एकीकृत परिवार योजना शिविर: सेवा छ, पुरुष सेवाग्राही छैनन्
काठमाडौँ । पायक पर्ने स्थानमा सञ्चालन हुने ‘एकीकृत परिवार योजना शिविर’मा परिवार योजनाको स्थायी सेवा लिनेमा महिलाका तुलनामा पुरुष न्यून छन् । जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले सम्बन्धित पालिका तहसँग समन्वय गर्दै सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन गर्दै आएका त्यस्ता शिविरमा स्थायी ‘मिनील्याप’ सेवा लिने महिलाका तुलनामा ‘भ्यासेक्टोमी’ सेवा लिन पुरुषले कम रुचि देखाएका हुन् ।
गत मङ्सिर ८ गतेदेखि २६ गतेसम्म कैलालीका विभिन्न १० स्थानमा सञ्चालन गरिएका घुम्ती शिविरमा दुई सय ११ जनाले परिवार योजनाका स्थायी सेवा लिएका थिए । तीमध्ये एक सय ९३ महिलाले ‘मिनील्याप’ सेवा लिँदा आठ जना पुरुषले ‘भ्यासेक्टोमी’ सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरका अनुसार यस्ता शिविरमा परिवार योजनाका सम्पूर्ण साधनहरूको सेवा निःशुल्क उपलब्धता हुन्छ । ती सेवाअन्तर्गत परिवार योजनाका स्थायी माध्यम ‘मिनील्याप’ (महिला बन्ध्याकरण), ‘भ्यासेक्टोमी’ (पुरुष बन्ध्याकरण), परिवार योजनाका लामो अवधि काम गर्ने आइयुसिडी, इम्प्लान्ट र छोटो अवधि काम गर्ने परिवार योजनाका साधन तीनमहिने सुई (डिपो), खाने चक्की पिल्स र कण्डम पर्दछन् ।
कार्यालयका परिवार नियोजन अधिकृत ओलटनारायण चापागाईँका अनुसार स्थायी बन्ध्याकरणपछि पुरुषलाई काम गर्न समस्या एवं अप्ठ्यारो हुन्छ भन्ने भ्रमलगायत कारणले बन्ध्याकरणमा पुरुषको रुचि कम हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको शिविरमा दुई सय ४२ जनाले सेवा लिएकामध्ये महिला दुई सय २० र पुरुष २२ जना रहेको थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका वरिष्ठ जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यका अनुसार नौकुण्ड गाउँपालिकाको पारच्याङ र कालिका गाउँपालिकाको जिबजिबेमा हालै सम्पन्न ‘एकीकृत परिवार योजना शिविर’मा १९ जनामात्र सेवाग्राही रहेका थिए । तीमध्ये गत आव २०८१/८२ मा सुनौलो परिवार नेपालले सातवटै प्रदेशलाई समेट्ने गरी २८ जिल्लाका अति दुर्गम दुई सय ८६ स्थानमा परिवार व्यवस्थापनअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सम्बन्धित स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग गरेको थियो । ती शिविरमा १० हजार १९९ महिलाले ‘मिनील्याप’ र चार सय ९७ पुरुषले ‘भ्यासेक्टोमी’ सेवा लिएका थिए भने इम्प्लान्ट र आइयुसिडी सेवा लिनेको सङ्ख्या क्रमशः दुई सय १८ र २८ जना रहेका सुनौलो परिवार नेपालका उपनिर्देशक अनिल यादवले जानकारी दिए ।
नयाँ ढाँचामा ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले पछिल्ला वर्षहरूमा परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर एकीकृत परिवार योजना शिविर सञ्चालन गर्न सेवा प्रदायक संस्थासँग समन्वयात्मक र साझेदारी नीति अवलम्बन गरेको छ ।
जिल्ला जनस्वास्थ्य / स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै एकीकृत परिवार योजना शिविर सञ्चालनमा स्वास्थ्य कार्यालयलाई प्राविधिक सहयोग पुर्याउने समझदारीको ढाँचा रहेको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले जानकारी दिइन् ।
उनले भनिन्, “परिवार नियोजनका साधन तथा सेवाको प्रयोग दर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक छ । विशेष गरी एकीकृत परिवार योजना शिविर सञ्चालनमा सेवा प्रदायक संस्थासँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयताका ढाँचामा समन्वयात्मक काम गर्ने नीति अवलम्बन गरेका छौँ ।”
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२) का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोग दर ५३ प्रतिशतमा सीमित छ । आधुनिक परिवार योजना (नियोजन) सेवाको प्रयोग दर ४२.८ भन्दा माथि उक्लिन सकेको छैन । अझै प्रजनन उमेरका २३.७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । त्यसैगरी, विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।
परिवार योजना आवश्यक पर्ने दम्पती एवं अन्य महिलालाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले हरेक वर्ष निःशुल्क एकीकृत परिवार योजना शिविर सञ्चालन गर्दै आएको छ । परिवार व्यवस्थापन कार्यक्रमसहित शिविरका लागि कम लगानी गरिँदा परिवार योजना कार्यक्रम नै सङकटमा परेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जिल्ला जनस्वास्थ्यरस्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत परिवार योजना आवश्यक पर्ने सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा एकीकृत परिवार योजना सेवा शिविर आयोजना गर्ने समझदारीका ढाँचामा सेवा प्रदान गर्ने नीति अवलम्बन गरिएको र यसबाट सेवा प्रवाह प्रभावकारी र चुस्त भएको जानकारी दिए ।
परिवार योजना एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको मेरी स्टोप्स (एमएसआई) नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत एकीकृत परिवार योजना शिविर सञ्चालनको ‘मोडालिटी’ले विशेष गरेर विपन्न समुदायसम्म परिवार योजनाको सेवाको पहुँच पुर्याउने काम गरेको बताउँछन् । उनी भन्छन्, “हामी जिल्ला जनस्वास्थ्य/स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ । ग्रामीण क्षेत्रका गरिब, विपन्न , सीमान्तकृत समुदायसम्म परिवार योजनाका सेवाको पहुँच पुर्याउन लागिरहेका छौँ । ”
उनका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने कुरा स्पष्ट उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने, स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’ मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिए । संस्थाले अहिले सातवटै प्रदेशलाई समेट्ने गरी नौवटा ‘मेडिकल टिम’ परिवार योजनाका शिविरमा परिचालन गरेको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलकिशोर साह पछिल्ला समय साझेदारी ढाँचामा परिवार योजना शिविर सञ्चालन हुन थालेको र यसको प्रभावकारिता देखिएको जानकारी दिए । उनले यही पुस ४ गतेदेखि जिल्लाका १५ वटै पालिकाका ११ स्थानमा शिविर सञ्चालन गर्ने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार यस्ता शिविरमा आठ सय ७४ जनालाई सेवा लिने लक्ष्य लिइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा मदनकुमार उपाध्याय परिवार व्यवस्थापनको सेवामा पहुँच पुर्याउन एकीकृत परिवार योजना शिविरमा सेवाग्राहीले आफूले चाहेका सेवा पायक पर्ने स्थानमा गुणस्तरीय रूपमा पाएका बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकी २० वर्षभन्दा कम उमेरमा विवाहलाई अन्त्य, परिवार योजनाका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार र यौन तथा प्रजनन स्वास्थ्य चेतनामा अभिवृद्धि गर्न अझै पनि चुनौती रहेको औँल्याउँछन् । उनी भन्छन्, “परिवार योजनाका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार गर्न संयुक्त सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ । यसका लागि मन्त्रालय सबै साझेदार निकायसँग थप सहकार्य र हातेमालो गर्न चाहन्छ ।”
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

