मुस्ताङका किसानले स्याउबाट भित्र्याए बार्षिक ९२ करोड
मुस्ताङ । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, 'यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भिक मूल्याङ्कनअनुसार यस वर्ष करिब ९३ करोडको हाराहारीमा स्याउ निर्यात भएको पाएका छौँ, पूरै तथ्याङ्क अझै आइसकेको छैन । यस वर्ष स्याउ फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन् ।'
विगतको तुलनामा यस वर्ष करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।
गत वर्ष मुस्ताङमा छ हजार पाँच सय ९६ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष गत वर्षभन्दा सात सय ३४ टनभन्दा बढी उत्पादन भएको निर्देशनालयले जनाएको छ । गत वर्ष ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएकोमा यसवर्ष गत वर्षभन्दा करिब २९ करोड बढी आम्दानी भएको कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।
यसैगरी कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्कअनुसार मुस्ताङमा स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ । स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकामा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन् । जसको कुल मूल्य ६६ करोड ८६ लाख ७२ हजार चार सय रहेको जनाइएको छ ।
स्थानीय जातका स्याउ प्रतिकेजी एक सय १० रुपैयाँ र हाईब्रिट स्याउ प्रतिकेजी दुई सयमा निकासी हुँदा मुस्ताङमा करिब ८३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख गुरुङले जानकारी दिए ।
कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेव रेग्मीले यसपटक करिब ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकामा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ विक्री भएको बताए ।
उनका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको देखिएको छ । केही कृषकले लगाएको विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिक रूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ ।
सुप्रिम सहकारी ठगी प्रकरण : लामिछानेमाथि आजदेखि थुनछेक बहस
रूपन्देही । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेले सो प्रकरणमा बयान दिनुभएको थियो । इजलासले बिहीवार बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका छाडेको थियो । लामिछाने आज थुनछेक बहसका लागि अदालतमा उपस्थित हुनेछन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो । सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो । लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित
काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ
काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।
प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै
काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।