पढ्ने बानी बसालौँ: किन पढ्ने, के पढ्ने, कसरी पढने?
· शब्द काका
आजको नेपाली युवाको दैनिकी हेर्दा एउटा साझा चित्र देखिन्छ— मोबाइल स्क्रिनमा झुकेको टाउको, औँलाले अनन्त स्क्रोल, र दिमागमा निरन्तर आवाज। फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सोसल मिडियाले सूचना, मनोरञ्जन र तुलना सबै एकैचोटि दिइरहेका छन्। २०२५ मा हामी शैक्षिक दबाब, करियरको दौड, आर्थिक अनिश्चितता र “केही छुट्ला कि?” भन्ने FOMO को त्रिकोणभित्र बाँचिरहेका छौँ। यस्तो अवस्थामा ध्यान टिकाउनु, गहिरो सोच्नु र आफैसँग संवाद गर्नु दिनदिनै कठिन हुँदै गएको छ।
यही हल्लाखल्लाबीच एउटा पुरानो तर शक्तिशाली अभ्यास बिस्तारै हराउँदै गएको छ— पढ्ने बानी। धेरैलाई पढाइ स्कुल–कलेजको बाध्यता जस्तो लाग्छ, वा फुर्सद हुने मान्छेको विलासिता। तर वास्तविकता यसको ठीक उल्टो हो। पढाइ आजको डिजिटल ओभरलोडले थिचिएको दिमागलाई पुनः सन्तुलनमा ल्याउने औजार हो। नेपाली युवाहरू, जो मानसिक तनाव, पहिचानको द्वन्द्व र भविष्यप्रतिको डर बोकेर अगाडि बढिरहेका छन्, तिनका लागि पढ्नु भाग्ने माध्यम होइन; यो आफूलाई भेट्ने, बुझ्ने र बलियो बनाउने बाटो हो।
किन पढ्ने? सतही संसारमा गहिरो सोचको आवश्यकता
“किन पढ्ने?” भन्ने प्रश्न आजका युवाका जीवनसँग प्रत्यक्ष जोडिएको छ। सोसल मिडियाका एल्गोरिदमले छोटो, छिटो र भावनात्मक कन्टेन्ट प्राथमिकता दिन्छन्। यसले क्षणिक आनन्द दिन्छ, तर दीर्घकालमा ध्यानशक्ति कमजोर बनाउँछ, चिन्ता बढाउँछ र असन्तुष्टि जन्माउँछ। निरन्तर स्क्रोलिङले हामीलाई धेरै कुरा देखाउँछ, तर थोरै मात्र बुझ्न दिन्छ।
पढाइ यस प्रवृत्तिको प्रतिविष हो। नियमित किताब पढ्दा दिमाग शान्त गतिमा चल्न सिक्छ। अनुसन्धानहरूले देखाएका छन् कि पढाइले मानसिक स्पष्टता बढाउँछ, एकाग्रता मजबुत बनाउँछ र मस्तिष्कमा गहिरा न्यूरल पाथवे बनाउँछ। यिनै पाथवेहरूले आलोचनात्मक सोच, विश्लेषण क्षमता र दीर्घ स्मरणशक्ति विकास गर्छन्। सतही सूचना उपभोग गर्ने बानीको सट्टा गहिरो बुझाइ विकास गर्न पढाइ अपरिहार्य छ।
मार्क ट्वेनको प्रसिद्ध भनाइ यहाँ सान्दर्भिक देखिन्छ:
“पढ्न नचाहने मान्छे र पढ्न नसक्ने मान्छेबीच कुनै फरक हुँदैन।”
यो वाक्य केवल कटाक्ष होइन, चेतावनी पनि हो। अवसरको युगमा पनि यदि हामीले सिक्न अस्वीकार गर्यौँ भने, परिणाम उस्तै हुन्छ।
नेपालजस्तो समाजमा, जहाँ युवा पुस्ता वैदेशिक रोजगारी, आर्थिक अस्थिरता र सांस्कृतिक परिवर्तनको चापमा छ, पढाइले दृष्टिकोण फराकिलो बनाउँछ। यसले आफ्नो सीमित अनुभवभन्दा बाहिरको संसार देखाउँछ, अरूका पीडा बुझ्न सिकाउँछ र निर्णय क्षमता सुधार गर्छ। केही अध्ययनअनुसार नियमित पढाइले जीवनका निर्णयहरू अझ सचेत र विवेकपूर्ण बनाउन सहयोग गर्छ।
मानसिक स्वास्थ्यको दृष्टिले पनि पढाइ अत्यन्त प्रभावकारी उपाय हो। एउटा राम्रो किताबमा डुब्नु भनेको केही समयका लागि बाहिरी हल्लाबाट टाढा हुनु हो। अनन्त नोटिफिकेसन, तुलना र चिन्ताबाट अलग भएर दिमागलाई सास फेर्ने ठाउँ दिनु हो। डा. स्युसको सरल तर गहिरो भनाइ यही कुरा सम्झाउँछ:
