एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य

एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ सम्पन्न

दोहा, कतार । फुलबारी रेष्टुरेन्टले आयोजना गरेको फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ भब्य रुपमा सम्पन्न भएको छ । मानव सेवा आश्रमको सहयोगार्थ “फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको हो ।  कार्यक्रमको उदघाट्न गर्दे नेपाली राजदुतावास कतारका नियोग उप–प्रमुख कुमार राईले नेपाली कला र संस्कृतीको मुख्य खम्बा भनेको लोक गित संगित भएकोले सबैले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । राईलले आफ्नो मौलिक लोकगित र संगितलाई माया गरेर प्रवासमा रहेर पनि विभिन्न कार्यक्रम आयोजना गरेर नेपाली दाजुभाई तथा दिदिबहिनिहरु सहभागी हुने अवसर दिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।  कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले विदेशी भुमिमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई गायन तथा नृत्य मार्फत जगेर्ना गरिरहेका कलाकारहरुलाई सबैले माया र हौसला दिनुपर्ने भन्दै एनसीसी कतारले सदैव कतारमा रहेका कलाकारलाई प्राथमिकतामा राख्ने बताए। साथै उनले सचेतनामुलक तथा नेपाली मौलिक कला संस्कृतिको जगेर्ना गर्ने खाले कार्यक्रममा एनसीसीले सदैव साथ सहयोग गर्ने बताए। दुई शो मा भएको कार्यक्रमका मुख्य आर्कषक लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्माका दर्जन बढि गितमा दर्शक झुमेका थिए। शर्माले लोकप्रीय गितहरु खाडि तिरै भेटौला, लुटन सके लुट सके, स्याङजा जाने बाटोमा तनँहु लगाएतमा दर्शकहरुलाई भरपुर नचाएका थिए । कार्यक्रमममा नेपाल देखी आएका चर्चित मोडल तथा डान्सर करिश्मा ढकाल र सविता भुसालले पनि आफ्नो प्रस्तुती राखेका थिए ।नेपाल देखी आएक कलाकार सँगै गैरआवासीय नेपाली तारा –४ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम निरु श्रेष्ठ, एनआरएनए द सिङगर सिजन १ की फाइनलिस्ट गुना मगर लगाएत एक दर्जन कलाकारले गायन, नृत्य र हास्य व्यङग्य प्रस्तुती दिएका थिए ।  कार्यक्रमको अन्त्यमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष समेत रहेका पशुपति शर्मा र प्रतिष्ठानको शाखा कतारका कलाकार रश्मी विश्वकर्मा लगाएतले प्रस्तुत गरेको लाईभ दोहोरी पनि दर्शकको आर्कषण बनेको थियो । सनैयामा स्थीत फुलबारी रेष्टुरेन्टको सभाहलमा रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका संयोजक रोशन अर्यालले स्वागत गरेका थिए भने औपचारीक कार्यक्रमको सहजिकरण दिप जंग शाह र सास्कृतिक कार्यक्रमको सञ्चालन भानु शर्माले गरे थियो।

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

काठमाडौं।  जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गरेकी छिन्। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आएकी उनी अपराह्न वसन्तपुरमा पुगेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक

चितवन। भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक भएको छ । सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले बैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२/१२ विद्यालय रहेका छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि(क्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन बैशाख २८ गते भरतपुर ७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउसँसो ४स्३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप ईंग्लिश बोर्डिङ स्कुल र ओम शानति एकेडेमी भिड्नेछन् । कृष्णपुरसँगै भरतपुर १९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले स्कुलस्तरका खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीहरुलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो । यसैबीच सोही कार्यक्रममार्फत प्रशिक्षकहरुलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको हो । नियुक्त भएका प्रशिक्षकहरुले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने खेल संयोजक एवं चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकहरुलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ । 

जलवायु परिवर्तनको असरसँग जुध्न एसियाली विकास बैङ्कले नेपालमा सहयोग बढाउने

काठमाडौं ।दातृ संस्था एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ। एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी टिबिलिसीमा रहेका नेपालका अर्थसचिव मधुकुमार मरासिनीसँगको ‘साइड लाइन’ वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन्।  त्यसअघि सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेकाले त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गरेका हुन्। सो क्रममा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए।   भेटका क्रममा सचिव मरासिनीले विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि पनि आग्रह गरे।  त्यस्तै उनले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका छन्। जवाफमा अध्यक्ष मासात्सुगुले एडिबीले नेपाललाई प्राथमिकतामा राखेकाले उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका छन्।  नेपाली प्रतिनिधिको टोलीले सोही क्रममा एडिबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेट गरेको थियो।  त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरू समयमै सम्पन्न गर्नेबारे सहमति भएको अर्थ मन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए। उनका अनुसार सहुलीयतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको थियो। उपाध्यक्ष याङ्गले विश्व बैङ्गसँगको सहकार्यमा तयार भइरहेको कन्ट्री साझेदारी फ्रेमवर्क अन्य मुलुकका लागि समेत नमुना हुन सक्ने बताए।

लोकप्रिय