संविधान जारी हुँदा जस्तै एक भएर अगाडि बढौँ : अध्यक्ष प्रचण्ड (सम्बोधनसहित)

संविधान जारी हुँदा जस्तै एक भएर अगाडि बढौँ : अध्यक्ष प्रचण्ड (सम्बोधनसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए। उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए। उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताए । 

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बेला व्यवस्थामा नै सङ्कट पर्नसक्ने चिन्ता व्यक्त गरे। अहिले समाजमा अराजकता फैलाउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए। एक अर्काप्रति निषेधको नभइ हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्‍यौँ, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ। संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकांक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन्। संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो। तर त्यो जनताले अपेक्षा गरे अनुसार पूरा गर्न सकिएको छैन।’’ 

अध्यक्ष प्रचण्डले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए ।

चुनौती सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको उनको भनाइ छ। अध्यक्ष प्रचण्डले अहिले पनि सहिद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताउनुभयो। उहाँले शान्तिकोष स्थापना गर्ने कुरा बजेटमार्फत सुनिश्चित गरे पनि कार्यान्वयन अझै सुरु नभएको बताए।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्रं)का अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत संक्रमणकालिन न्यायसम्बन्धी विधेयकपारित गर्ने क्रममा गर्नु भएको सम्बोधन ।

सम्माननिय सभामुख महोदय, नेपालको शान्ति प्रक्रियाको इतिहासमा आजको दिन पक्कै पनि दुरगामी महत्वको दिन हुँदै छ । म यस अवसरमा नेपालको अग्रगामी राजनीतिक परिवर्तनको इतिहासको अत्यन्तै गौरवशाली तथा महत्वपूर्ण यस दिनका अवसरमा न्याय, स्वतन्त्रता, समानता र लोकतन्त्रका लागि ज्यानको आहुती दिनुहुने आदरणीय शहीदहरुप्रति श्रद्धाजली व्यक्त व्यक्त गर्न चाहान्छु घाइते, अपांग, वेपत्ता नागरिकहरुको योगदानप्रति हार्दिक अभिवादन र सम्मान व्यक्त गर्न चाहान्छु र उहाँका परिवारजनप्रति सम्मान गर्न चाहान्छु 

त्यसैगरी,यस वर्ष अबिरल वर्षा र बाढिपहिरोका साथै हवाई र सडक दुर्घटनाका ठुलो कारण ठुलो संख्यामा ज्यान गुमाउने नेपाली नागरिकहरुको जनधनको ज्यान गएको छ । त्यसप्रति दुख व्यक्त गर्दै श्रद्धा गर्न चाहन्छु ।

शान्ति प्रक्रियासँग अभिन्नरुपमा सम्बन्धित संक्रमणकालिन न्यायसम्बन्धित राजनीतिक सहमति अनुसार वेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक आज सम्मानित सदनले अनुमोदन गरेको छ । यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाउने छ भन्ने विश्वास व्यक्त गर्न सकिन्छ । हजारौं शहीदहरुको सपनाको पुरा हुने विश्वास पनि पैदा भएको छ ।

शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ र अब हामीलाई परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धीको महान यात्रातर्फ अघि बढने ढोका खुलेको छ । 

यसअ अवधिमा शान्ति प्रक्रियालाई आजको दिनसम्म ल्याइपु¥याउन थुप्रै पात्रहरुले अथक भूमिका निर्वाह गर्नुभएको छ। आज पारित विधेयक कार्यान्वयनको प्रक्रियामा समेत म सबैको साझा प्रयास हुने विश्वास व्यक्त गर्दछु । म सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । आज हामी सबैको समप्रयासले यहाँ आइपुगेका छौं ।

आज शान्ति प्रक्रियाका बाँकी कार्यभारसँग अत्यन्तै महत्वपूर्ण यो विधेयक पारित भइरहँदा म नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई पनि एकपटक फेरि सम्झिन चाहन्छु । 

