कञ्चनपुरका मुक्त हलिया भन्छन्– पहिले लिखित प्रतिबद्धता, अनि मात्र मतदान
कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारहरूको दौडधुप बाक्लिएको छ । तर, यस पटक मुक्त हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले कञ्चनपुरका उम्मेदवारलाई लक्ष्य गरी नौ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै हस्ताक्षरसहितको लिखित बाचा माग गरेपछि चुनावी माहोलमा नयाँ बहस सृजना भएको छ ।
विसं २०६५ भदौ १४ गते तत्कालीन सरकारले हलिया मुक्तिको घोषणा गरेको १८ वर्ष पुग्न लाग्दा पनि कञ्चनपुरका धेरै परिवारले पुनःस्थापनाको पूर्णता महसुस गर्न पाएका छैनन् । यही पीडा र आक्रोशबीच समुदायले यस पटक ‘भोटअघि प्रतिबद्धता’को नीति अघि सारेका छन् ।
निर्वाचनको सरगर्मी बढेसँगै गाउँ पसेका उम्मेदवारलाई देख्दा हलिया परिवारमा उत्साहभन्दा बढी संशय देखिन्छ । वैशाखा शिविरका मोहन दमाईले विगतका कयौँ निर्वाचनमा मतदान गरिसकेको भए पनि आफ्नो जीवनस्तरमा कुनै परिवर्तन नआएको बताए ।
उनी भन्छन्, “धेरैपटक चुनावमा भोट हाल्यौँ, उम्मेदवारहरू आउँछन् र भन्छन्, पुनः स्थापना गरेर छाड्छौँ, रोजगारी र बालबालिकालाई गुणस्तरीय शिक्षा दिन्छौँ, तर ती कुरा चुनावी नारामै सीमित रहे, जितेर गएपछि फर्केर कोही आउँदैनन् ।”
आवासको समस्या झनै विकराल छ । कृष्णपुर नगरपालिका–२ की सृजना ओडले सुरक्षित आवास नहुँदा अझै झुपडीमै बस्नुपरेको पीडा सुनाउनुभयो । “चुनाव जितेर गएपछि पक्की घर बनाइदिन्छौँ भन्छन्, अहिले पनि त्यही पुरानै कुरामा अल्झाउन थालेका छन्, विश्वास गर्न पनि गाह्रो परेको छ, कुन उम्मेदवारलाई पत्याउने ? सबैले अवस्था परिवर्तन गर्छौँ भनिरहेका छन्, तर यस पटक भने सोचेरै मतदान गर्छौँ”, उनले भने ।
भौगोलिक विकटता र आधारभूत पूर्वाधारको अभावले पनि यो समुदायलाई पिरोलेको छ । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका कालुराम भुलले बस्तीमा जाने सडक पनि सहज नभएको गुनासो गरे । गाउँमा काम नपाउँदा उहाँ दैनिक गुजाराका लागि सीमावर्ती भारतीय बजार टनकपुर जानुपर्ने बाध्यतामा छन् । उनी भन्छन्, “गाउँमै रोजगारीको व्यवस्था गरिदिए हुन्थ्यो तर कोही पनि त्यसका लागि तयार छैनन्, चुनावका बेला प्रतिबद्धता जनाउने सबै छन्, चुनाव सकिएपछि बस्तीमा फर्केर आउने कोही होइनन्, हाम्रा दुःख हेर्ने कोही छैन ।”
मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारका अनुसार सुरुआतमा केही प्रगति भए पनि पुनः स्थापना कार्य अझै अधुरो र अपुरो छ । संविधानले समानता र न्यायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा मुक्त हलियाको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच अझै न्यून रहेको उनको ठम्याइ छ ।