“जति धेरै पढ्छौ, त्यति धेरै जान्छौ। जति धेरै सिक्छौ, त्यति धेरै ठाउँमा पुग्छौ।”
यी ठाउँ भौगोलिक मात्र होइनन्, मानसिक र बौद्धिक पनि हुन्।
________________________________________
के पढ्ने? आफूलाई भेटिने किताब छान्ने कला
के पढ्ने भन्ने प्रश्नको एउटै सही उत्तर हुँदैन, किनकि मानिस एउटै हुँदैनन्। बजारमा हजारौँ किताब छन्, तर सबै किताब सबैका लागि हुँदैनन्। त्यसैले पढ्ने बानी बसाल्न खोज्दा सबैभन्दा पहिले आफ्नो रुचिलाई स्वीकार गर्नु आवश्यक छ। जबरजस्ती “गम्भीर” किताबबाट सुरु गर्दा धेरैजसो मानिस बाटोमै थाक्छन्।
पढाइ भनेको सोच्ने गति कम गर्नु हो। जब हामी किताब पढ्छौँ, दिमाग एकैचोटि धेरै दिशामा तानिँदैन। शब्दसँगै भावना, पात्रसँगै जीवनका प्रश्न आउँछन्। यही प्रक्रियाले ध्यान, सहानुभूति र आलोचनात्मक सोच बलियो बनाउँछ।
पढ्ने बानीको सुरुवात आख्यानात्मक कथा र उपन्यासबाट गर्नु सहज हुन्छ। कथा पढ्दा दिमाग स्वतः बग्छ, कल्पना सक्रिय हुन्छ र पढाइ बोझ होइन, यात्रा जस्तो लाग्छ। घटना–प्रधान कथाहरूले पृष्ठ पल्टाउने इच्छा जगाउँछन्। त्यसैगरी विभिन्न व्यक्तित्वका जीवनी पढ्दा प्रेरणा मिल्छ— ती मानिसहरू पनि कहिल्यै साधारण थिए भन्ने अनुभूति हुन्छ।
तर पढाइ नेपाली अनुभव र आकांक्षासँग मेल खाने हुनुपर्छ। आफू र आफ्नो वरिपरिको संसार कतै न कतै भेटिने रचनाले गहिरो असर पार्छ। त्यससँगै विश्व दृष्टिकोण जोड्न केही अन्तर्राष्ट्रिय किताब मिसाउनु उपयोगी हुन्छ। उदाहरणका लागि, जेम्स क्लियरको Atomic Habits ले साना बानीले कसरी ठूलो परिवर्तन ल्याउँछ भन्ने कुरा सरल भाषामा बुझाउँछ। यो किताब सोसल मिडियाले बिगारेको ध्यान र अनुशासन पुनः निर्माण गर्न चाहने युवाका लागि विशेष उपयोगी छ।
चिमामान्डा न्गोजी अडिचीको We Should All Be Feminists ले लैंगिक समानताको विषयलाई नारा होइन, जीवनको अनुभवबाट बुझाउँछ। नेपालजस्तो समाजमा, जहाँ लैंगिक भूमिकाबारे बहस अझै जारी छ, यो किताबले युवा नारी र पुरुष दुवैलाई सोच्न बाध्य बनाउँछ।
दस्तावेज होइन, साहित्यले त झन् मानिसलाई आफूभित्र हेर्न बाध्य बनाउँछ। फ्रान्ज काफ्काका कथाहरू पढ्दा धेरैलाई असहज लाग्न सक्छ, तर ती असहजता नै आधुनिक मानिसको वास्तविकता हो। The Trial वा Metamorphosis जस्ता कृतिहरूले प्रणाली, एक्लोपन र अस्तित्वको प्रश्न उठाउँछन्— आजका युवाले भोगिरहेका प्रश्नसँग मेल खाने।
फ्योदोर दोस्तोएभ्स्कीका उपन्यासहरू— Crime and Punishment वा Notes from Underground— ले मानिसको अन्तरद्वन्द्व, अपराधबोध र नैतिक संघर्ष देखाउँछन्। यी किताबहरू सजिलो छैनन्, तर सोच्ने बानी बसिसकेपछि यिनले दिमाग हल्लाइदिन्छन्।
मैक्सिम गोर्कीको लेखनले श्रमिक जीवन, वर्गीय पीडा र चेतनाको विकास देखाउँछ। उनको Mother जस्ता कृतिहरूले सामाजिक यथार्थसँग आँखा जुध्न सिकाउँछन्। यस्ता किताबहरू पढ्नु प्रचार मान्नु आवश्यक छैन; ती त इतिहासको एउटा आवाज मात्र हुन्।
पढाइको यात्रामा विविधता आवश्यक छ। अत्यधिक काल्पनिक संसारमै सीमित हुनु पनि जोखिमपूर्ण हुन्छ। जब पढ्ने बानी बस्छ, तब इतिहास, दर्शन, अर्थशास्त्र र राजनीतिशास्त्रजस्ता विषयमा प्रवेश गर्दा सोचको स्तर नै बदलिन्छ। किताबहरू केवल ज्ञानको भण्डार होइनन्; ती सोच्ने तरिका बदल्ने उपकरण हुन्।
