ओली सरकार बिचौलियाले बनाएको पुष्टि भयो : वर्षमान पुन

ओली सरकार बिचौलियाले बनाएको पुष्टि भयो : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले काँग्रेस र एमालेलाई बिचौलिया र दलाल पुँजीपति वर्गले मिलाइदिएको बताएका छन् ।  

पार्टी सम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै पुनले प्रचण्ड नेतृत्वको सरकारले सुशासन कायम गर्न सञ्चालन गरेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएका बिचौलिया र दलालहरुले राजनीतिक समीकरण फेरेको पछिल्लो घटनाक्रमहरुले पुष्टि गर्दै लगेको बताए । 

बिचौलियाहरुले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरुको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतसाथ बिचौलियाको चाहनामा काम नगरेको उनले बताए। 

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो । प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो’, उनले भने, ‘हामीले बिचौलियाको हित हुने गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौं । भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौं। यो जनताले बुझेका छन् ।’  

देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रुपमा बढेर जाने दाबी पुनले गरे। त्यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर संघर्ष गर्ने नीतिमा आफूहरु रहेको पुनले बताए।

 ‘हाम्रो अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरुले भनिरहेका छन्’, उनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बर्बाद हुने भयो भनेर काँग्रेस र एमालेलाई मिलाउने काम उनीहरुले गरे ।’  सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल नतिर्ने व्यवसायीहरुलाई सरकारले संरक्षण गरिरहेबाटै भएको तर्क उनले गरे । 

लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले तिर्नुपर्दैन भनेर हिंड्नुले उनीहरुको असली चरित्र उदाँगो भएको आरोप पुनले लगाए । 

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल तिर्दिन भन्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भन्दै उनले त्यसप्रति आपत्ति जनाए। ‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरुले महसुल तिर्दिन भनेर च्यालेन्ज गरिरहेका छन् । 

ठूूला दल,  प्रधानमन्त्री र मन्त्रीहरु तिर्नुपर्दैन भन्दै हिंडेका छन् । यसैले पुष्टि हुन्छ कि यो कसले कुन स्वार्थले बनाएको गठबन्धन रहेछ र सरकार कसको रहेछ?’, पुनले भने, ‘संसदको लेखा समितिलाई तिनीहरुलाई ल्याएर बैठक बसाइएको छ । यो गम्भीर कुरा हो ।’  सरकारमा रहेका दलहरु जनताको नभई बिचौलिया र दलाल पुँजीपतिहरुको हित संरक्षणमा लागेको आरोप उनले लगाए । 

सांसद पुनले बिचौलिया वर्गको हित संरक्षण गर्न नसकेका दिन वर्तमान केपी ओली नेतृत्वको सरकार बनाउनेहरुले नै ढाल्ने ठोकुवा गरे । पुनले काँग्रेस र एमालेले आफ्ना नागरिकलाई भुटानी बनाएर अमेरिका पठाउँछु भन्दै पैसामा बेच्ने, बुटवलसहित विभिन्न ठाउँमा सुकुम्बासीका नाममा सरकारी जमिन ओगटेर बेच्ने, बालुवाटारको सरकारी जमिन किर्ते गर्ने तथा ठूला भ्रष्टाचारका काण्ड घटाएकामा जनता स्पष्ट रहेको दाबी गरे ।  

उनले दुई ठूला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोज्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए । माओवादी र प्रचण्डका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको भन्ने दुई दलको दाबी सही नभएको भन्दै पुनले दुई तिहाई बहुमतको संसद विघटन गर्ने केपी ओली र उनलाई बोक्ने काँग्रेसले अरुमाथि त्यस्तो आरोप लगाउन नसुहाउने तर्क गरे । 

सरकारबाट बाहिरिनुपर्दा पनि आफ्नो पार्टीको शीर्ष नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्म कुनै चिन्तामा नरहेको भन्दै पुनले सुशासनको मामिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पनि सहकार्य गरिने स्पष्ट गरे ।  फरक प्रसंगमा उनले पृथ्वीनारायण शाहपछिको युगनायक आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको बताए । पुनले प्रचण्ड नेतृत्वमा भएको १० वर्षे सशस्त्र माओवादी जनयुद्धले समाज परिवर्तनमा अतुलनीय भूमिका निर्वाह गरेको बताए ।  

जनयुद्धका महिला, मजदुर, मधेसी, दलित, जनजाती, धार्मिक अल्पसंख्यक र किसानका पक्षमा गरिएको संघर्ष भएको चर्चा गर्दै उनले जनयुद्धले दबाएर राखिएका बोल्न नसक्नेलाई बोल्न सक्ने बनाएको तर्क गरे। जनताको अधिकारका लागि भएको संघर्षको नेतृत्व गरेका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालीक बनाउने अवस्था आउने दाबी उनको थियो ।

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

म न्यायिक प्रक्रियालाई सघाउन आएको छुः लामिछाने

पोखरा।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको बताएका छन् । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई लाई सघाउन आएको छु ।’  उनले सरकारको राज्य सत्ता कब्जा गर्ने आफ्नो बर्चस्व कायम गर्ने योजना रहेको समेत उनले बताए । ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने । आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् । सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।

एमालेको पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीले थाल्यो एक रूपैयाँ दान अभियान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। आइतबार अखिल क्रान्तिकारीको प्राविधिक जिल्ला समितिले एमाले पार्टी कार्यालय बनाउन एक रूपैयाँ सहयोग संकलन सुरू गरेको हो। प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्। एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो। सत्तारूढ दलले व्यवसायीसँग चन्दा लिएर पार्टी कार्यालय बनाउन लागेको भन्दै आलोचना भइरहेका बेला अखिल क्रान्तिकारीले उक्त विरोध प्रदर्शन गरेको हो।

लोकप्रिय