माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा मातृका यादव
काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन्।
यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य निमानन्द रिजाललाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गर्ने निर्णय भएको कार्यालयले जनाएको छ।
यस्तै प्रवास समन्वय समितिको सिफारिस अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं– २, का प्रवास समन्वय समितिका सदस्य इन्द्रराज भट्टराईलाई गण्डकी प्रदेश समितिको सदस्यको रूपमा स्थानान्तरण गरिएको छ।
यस्तै लुम्बिनी प्रदेश समितिका सदस्य विष्णु थापा (दाब) लाई कर्णाली प्रदेश समिति सदस्यको रूपमा कर्णाली प्रदेशमा स्थानान्तरण गरिएको छ।
अध्यक्ष प्रचण्ड गोरखामा
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ । उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ
भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव
काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’
रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो । जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ ।
पूर्वअमेरिकी राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदै
एजेन्सी । १०० वर्षको उमेरमा हालै निधन हुनुभएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको शव वाशिंगटन लगिएको छ । राष्ट्रपतिको शवयात्रा जर्जियाको एटलान्टाबाट प्रस्थान गरेको थियो । अमेरिकी क्यापिटलमा लगिनु अघि पेन्सिलभेनिया एभिन्यूमा रहेको अमेरिकी नौसेना स्मारकमा लगिएको छ । उपराष्ट्रपति कमला ह्यारिस, सिनेट बहुमत नेता जोन थुन र हाउस स्पिकर माइक जोनसनले श्रद्धाञ्जली अर्पण गर्दै क्यापिटल रोटुन्डामा एक स्मारक सेवा आयोजना गरिएको छ । कार्टरको परिवारका साथै कार्टरको राष्ट्रपति मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेका थिए । कार्टरको शववाहन रोटुन्डामा राखिनेछ । मंगलवारदेखि सार्वजनिक अवलोकनका लागि खुला राखिएको उहाँको पार्थिव शरीर बिहीवार श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ । पूर्व राष्ट्रपति कार्टरको अन्त्येष्टि आज गरिँदैछ । आज जर्जियामा श्रीमती रोजलाइन कार्टरको समाधि स्थलसँगै उहाँको अन्त्येष्टि गरिनेछ । अन्त्येष्टि अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम तय गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले यसअघि जनवरी ९, २०२५ को दिनलाई पूर्व राष्ट्रपतिका लागि संयुक्त राज्य अमेरिकाभरि राष्ट्रिय शोक दिवसको रूपमा घोषणा गर्नुभएको थियो ।