मैले ०६२ सालमा शान्ति–प्रक्रिया प्रारम्भ गर्दा सातदलीय गठबन्धन एवं नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला मेरा साझेदार हुनुहुन्थ्यो । सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने सन्दर्भममा हामीले शान्ति–प्रक्रियाका धेरैजसो विषयमा हामीले मिलेर काम ग¥यौँ । अस्पतालको अन्तिम भेटमा उहाँले आफूपछि शान्ति–प्रक्रियाको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा रहेको बताउनुभएको कुरा पनि म आज पुनः स्मरण गर्न चाहन्छु । आज वहाँ हामीमाझ हुनुहुन्न । तर मेरो काँधमा सुम्पिएको जिम्मेवारी आज सबै राजनीतिक दलबीचको सहमतिसँगै पुरा भएको छ । यद्यपी कार्यान्वयनको जटिलता बाँकी भने नै छ। 

नेपालको शान्ति–प्रक्रिया तात्कालिन नेकपा (माओवादी)ले ०६१ सालको अन्ततिरबाट सुरु गरेको थियो । तात्कालिन राजा ज्ञानेन्द्रले ०६१ माघमा प्रजातान्त्रिक रूपमा चुनिएको सरकारलाई अपदस्थ गरेर शक्ति हत्याएपछि हामीले त्यो अधिनायकवादी कदमलाई शान्ति स्थापनाको अवसरको रूपमा छोप्ने निर्णय ग¥यौँ । माघ ०६१ मा सेनाको सहयोगमा राजा ज्ञानेन्द्रले मूलधारका दलहरूलाई समेत प्रतिबन्ध लगाएपछि मात्र सातदलीय गठबन्धन माओवादी पार्टीसँग सहकार्य गर्न तयार हुने वातावरण बनेको थियो । ऐतिहासिक तत्थ्य हामी सामु प्रष्ट छ । यस अर्थमा माओवादी पार्टीलाई नेपालको शान्ति–प्रक्रियाको प्रमुख आरम्भकर्ता हो । तत्कालै हामीले मूलधारका राजनीतिक दलहरुको सातदलीय गठबन्धनसँग वार्तालाई घनीभूत बनायौँ । प्रारम्भिक चरणका ती वार्ताको संयोजन र सक्रियता देखाउनु हुने कतिपय राजनीतिक व्यक्तित्वहरुलाई समेत म स्मरण गर्न चाहन्छु। यसमा मुख्य त तात्कालिन ऐमालेका महासचिव कमरेड माधव कुमार नेपाल जोसगँको  मेरो शान्किा लागि पटकपटक भएका घनिभुत छलफलले महतवपूर्ण भुमिका खेल्यो। 

घनिभूत छलफल हुँदै जाँदा हामीले सात दलको गठबन्धनलाई एक नयाँ र पूर्ण लोकतान्त्रिक संविधान लेखनका लागि संविधानसभाको आवश्यकताबारे सहमत बनायौँ भन्ने मेरो विश्वास छ । यो सहमति नै नेपालको शान्ति–प्रक्रियाको मुख्य आधारशीला बन्यो ।

कुनैबेला परस्पर बिरोधी र एक अर्कालाई सम्पूर्ण रुपले सिध्याउन खोजेका राजनीतिक शक्तिहरु राजतन्त्रका विरुद्ध एउटै थलोमा उभिएर आन्दोलनमा उत्रिए । यस्तो उदाहरण संसारमा कतै पनि भेटिन्न। राजनीतिक स्वतन्त्रता र अग्रगमनका पक्षमा लोकतान्त्रिक शक्तिहरुको यो राष्ट्यि सहमति र एकता विशिष्ट उदाहरण बनेको छ । राजतन्त्रविरुद्ध संयुक्त लडेका शक्तिहरुबीच देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने संकल्प गर्दै २०६३÷ मंसिर  ५ गते  शान्ति सम्झौता सम्पन्न भयो । यो शान्ति सम्झौता समावेशी, समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको सुरुआत बिन्दु बन्ने थियो ।

नेपालको शान्तिप्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया हो । यदि यही शान्तिप्रक्रिया यूरोप या पश्चिमा देशहरुमा भएको भए यसले फरक अर्थ राख्थ्यो । संसारभरि चल्ने यसप्रकारका युद्धहरु कि त हारमा परिणत भएका छन् कि जीतमा । तर नेपालको शान्तिप्रक्रिया विश्वमै अनुमप रह्यो । हाम्रा अनुभव मौलिक छन् । अरु देशको नक्कल यसमा छैन । यसका मुलभूत रुपमा दुई पक्ष हुन्, यी दुबैमा हामी सफल भएका छौं । पहिलो राजनीतिक रुपमा राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । संविधानसभावाट नयाँ संविधान बनेको छ, नयाँ संविधानमा राजनीतिक उपलब्धीहरु संस्थागत भएका छन् । यसैगरी अर्को धेरै कठिन कार्य फौजी तथा प्राविधिक पाटो थियो, जसलाई हामीले बिश्वका अरु देशका तुलनामा तुलनात्मक रुपमा सहज र सजिलै स्थापना ग¥यौ ।

