अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड तोड्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ रेकर्ड तोड्यो

हङकङ । अमेरिकी ब्याजदर कटौतीको अपेक्षा र सरकारले आंशिक रूपमा बन्द (सटडाउन) हुने सम्भावनाको चिन्ताबीच लगानीकर्ता सुरक्षित विकल्पतर्फ आकर्षित भएपछि बुधबार सुनको मूल्यले इतिहासमै पहिलो पटक प्रतिऔँस चार हजार डलर नाघेको छ ।

टेक कम्पनीहरूको तीव्र उकालोले बजार अत्यधिक मूल्याङ्कनमा पुगेको चिन्तासँगै लगानी सुनतर्फ सरेको हो । वर्षभरि व्यापारीहरू विश्वव्यापी आर्थिक अनिश्चितता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीति र भूराजनीतिक तनावबीच सुनमा निर्भर रहँदै आएका छन् ।

फलस्वरूप, यो वर्षको सुरुदेखि हालसम्म सुनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्सका प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको विश्लेषण गरिएको छ ।

लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन बुधबार प्रतिऔँस चार हजार ३७ डलरसम्म पुगेको छ । यससँगै चाँदीको मूल्य पनि आफ्नै रेकर्ड नजिक पुगेको छ ।

अमेरिकी सरकारका केही विभाग बन्द हुँदा लगानीकर्तामा अनिश्चितता बढेको छ । यसले रोजगारीसम्बन्धी प्रमुख आर्थिक तथ्याङ्क सार्वजनिक हुने प्रक्रिया रोकिएको छ र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) को ब्याजदरसम्बन्धी निर्णयमा अन्योल पैदा गरेको छ ।

नेसनल अस्ट्रेलिया बैंकका अर्थविश्लेषक टेलर न्युजेन्टले भने, “सुनको तीव्र वृद्धि एक्सचेन्ज–ट्रेडेड फन्डको बढ्दो आगमन, चीनको बलियो माग र विश्वका केन्द्रीय बैंकहरूको खरिदले समर्थन गरेको हो । राजनीतिक, आर्थिक र मुद्रास्फीति अनिश्चितताका बेला सुन सधैं लाभमा रहन्छ ।”

त्यस्तै, पेपरस्टोनका क्रिस वेस्टनले लेखे, “विश्वका कोष र रिजर्भ प्रबन्धकहरूले वित्तीय अस्थिरता, मुद्रा अवमूल्यन र अनपेक्षित सरकारी नीतिबाट जोगिन हेज खोजिरहेका छन् । सुन त्यसको केन्द्रमा छ ।”

यसबीच एसियाली बजारमा भने कमजोरी देखिएको छ । कृत्रिम बुद्धिमत्तामा (एआई) लगानीबारे प्रश्न उठेपछि धातु बजार बलियो रहे पनि इक्विटी बजारमा गिरावट आएको हो । एनभिडिया ४० खर्ब डलर मूल्याङ्कनमा शीर्ष स्थानमा रहे पनि ओरेकलको क्लाउड कम्प्युटिङ नाफा अपेक्षाभन्दा कमजोर रहँदा विश्व बजारमा असर पर्‍यो ।

एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “अत्यधिक मूल्याङ्कन भएका बजारमा नगद प्रवाहमा सानो ढिलाइ पनि अन्तिम चेतावनी जस्तै हुन्छ । व्यापारीहरूले स्पष्टीकरणको प्रतीक्षा नगरी आफ्नो स्थिति घटाउन थालेका छन् । ओरेकलको परिणामले बजारको उत्साह समाप्त त गरेन तर निश्चित रूपमा मौन बनायो ।”

एसियाली बजारमा टेक कम्पनीहरूमा बिक्री बढेको छ । हङकङमा अलिबाबा र जेडिडटकम, ताइपेईमा टिएसएमसी र टोकियोमा रेनेसासका शेयरहरू तीव्र रूपमा घटे । हङकङ र ताइपेई बजार सबैभन्दा बढी प्रभावित भए भने सिड्नी, मुम्बई र सिङ्गापुरमा पनि गिरावट देखियो ।

टोकियोमा सत्तारूढ पार्टीका नेतामा व्यापारमैत्री रूढीवादी साने ताकाइचीको विजयसँगै उकालो लागेको बजार बुधबार केही कमजोर देखियो । लगानीकर्ताहरू थप मौद्रिक सहजता र प्रोत्साहन योजनाको प्रतीक्षामा छन् । यसबीच लन्डन, पेरिस र फ्राङ्कफर्टका बजार स्थिर रहे भने वेलिङ्टन, मनिला, बैङ्कक र जकार्तामा सन्तुलित कारोबार देखियो ।
 

आज सुनको मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार (वैशाख २०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन एक तोला छापावाल सुन किन्न ग्राहकले दुई लाख ९५ हजार १०० रुपैयाँ खर्च गर्नुपर्नेछ । अघिल्लो दिन छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

पाथीभरामा दर्शनार्थीले चढाएका सुन प्रशोधन, ५० तोला प्राप्त

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन गरिएको छ ।  २६ महिनाको अवधिमा चढाइएका सुन तथा चाँदी प्रशोधन गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका  जिन्सी शाखा प्रमुख इन्द्र पौडेलले सुन र चाँदी प्रशोधन गरिएको बताए । २६ महिनाको अवधिमा संकलित ६७ तोला सुन र ४३ किलोग्राम प्रशोधन गरिएको उनको भनाइ छ । ६७ तोला सुन प्रशोधन गर्दा ५० तोला प्राप्त भएको उनले बताए । प्रशोधनबाट प्राप्त सुनचाँदी लिलामीका लागि नयाँ कार्यविधि तयार गर्न लागिएको छ ।

सुनको घट्दा चाँदीको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार (चैत १०) पनि सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको छ । आजका लागि तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँ तोकिएको छ । सोमबार (चैत ९) प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ ।  अघिल्लो दिन चार हजार ४२५ रुपैयाँमा किनबेच भएको चाँदी यस दिन प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार हुनेछ । 

एक सातामै सुनको मूल्य ३४ हजारले घट्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ । यसैबीच, सोमबार चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

लोकप्रिय