सरकारी तथ्याङ्क र महासङ्घको अभिलेखअनुसार कञ्चनपुरमा अझै ठूलो सङ्ख्यामा हलिया परिवार सरकारी प्याकेजबाट वञ्चित छन् । कञ्चनपुरमा ‘क’ श्रेणीका १६८ जनाले जग्गा खरिद र घर निर्माणको रकम पाउन अझै बाँकी छ । ‘ख’ श्रेणीका ७२३ जनाले घर निर्माणको दोस्रो किस्ता अझै प्राप्त गर्न सकेका छैनन् । लगतमा समावेश भएका मुक्त हलियाको सङ्ख्या दुई हजार ५१६ रहेकामा जसमध्ये परिचयपत्र प्राप्त सङ्ख्या एक हजार ९९१ रहेको छ । पुनः स्थापन भएका एक हजार ८३० परिवार रहेका छन् भने पुनः स्थापन हुन बाँकी १६१ जना छन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै तीन हजार ४०७ मुक्त हलिया परिवार पुनः स्थापना हुन बाँकी छन् । प्रारम्भमा १९ हजार ५९ घरपरिवारको विवरण सङ्कलन गरिएकामा सरकारले पुनः प्रमाणीकरण गरेका १६ हजार ९५३ परिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवारले मात्र पुनःस्थापनाको प्याकेज पाएका छन् । अझै एक हजार १०४ परिवार अन्तिम किस्ताको रकम पाउनबाट वञ्चित छन् ।
पुनःस्थापनामा ढिलाइ हुनुको मुख्य कारण तीन तहका सरकारबीचको समन्वय अभावलाई मानिएको छ । अध्यक्ष लुहार भन्छन्, “पहिले पुनः स्थापना समस्या समाधान समितिमार्फत केही काम अघि बढेको थियो, तर पछिल्लो समय सङ्घीयता कार्यान्वयनसँगै जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भएपछि पुनःस्थापनाको कार्यले गति लिनसकेको छैन, सङ्घीय सरकारले अधिकार त दियो तर बजेट र स्पष्ट कार्ययोजना दिएन ।”
बजेटसहित मुक्त हलिया परिवारलाई पुनःस्थापनसँगै शिक्षा, रोजगारीमा पहुँच पुर्याउने मागको उम्मेदवारहरूसँग प्रतिबद्धता माग गरिएको उनी बताउँछन् । विशेषगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला वर्षहरूमा मुक्त हलियाका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि समस्या थप गम्भीर बनेको छ । विनियोजन गरिएको बजेट पनि प्रभावकारी ढङ्गले कार्यान्वयन नहुँदा मुक्त हलियाहरू आफ्नै भूमिमा भूमिहीन र सीमान्तकृत बन्नुपरेको अधिकारकर्मीको गुनासो छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले उम्मेदवारका लागि अघि सारेको नौ बुँदे प्रतिबद्धता पत्रमा सुरक्षित आवास, खेतीयोग्य जमिनको लालपुर्जा, उच्च शिक्षासम्म छात्रवृत्ति र बिना धितो सहुलियतपूर्ण ऋणजस्ता महत्त्वपूर्ण माग समावेश छन् ।
“संविधान जारी भएको दशक बितिसक्दा पनि दासत्वको स्वरूपमा रहेको हलिया प्रथा अन्त्यको पूर्ण अनुभूति नहुनु राज्य र राजनीतिक दलहरूका लागि गम्भीर प्रश्नका रूपमा रहेको छ”, महासङ्घका अध्यक्ष ईश्वर सुनारले भने ।
मुक्त हलियाहरूले यस पटक आफ्ना मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । मुक्त हलियाले उम्मेदवारहरूले लिखित प्रतिबद्धता नजनाए समुदायले सामूहिक रूपमा ‘नो भोट’ वा वैकल्पिक रणनीति अपनाउने चेतावनीसमेत दिएका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरका राजनीतिक दल र उम्मेदवारले मुक्त हलियाको यो ‘प्रतिबद्धता अभियान’लाई कसरी लिन्छन् र कार्यान्वयनमा कत्तिको इमानदार देखिन्छन्, त्यसैमा उनीहरूको चुनावी नतिजा र लोकतन्त्रको समावेशी सफलता निर्भर रहने देखिएको छ ।
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

