन्दीप जोरा भने सातौ विकेटको रुपमा २१ रनमा आउट भए । आठौं विकेटको रुपमा कमलसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले १६ ओभरको समाप्तिमा १३१ रन मात्र बनाएको थियो । प्रतिश जिसी नौ विकेटको रुपमा शून्यमा आउट हुँदा अन्तिम विकेटको रुपमा करण केसी १३ रनमा आउट भए । अन्तिम खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै नचल्दा पराजित भएको हो । यो खेलमा दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिइएको थियो । अन्तिम खेलमा पराजित भए पनि तीन खेलको अभ्यास नेपालले २/१ ले आफ्नो पक्षमा पारेको छ । यसअपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलका लागि अमेरिका जाँदैछ । त्यहाँ नेपालले क्यानडा र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी र वागमती प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । बागमती, कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।हिजो काठमाडौं लगायतका विभिन्न ठाउँमा यस वर्षकै गर्मी महशुस गरिएको थियो । देशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

लोकप्रिय