के पढ्ने? आफू, समाज र संसार भेटिने किताबहरू
के पढ्ने भन्ने कुरा अन्ततः आफू कहाँ उभिएको छु भन्ने प्रश्नसँग जोडिएको छ। सुरुमा सबैलाई गहिरो दर्शन पढ्नुपर्छ भन्ने छैन। पढ्ने बानी बसाल्न कथा नै सबैभन्दा सहज ढोका हो।
हिन्दी साहित्यमा प्रेमचन्दका कथा र उपन्यासहरू— गोदान, कफन, निर्मला— ले साधारण मानिसको जीवन, गरिबी, अन्याय र नैतिक द्वन्द्व देखाउँछन्। यी कथा कुनै ठूलो सिद्धान्त होइनन्, तर समाजको ऐना हुन्।
चिनियाँ लेखक लु शुनका कथाहरू— Diary of a Madman— ले परम्परा, अन्धविश्वास र सामाजिक दबाबमाथि प्रश्न उठाउँछन्। ती कथा आजका युवाका लागि पनि सान्दर्भिक लाग्न सक्छन्।
नेपाली साहित्यमा पारिजातको शिरिषको फूल ले प्रेम, निराशा र अस्तित्वको पीडा अत्यन्त सरल तर गहिरो भाषामा प्रस्तुत गर्छ। नारायण वाग्लेको पल्पसा क्याफे ले युद्ध, प्रेम र मानवीय संवेदनालाई युवाको भाषामा ल्याउँछ। अमर न्यौपानेका सेतो धरती र पनिपछि जस्ता कृतिहरूले नेपाली समाजका दबिएका आवाजहरू बोल्न दिन्छन्। कृष्ण धरावासीको राधा ले मिथकलाई नयाँ दृष्टिले हेर्न सिकाउँछ।
यी किताबहरू “पढ्नैपर्छ” भन्ने सूची होइनन्। तर यिनबाट सुरु गर्दा नेपाली समाज, इतिहास र मानवीय भावना बुझ्न सजिलो हुन्छ।
यदि हल्का र लोकप्रिय फिक्सनबाट सुरु गर्न मन छ भने पनि त्यो गलत होइन। पाउलो कोएल्होको The Alchemist ले सरल कथामार्फत उद्देश्य र यात्राको कुरा गर्छ। खालिद होसेनीको The Kite Runner ले मित्रता, अपराधबोध र क्षमाको कथा भन्छ। यस्ता किताबहरूले पढ्ने स्वाद जगाउँछन्।
यथार्थवाद (realism) तर्फ आकर्षण बढ्दै गएपछि साहित्य अझ अर्थपूर्ण लाग्न थाल्छ। यस्ता कृतिहरूले संसार सुन्दर मात्र होइन, जस्तो छ त्यस्तै देखाउँछन्। यही इमान्दार दृष्टिले पाठकलाई बलियो बनाउँछ।
________________________________________
कसरी पढ्ने? बिस्तारै, तर निरन्तर
पढाइ कुनै दौड होइन। दिनको १५–२० मिनेटबाट सुरु गर्दा पनि पर्याप्त हुन्छ। बसमा, सुत्नुअघि, वा बिहानको शान्त समयमा किताबसँग बस्ने बानी बसाल्दा दिमाग आफैँ त्यसको खोजी गर्न थाल्छ। मोबाइल टाढा राखेर पढ्दा सुरुमा गाह्रो लाग्न सक्छ, तर केही दिनमै फरक महसुस हुन्छ।
धेरै युवालाई समस्या पढ्न नजानु होइन, निरन्तरता नहुनु हो। व्यस्त जीवन, मोबाइलको आकर्षण र थकानबीच पढाइलाई समय दिन गाह्रो लाग्छ। त्यसैले पढ्ने तरिका सरल र व्यवहारिक हुनुपर्छ।
दिनको धेरै समय छुट्याउन नसके पनि १५ मिनेट पर्याप्त हुन्छ। बस यात्रामा, सुत्नुअघि, वा बिहानको शान्त समयमा पढ्ने बानी बसाल्दा विस्तारै समय आफैँ बढ्छ। फोनलाई टाढा राखेर, नोटिफिकेसन बन्द गरेर पढ्दा दिमाग छिट्टै किताबमा डुब्छ।
पढाइलाई निष्क्रिय होइन, सक्रिय बनाउनुपर्छ। मन छोएको वाक्य अन्डरलाइन गर्नु, सानो नोट लेख्नु, वा साथीहरूसँग छलफल गर्नुले पढाइलाई गहिरो बनाउँछ। यसरी पढाइ एक्लो गतिविधि होइन, संवादमा बदलिन्छ। समयसँगै किताब दैनिकीको हिस्सा बन्छ— कामबाट भाग्ने होइन, कामभन्दा अर्थपूर्ण ठाउँमा पुग्ने माध्यम।