विस्तृत शान्ति सम्झौताले वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्दै महिला, दलित, आदिवासी जनजाति,मधेशी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय, पिछडिएका क्षेत्र लगायतका समस्या सम्बोधन गर्न सफल पनि भयो ।

यसका लागि राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लाकतान्त्रिक र अग्रगामी पुनर्सरचना गर्ने संकल्प गरियो र नेपालमा राजतन्त्रको निरञ्कुताको युग समाप्त भयो। 

अर्को उल्लेखनीय पक्ष, नेपालको शान्ति–प्रक्रिया पूर्णता हुने अवधिभरी अन्य धेरै द्वन्द्वग्रस्त मुलुकमा जस्तो कुनै ठूलो स्तरको हिंसा पुनः भोग्नुपरेन । यसबाट के देखिन्छ भने नेपालको शान्ति–प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग बसाइदिएको छ ।

शान्ति सम्झौताको जगमा आज नेपाल लैंगिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाका हिसाबले विश्वको सबभन्दा प्रगतिशील मुलुकमध्ये एक हो । हामीले स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका छौँ । संसद्लगायत अन्य निर्णायक स्थानमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेका छौँ । संवैधानिक प्रावधानमार्फत दलितलगायत उपेक्षित उत्पीडित समूहको राज्यका बिभिन्न तहमा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको छ । 

सेना समायोजनसँगै हाम्रा सामु जनयुद्धले सतहमा ल्याएका वर्ग, जाति, लिंग अनि शासन प्रणालीसँग जोडिएका कैयन समस्याहरु सम्बोधन गर्नुपर्ने चुनौती थियो । संविधान सभामा हामी सहमत भएपनि संविधानका अन्तर्वस्तुबारे हामीबीच कैयन मतभेद पनि थिए । तर हामीले त्यसलाई समेत कुशलतापूर्वक सम्पन्न सहमतिमा परिणत ग¥यौं । संविधानलाई अधिकतम सहमतिको दस्तावेजका रुपमा निर्माण गर्न सफल बन्यौं । नेकपा माओवादीले आफ्ना कैयन असहमतिहरुलाई फरकमतका रुपमा दर्ता गरेर भएपनि राजनीतिक सहमतिमार्फत संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको पनि म यहाँ स्मण गर्न चाहान्छु ।

वेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक आज पारित भएको छ । लामो समयदेखि यो विधेयक पीडित मैत्री हुन्छ कि हुँदैन या यसले मेलमिलापको नाममा पीडितलाई नै थप पीडा दिने त होइन भन्ने चिन्ता व्यक्त हुँदै आएको थियो । तर हामीले यो विधेयकलाई अत्यन्तै मेहनतका साथ उच्च राजनीतिक समझदारीका साथ अन्तिम रुप दिन सफल बनेका छौं । यसका लागि कार्यदलको उच्च प्रशंसा गर्न चाहन्छु । साथै संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस लगायत अन्तर्राष्ट्रिय समुदायको साथ सहयोगका लागि समेत धन्यवाद दिन चाहन्छु । 
अहिले पनि शहीद परिवारले न्याय पाउन सकेको छैन, वेपत्ता नागरिकका परिवार शान्तिले सुत्न पाएका छैनन् । घाइते अपांगहरुले उपचार पाउन सकेका छैनन् । हामीले शान्ति कोष स्थापना गर्ने कुरा बजेटमार्फत सुनिश्चित गरेपनि त्यसको कार्यान्वयन अझै सुरु भएको छैन । त्यसैले यो विधेयकलाई सही अर्थमा कार्यान्वयन गर्नुपर्ने चुनौती हाम्रा सामु छ । त्यसैले राजनीतिक मतभेदहरुलाई थाती राखेर यससँग सम्बन्धि आयोगहरुको प्रभावकारी कार्यसम्पादनका पक्षमा सबैको महत्वपूर्ण सहयोग र सहमति रहने मेरो विश्वास छ । 
यतिखेर देशको राजनीतिक परिस्थित फेरिएको छ । हामीले शान्त सम्झौता गर्दा जुन संकल्प गरेका थियौ सो अनुरुप हाम्रो शासन व्यवस्था अघि बढन नसक्दा जनताबीच राजनीतिक प्रणालीमाथि नै वितृष्णा र निराशा छाएको छ । हाम्रा सामु पुन एकीकृतरुपमा राष्ट्रिय सहमति कायम गर्दै शान्ति सम्झौताको मूल स्पिरिट अनुरुप शासन सञ्चालन गर्नु जरुरी छ । हामी अग्रगमनको साटो उपलब्धी उल्ट्याउनेतिर सुशासनको साटो माफियाकरणतर्फ सामाजिक न्यायको साटो पीडकहरुलाई नै पुरस्कृत गर्नेतर्फ अघि बढ्यौ भने यसले पुन क्रान्ति र आन्दोलनको मार्ग प्रशस्त गर्दछ । 
किनभने अहिलेको लोकतान्त्रिक गणतन्त्रको जगमा शान्ति सम्झौता रहेको छ भने शान्ति सम्झौताको आधार नेपाली जनताले वीरतापूर्वक लडेको जनयुद्ध थियो । जुन कुनै लहड या मनोगत चाहना थिएन । न त यसको मूल चरित्र ध्वंसात्मक नै थियो । 
२०४६ सालको जनआन्दोलनले केही खुकुलो राजनीतिक वातावरण निम्त्याएपनि यसले नेपाली समाजका आधारभूत समस्या सम्बोधन गर्न सकेन । ०५२ सालमा क्रान्ति सुरु हुनुअघि शान्ति मुख्यतः सम्भ्रान्त र सहरी क्षेत्रमै सीमित थियो । ग्रामीण क्षेत्रका अधिकांश जनता त्यसमा पनि विशेषगरी दलित, मुस्लिम, मधेसी, जनजाति, महिला, किसान एवं श्रमिकहरू उम्कनै नसकिने खालको कठोर प्रणालीगत तथा संरचनात्मक हिंसाको दुष्चक्रबाट पिल्सिरहेका थिए । केही मुठ्ठीभर समूहले जुन शान्ति उपभोग गरिरहेको थियो, बहुसंख्यकले त्यो अनुभव गर्न पाइरहेका थिएनन् । हामी यो स्थिति बदल्न चाहन्थ्यौँ र नेपाली समाजको सीमान्तकृत समूहले समेत भोग्न पाउने शान्ति ल्याउन चाहन्थ्यौँ । 
जनयुद्ध युगौंदेखि अभिशप्त जीवन बाँच्न बाध्य नेपालीहरुको सामूहिक प्रतिरोध थियो । शताब्दियौंदेखि दासता र छोईछिटोमा बाँचिरहेका दलित, साहु महाजनको ऋण तिर्न नसकेर दिल्ली, बम्बईका प्लेटर्फममा रगत पसीना बगाइरहेका प्रवासी नेपाली, दोश्रो दर्जाको मान्छेको परिभाषा पाएका महिला, राष्ट्रभित्रै पनि अनागरिकको पीडा झेलिरहेका मधेसी,  सांस्कृतिक पहिचान गुमाउन बाध्य जनजाति, विकासको भीख माग्दै काठमाडौंको मुख ताकेर जदौ गर्न बाध्य कर्णाली र सुदूरपश्चिमका जनता, गरिब थिए, मजदुर लगायतका वर्ग र समूहले अधिकार खोज्दै गरेको सामूहिक प्रतिरोध थियो। यही प्रतिरोध बिभिन्न घटनाक्रमसँगै अघि बढने क्रममा शान्ति सम्झौतामार्फत संस्थागत भएको थियो । 

