आधा काम नहुँदै ओलीले उद्घाटन गरेको धरहरा निर्माणको म्याद सातौं पटक थपियो
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाखमै तामझामका साथ उद्घाटन गरेको धरहराको निर्माणनसकिएपछि फेरि म्याद थपिएको छ। ०७२ वैशाखको भूकम्पले धरहरा भत्किएर नयाँ बनाई उद्घाटन गरिसकेको ३ वर्षसम्म पनि बाँकी काम सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन। ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत मात्र थियो।
सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ।यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो।
सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीका अनुसार सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा टेकेर धरहरा पुनर्निर्माणका लागि अन्तिम पटक म्याद थप गरिएको हो ।
आयोजना प्रमुख अधिकारीका अनुसार म्याद थप गरिएको यस अवधिमा निर्माण सम्पन्न हुन सकेन भने निर्माण कम्पनीले सरकारलाई जरिबाना तिर्नुपर्ने हुन्छ।कुल सम्झौता रकमको ०.०१ प्रतिशत प्रतिदिनका दरले जरिबाना बुझाउनुपर्ने हुन्छ । सम्झौता रकम तीन अर्ब ४९ करोड रुपियाँ रहेको छ।
अधिकारीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र आर्थिक प्रगति ८९ प्रतिशत छ । २०७५ पुसदेखि निर्माण सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौता अनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो । त्यसै गरी २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास र उद्घाटन गरेका हुन् । मुख्य संरचनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । मेकानिकलसम्बन्धी काम बाँकी छन् । त्यसै गरी विद्युतीकरण, प्लम्बिङ, सिसिटिभी जडान, रङरोगन, फिनिसिङका काम बाँकी छ ।
तत्कालीन राजा रणबहादुरकी पत्नी ललित त्रिपुरा सुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा परी भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल वैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो ।
त्यसबखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो । अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।