________________________________________
निष्कर्ष: किताब उठाउनु भनेको भविष्य रोज्नु हो
नेपाली युवा आज परिवर्तनको बीचमा उभिएको छ। यस्तो बेला पढ्ने बानी अपनाउनु कुनै नास्टाल्जिया होइन। यो आफ्नो सोचलाई गहिरो बनाउने अभ्यास हो। कुन किताबबाट सुरु गर्ने भन्ने ठूलो कुरा होइन। महत्वपूर्ण कुरा सुरु गर्नु हो।
ल आउनुस
आज एउटा किताब खोलौं
सायद त्यही पानाबाट तिमीले आफूलाई अलिकति नयाँ रूपमा भेट्नेछौ।
चीनद्वारा दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय
काठमाडौं । चीनको एक सैन्य अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै दुई पूर्वरक्षामन्त्रीलाई ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ । सन् २०१८ देखि २०२३ सम्म रक्षामन्त्री रहेका वेई फेङ्हे र सन् २०२३ मा केही महिना मात्र उक्त पद सम्हालेका उनका उत्तराधिकारी ली शाङ्फुलाई बिहीबार घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो । लीमाथि घुस दिएको अभियोग पनि प्रमाणित भएको बताइएको छ । दुवैलाई दुई वर्षको ‘रिप्रिभ’ अर्थात् निलम्बनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । साथै, उनीहरूलाई ‘प्यारोल’को सुविधा नदिइने अदालतले जनाएको छ । चीनमा यस्तो सजाय प्रायः दुई वर्षपछि स्वतः आजीवन कारावासमा परिणत हुने प्रचलन रहेको छ । चीनको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’का अनुसार, दुवैको राजनीतिक अधिकार आजीवनका लागि खोसिएको छ भने उनीहरूको सम्पूर्ण व्यक्तिगत सम्पत्ति जफत गरिनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट मानिएका ली शाङ्फु मन्त्री नियुक्त भएकै वर्ष अर्थात् सन् २०२३ मा अन्य धेरै उच्च सैन्य अधिकारीहरूसँगै सार्वजनिक जीवनबाट अचानक गायब भएका थिए । सन् २०१२ मा सी चिनफिङ सत्तामा आएपछि सुरु गरिएको भ्रष्टाचारविरुद्धको शुद्धीकरण अभियानअन्तर्गत हालसम्म लाखौँ अधिकारीहरू कारबाहीमा परिसकेको बताइएको छ । विभिन्न रिपोर्टअनुसार केही उच्च पदस्थ अधिकारीहरूको हिरासतकै क्रममा मृत्यु समेत भएको छ ।
इरानी कार्गो जहाज अमेरिकाले कब्जा गरेपछि चीनको विराेध
काठमाडौं । अमेरिकी सेनाले इरानी झण्डावाला कार्गो जहाजलाई बलपूर्वक नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ । सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सम्बन्धित पक्षहरूलाई जिम्मेवार भई युद्धविराम सम्झौता पालना गर्न आग्रह गरे । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले होर्मुज जलमार्गको अवस्था संवेदनशील र जटिल रहेको बताएका छन् । सम्बन्धित पक्षहरूले थप तनाव बढ्न नदिई होर्मुज क्षेत्रमा सामान्य पारवहन सुचारु गर्न आवश्यक वातावरण बनाउनुपर्ने चीनले बताएको छ । साथै सबै पक्षलाई युद्धविराम र वार्ताको गतिलाई निरन्तरता दिन आग्रह गरेको छ । “अहिले शान्तिको अवसर खुलेको छ, त्यसैले युद्धलाई छिट्टै अन्त्य गर्न अनुकूल परिस्थिति निर्माण गरिनुपर्छ,” प्रवक्ता गुओले भने । अमेरिकाले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी तोड्ने प्रयास गरेकाले उक्त इरानी कार्गो जहाजमाथि गोलीबारी गरी नियन्त्रणमा लिएको बताएको थियो ।