यो एउटा उद्देश्यका लागि लडिएको युद्ध थियो । जनयुद्धको यही राजनीतिक इमान नै शान्तिप्रक्रिया सफल हुनुको मुख्य कारण पनि बन्यो । यदि जनयुद्ध विशुद्ध ध्वसांत्मक हुन्थ्यो या गैर राजनीतिक हुन्थ्यो भने संसारमै मोडेल शान्ति प्रक्रिया सम्भव थिएन । 
त्यसैले अहिलेको आवश्यकता हामी पछाडि फर्किने होइन । संविधान संशोधनका नाममा या राजनीतिक स्थिरताका नाममा फेरी केही सीमित वर्ग, क्षेत्र भूगोल, समुहको स्वार्थमा शासन प्रणाली सञ्चालन गर्ने होइन, अहिलेको आवश्यकता यी उपलब्धिलाई रक्षा गर्दै नेपाली समाजका सबै विभेद अन्त्यका लागि अघि बढ्ने हो । तर पछिल्ला राजनीतिक गतिविधिहरुले त्यसमा शंका उत्पन्न भएको छ । सुशासनको गति रोकिने त होइन भन्ने प्रश्न खडा भएको छ ।सुशासनको गति रोक्ने प्रयास भइरहेको छ । दुई दलीय एकात्मक राज्यप्रणालीका पक्षमा अस्थिरताको नारा दिएर संविधान संशोधन गर्ने अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् । 

पछाडि फर्केर हेर्दा, हामीले संविधान जारी हुँदा सम्म जसरी हामीले राजनीतिक मुद्दाहरुमा राष्ट्रिय सहमति र एकता प्रदर्शन ग¥यौं, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौं । संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थगत गर्ने चुनौती, जनताका असीमित आंकांक्षा पुरा गर्नुपर्ने दायित्व हामीले पुरा गर्न सकेनौं । संविधान जारी भएपछि भने हामीबीच उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो हुन सकेन । फलस्वरुप शान्ति सम्झौताको मूल मर्मविपरित उपलब्धिहरु नै खोसिने गतिविधि बढन थाले । अहिले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने बेला व्यवस्था नै संकटमा पर्ने हो कि या फेरी शान्ति सम्झौतामा हामीले गरेको सहमति नै धरापमा पर्ने त होइन भन्ने प्रश्न पनि खडा भएको छ । हाम्रो छिमेकि देशमाहरुमा भएका राजनितिक घटनाक्रमले एकअर्का लाई निषेध होइन एक अर्कासँग हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ । देशमा विद्यमान चुनौतिको समाधन मिलेर मात्रै सम्भव छ ।
आज शान्ति सम्झौतामा हस्ताक्षर गर्नुहुने गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहन्न । तर अर्को हस्ताक्षरकर्ताका हैसियतले शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिने विषयमा सबैसँग मिलेर जान तयार छु । 
अन्तमा, नेपालको मौलिक शान्ति प्रक्रियालाई टुंगोमा ल्याउ पु¥याउन भूमिका निर्वाह गर्नुहुने सबै राजनीतिक दल, नेतृत्व, संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रि संघ संस्थालगायत सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

गणतन्त्र दिवस–२०८३: गणतन्त्रको रक्षा, सामाजिक न्याय र समृद्धिका लागि प्रचण्डद्वारा एकतामा जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक शक्ति तथा नागरिकबीच एकता आवश्यक रहेको बताउनु भएकाे छ ।  गणतन्त्र दिवसको अवसरमा जारी शुभकामना सन्देशमा प्रचण्डले न्याय, समानता र स्वतन्त्रताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभएकाे छ ।  उहाँले संविधानले सुनिश्चित गरेको गणतान्त्रिक व्यवस्था कुनै व्यक्ति वा राजनीतिक दलको मात्र नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको स्पष्ट गर्दै संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्न नहुने बताउनु भएकाे छ । संविधानको मूल मर्मबाट पछि हट्ने वा लोकतान्त्रिक उपलब्धिलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै उहाँले परिवर्तनका उपलब्धिको रक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएकाे छ ।  प्रचण्डले संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा विद्यमान परम्परागत परिपाटी तथा स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनु भएकाेएकाे छ । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको वास्तविक सम्मान हुने उहाँको भनाइ छ। सन्देशमा उहाँले “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो” भन्ने धारणा दोहोर्‍याउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएकाे छ । उपेक्षित, उत्पीडित वर्ग, समुदाय तथा क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनु आजको आवश्यकता भएको उहाँको भनाइ छ। देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धितर्फ अग्रसर गराउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माणलाई साझा राष्ट्रिय संकल्पका रूपमा अघि बढाउनुपर्ने बताउनु भएकाे छ।  राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताउनु भएकाे छ।  उहाँले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान गर्नुभएकाे छ। गणतन्त्र दिवस–२०८३ को अवसरमा जारी शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले सम्पूर्ण नेपाली जनतामा पुनः हार्दिक शुभकामना व्यक्त गर्नुभएकाे छ। 

लोकप्रिय