नागरिकमाथि बर्बर दमनमा सरकार : प्रधानमन्त्रीले राजीनामा किन नदिने ?
एभरेष्ट टिप्पणी । भ्रष्टाचारको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा उभिएका युवाहरुको आवाज गोलीले दबाउन खोजिएको नृशंस र बर्बर घटनाले देश स्तब्ध छ । जेन जी पुस्ताले शान्तिपूर्णरुपमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पञ्चायती बर्बरता बिर्साउने गरी दमन गरेको छ । प्रहरी दमनमा डेढ दर्जन युवाहरुको मृत्यु भएको छ । दुई सय बढी घाइते छन् ।
यति नृशंस हत्याकाण्ड मच्चिँदा समेत देशका गृहमन्त्रीले राजीनामा दिँदैनन । न त प्रधानमन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक लिन्छन् ।
त्यसो त प्रधानमन्त्रीबाट आस गर्नु व्यर्थ हो किनभने उनकै पार्टीका एकजना मन्त्रीले सडकमा यात्रुलाई ठक्कर दिँदै अस्पताल भर्ना हुने अवस्था हुँदा समेत उनले त्यसलाई सामान्य घटनालाई अतिरञ्जित गरियो भन्ने गरेका छन् ।
तर जनताका लागि यो सह्य छैन । जनताले के मागेका थिए, जनताले त सरकारलाई आफ्ना आक्रोस सुनाउन चाहेका थिए । आफ्ना माग राखेका थिए । त्यो माग राख्ने क्रममा उनीहरुले शान्तिपूर्णरुपमा अनुमति लिएर नै आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै पर्याप्त सतर्कता समेत अपनाएका थिए । तर प्रहरीले संयमता गुमायो । प्रहरीले दमनको वातावरण बनायो । यो घटनामा घुसपैठ भयो या भएन भन्ने प्रश्न महत्वपूर्ण होइन, मुख्य कुरा घुसपैठ भएकै अवस्थामा समेत संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीले सतर्कताका उपाय किन अपनाउन सकेन र आफ्नो कमजोरीलाई गोली चलाएर तुष्टि गर्न खोज्यो भन्ने हो ।
सामान्यतः वानेश्वरमा एभरेष्ट होटल अगाडिसम्म आन्दोलन गर्न पाइन्छ । आन्दोलन हुने समयमा प्रहरीले त्यसअगाडि वानेश्वर चोकसम्म घेरा गरेको हुन्छ । त्यहाँ आन्दोलनको प्रकृति अनुसार, एक, दुई चार पाँच सम्म तारजालीसहित बारकेड या अन्य छेकवार लगाइएको हुन्छ । एकअर्थमा यो प्रहरीको अभेद्य किल्ला जस्तै हुन्छ । एमसिसीविरुद्धको आन्दोलनदेखि विद्यार्थी संगठन, युवाका या पछिल्लो समय शिक्षकका कैयन आन्दोलनमा समेत प्रहरी त्यहाँबाट अघि बढ्न सकेका थिएनन । सामान्य झडप, लाठीचार्ज या अश्रुग्याँस प्रहार भएपनि त्यहीँ हुन्छ । त्यहाँदेखि बिजुली बजार पुलसम्मै भीडन्त हुन्छ । यो सामान्य प्रक्रिया चलिरहेको थियो ।
तर आज त्यसो भएन । आज प्रहरीले पर्याप्त सुरक्षा सतर्कता अपनाएन । प्रहरीले एभरेष्ट नजिकै प्रदर्शनकारीलाई रोकेको भए, र्संवेदनशील मानिने संसद भवनको चौतर्फी सुरक्षा गरेको भए त्यसपछिको अप्रीय घटना हुने थिएन । प्रदर्शनकारीहरुको एउटा समूहले गेट भत्काउँदा सम्म, गेटमाथि, प्रहरी पोष्टमाथि चढदासम्म, आगो लगाउँदा सम्म, पर्खाल भत्काउँदासम्म प्रहरीको भूमिका के थियो ? के त्यो समय नियन्त्रणका लागि पर्याप्त थिएन ?
तर प्रहरीले त्यो बेलासम्म स्थितिको गम्भीरता बुझेन । अनि एकाएक उसले रबरको गोली चलाउने आदेश पायो । रबरको गोली चलाएपनि घुँडामुनि चलाउनुपर्ने नियम हुन्छ । तर यहाँ अन्धाधुन्ध गोली चलाइयो । कोही त्यहीँ ढले, कोही अस्पतालमा पुगेर निधन भए । जबकि प्रहरीले त्यहाँ अन्य कैयन उपाय अपनाउन सक्थ्यो । या, त्यो अवस्था नै आउन नदिन सक्थ्यो ।
प्रहरीले आदेश अनुसार काम गर्छ । उसले आदेश पायो, गोलीले अनुमति पायो । तर यो समग्र प्रकरणको जिम्मेवारी गृहमन्त्री लिने कि नलिने ? यसको समग्र जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ? अभिव्यक्ति स्वतन्त्रतामाथि जे जस्ता तर्क दिएर बन्देज लगाइएको भएपनि आजको आन्दोलन त्यसकै विरुद्धमा थियो । आजको आन्दोलन गठबन्धन सरकारले एकपछि अर्को दलाल र विचौलियाका पक्षमा समर्पणभाव देखाउँदै गरेका निर्णय विरुद्ध थियो । प्रधानमन्त्री यसको मुख्य जिम्मेवार हुन र उनले यसको जिम्मा लिनुपर्छ ।
कुनै बेला संसदको रोष्टमबाट प्रतिपक्षी दलका नेता प्रचण्डले आजको स्थिति आउन सक्ने भन्दै सरकारलाई सच्चिन चेतावनी दिएका थिए । तर उनको भनाईलाई बंगलादेश बनाउने भनेर धम्की दिने ? भनेर गलत अर्थमा लिइयो । सरकार सच्चिएको भए, सरकारले सुशासनका पक्षमा काम गरेको भए, जनताका पक्षमा काम गरेको भए यो अवस्था आउने थियो ? प्रचण्डले एकवर्ष अघि नै सचेत गराएका थिए सुध्रिनुस् भनेर । तर सरकार आत्मरतिमा रमायो । उसले सच्चिन चाहेन । फलस्वरुप आजको अवस्था सिर्जना भयो ।
सरकारको नेतृत्वको हिसाबले प्रधानमन्त्रीले यसको जिम्मा लिनुपर्छ । तत्काल राजीनामा दिनुपर्छ ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