अण्डमान सागरमा डुंगा दुर्घटना : २५० रोहिङ्ग्या र बंगलादेशी बेपत्ता
एजेन्सी । बंगलादेशबाट मलेशिया जाँदै गरेको एक डुंगा हिन्द महासागरको पूर्वी भागमा पर्ने अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा परेका उनीहरू रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन् । बीबीसीका अनुसार माछा मार्ने प्रयोजनले प्रयोग गरिने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार भएका कारण डुंगा डुबेको जनाइएको छ । बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार अप्रिल ९ मा आफ्नो एक जहाजले दुर्घटनामा परेका ९ जनाको उद्दार गरेको थियो । डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे भने स्पष्ट जानकारी प्राप्त भएको छैन । रोहिङ्ग्या म्यानमारको मुसलमान अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक अभियानपछि ठूलो सङ्ख्यामा रोहिङ्ग्या बंगलादेशमा शरण लिएका थिए । बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्यालाई नागरिकता दिइँदैन । बंगलादेशमा कठिन अवस्था भएका कारण धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया पुग्ने गरेका छन् । बंगलादेश कोस्ट गार्डले उद्दार गरेका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले उद्दार हुनुअघि आफू ३६ घण्टासम्म समुद्रमा तैरिनुपरेको बताएका छन् । मलेशियामा काम पाइने आशामा आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको उनको भनाइ छ ।
ट्रम्पद्वारा इरानसँग युद्ध अन्त्य गर्नका लागि यसै हप्ता वार्ता पुनः सुरु हुने सङ्केत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न यसै हप्ता वार्ता पुनः सुरु हुन सक्ने सङ्केत दिएका छन् । गत शनिबार इस्लामावादमा भएको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएलगत्तै अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेको थियो । ट्रम्पले न्युयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “तपाईंहरू त्यहीँ (इस्लामावाद) रोकिनुपर्छ, किनकि आगामी दुई दिनभित्र केही हुन सक्छ र हाम्रो झुकाव पनि त्यसतर्फ बढी छ ।” उनको यो अभिव्यक्ति यस्तो बेला आएको हो जब अमेरिकी सेनाले होर्मुज जलसन्धिमा नाकाबन्दी लागू गरेको पहिलो २४ घण्टाभित्र त्यहाँबाट कुनै पनि जहाज नगएको दाबी गरेको छ । यस गतिरोधले दुई हप्ते युद्धविराम सम्झौता सकिन लाग्दा थप प्रश्न उठाएको छ । इरानतर्फबाट ट्रम्पको भनाइमा अझै कुनै प्रतिक्रिया आएको छैन । तर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ‘धेरै सम्भावना’ रहेको बताएका छन् । तेल बजारमा राहत खाडी क्षेत्र, पाकिस्तान र इरानका अधिकारीहरूले पनि अमेरिका र इरानका टोलीहरू यसै सप्ताहान्तमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, यद्यपि कुनै मिति तय भइसकेको छैन । यो जानकारी रोयटर्स समाचार एजेन्सीले दिएको हो । दुवै पक्षबीच वार्ताको सम्भावना बढेपछि तेल बजारलाई केही राहत मिलेको छ । मङ्गलबार तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा तल झरेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलको हवाई आक्रमणपछि इरानले विश्वका लागि अत्यन्त महत्त्वपूर्ण तेल तथा ग्यास परिवहन मार्ग होर्मुज जलसन्धिलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । अहिले एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र करिब १०,००० अमेरिकी सैनिकले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा बाहिरिने जुनसुकै देशका जहाजहरूमाथि नाकाबन्दी लागू गरिरहेका छन् । यसले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ । के नाकाबन्दी प्रभावकारी छ ? यो कदमको मुख्य उद्देश्य इरानमाथि दबाब बढाउनु हो । इरानको आम्दानीका दुई मुख्य स्रोत— तेलबाट हुने आम्दानी र होर्मुज जलसन्धिबाट उठाइने टोल— लाई निशाना बनाइएको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले नाकाबन्दी लागू भएको पहिलो २४ घण्टामा ६ वटा व्यापारिक जहाजले अमेरिकी निर्देशन पालना गर्दै इरानी बन्दरगाहतर्फ फर्किएको दाबी गरेको छ । तर बीबीसी भेरिफाईको जहाज ट्र्याकिङ डेटाको विश्लेषणअनुसार नाकाबन्दी भए पनि इरानसँग सम्बन्धित कम्तीमा चारवटा मालवाहक जहाज होर्मुज जलसन्धि पार गरेका छन् । तीमध्ये दुईवटा जहाज पहिले नै इरानी बन्दरगाहमा थिए । गत शनिबार र आइतबार इस्लामावादमा भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेन । अमेरिकाको भनाइअनुसार इरानले उसका सर्तहरू स्वीकार गरेन । इरानको आणविक महत्त्वाकांक्षा नै मुख्य अवरोध बनेको थियो । एक अमेरिकी अधिकारीले बीबीसीको साझेदार सीबीएस न्युजलाई बताएअनुसार अमेरिकाले इरानलाई २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा निलम्बन गर्न आग्रह गरेको छ । तर इरानले भने ५ वर्षसम्म मात्र रोक्ने प्रस्ताव गरेको छ । आर्थिक मन्दीको खतरा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस युद्धले विश्व अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चेतावनी दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बीबीसीसँग भनेका छन्, “विश्वभर लामो समयसम्म शान्ति र सुरक्षा कायम राख्ने सर्तमा थोरै आर्थिक पीडा स्वीकार्य छ ।” मङ्गलबार चीनले भने यस नाकाबन्दीलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै तनाव अझ बढाउने चेतावनी दिएको छ । चीनको भनाइ छ— पहिलेदेखि नै कमजोर रहेको युद्धविराम सम्झौता होर्मुजको नाकाबन्दीले थप कमजोर हुनेछ । यसैबीच, इजरायल र लेबनानले मङ्गलबार वासिङ्टनमा भएको वार्तापछि सिधा वार्ता सुरु गर्न सहमति जनाएका छन् । इरान समर्थित हिज्बुल्लाहलाई निशाना बनाएर इजरायलले लेबनानमा गरेको हवाई आक्रमणपछि यो पहल भएको हो । यो बैठक सन् १९९३ पछि दुवै देशबीच भएको पहिलो सिधा वार्ता थियो । लेबनानी राजदूतले यसलाई ‘सकारात्मक’ भनेका छन् भने इजरायली राजदूतले यसले ‘शान्तिको नयाँ युग’ को बाटो खोल्न सक्ने बताएका छन् । एक अमेरिकी अधिकारीले जोड दिँदै भनेका छन्— इस्लामावादमा भएको अमेरिका–इरान वार्ता र वासिङ्टनमा भएको इजरायल–लेबनान वार्ताबीच कुनै सम्बन्ध छैन ।

