सत्ता हारेर राजनीति जितेका प्रचण्ड
विश्वासको मत माग्दै संसद्मा प्रचण्डले भने– कुनै ओम्नी र गिरीबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्यौँ
सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहको सरलीकरणको प्रयास गर्यो । सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्यो । देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्यो । कुनै यती, कुनै ओम्नी र कुनै गिरीबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्यो । एउटा वर्गले सरकारी जग्गा लुटे पनि हुने भयो । तस्करी गरे पनि हुने भयो । कानुन मिचे पनि हुने भयो । यसले आमजनतामा घृणा र आक्रोश बढायो र लोकतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था पैदा भयो । त्यो वर्ग यति शक्तिशाली भइसकेको थियो कि त्यसलाई दण्डित गर्ने त परको कुरा, प्रश्न गर्ने हैसियत पनि धेरै राजनीतिज्ञहरूले गुमाइसकेका थिए । तर, मैले त्यो वर्गसँग सम्झौता गरिनँ । म जनतालाई बुझिने गरी भन्न चाहन्छु, सरकार नै ढल्ने जुन परिस्थिति आज बन्यो, त्यो सरकारले कानुनको पालना गराउने, विधिको शासन सुरु गर्ने र सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण बन्यो । सरकार परिवर्तनमा संलग्न पात्रहरूलाई हेर्नोस्, परिवर्तनको कारण त्यसै थाहा हुन्छ ।
नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ?
अत्यन्त रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा पनि गर्दै हुनुहुन्छ । लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार खोस्ने जमर्को गर्दै हुनुहुन्छ । तपाईंहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा तपाईंहरूको सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आमजनताले बोध गरिसकेका छन् । तपाईंहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौँ आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ । नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ ? झुटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ ?
तपाईंहरूलाई कसले किन मिलायो, घामजत्तिकै छर्लंग छ
प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरु गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरु गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । कांग्रेस–एमालेका सीमित नेताको दाबी होला– हामी आफैँ मिलेका हौँ । त्यो सत्य होइन । तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लंग छ । सीधै कांग्रेस–एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ ।
जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ
त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो, एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो । भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो, अर्को समूह डरायो । बाँसबारीदेखि बाल मन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्तिसन्तुलन नै खलबलिएजस्तो भयो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो । जनतालाई मेरो अपिल छ, जाग्नुस् र तपाईंहरूले पनि अब आफ्नो शक्ति देखाउनुस् । जनताले आफ्नो शक्ति देखाउनुभएन भने देशको पूूरै शासन फेरि माफियाहरूकै अधीनमा हुनेछ ।
संविधान मध्यरातमा च्यात्न खोज्दा सडकमा पलेटी कसेर बचाएको हो
मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ । तैपनि केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैँ सधैँ कमजोर हुने भएर हो, तर्सिरहनुभयो । आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो । ती साथीहरूलाई म यत्ति भन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन । उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूका जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।
कांग्रेस–एमालेले साना दललाई गर्भमै मार्न चाहेका छन्
कताकता तपाईंहरूले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्रको गन्ध आउँछ । तपाईंहरूको इच्छा ०४७ सालकै संविधानको वरिपरि फर्किने होला ।
अस्थिरताको कारण देखाएर तपाईंहरूले समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोज्नुभएको स्पष्ट देखिन्छ । केही पश्चिमी देशहरूको नक्कल गरेर नेपाललाई पनि दुईदलीय बनाउने कसरत गर्दै हुनुहुन्छ । ०४७ देखि ०६३ सालसम्म त त्यही प्रावधान थियो । स्थिरता थियो त त्यतिखेर ? ०४७ देखि ०६३ सालसम्म १६ वर्षमा १५ सरकार परिवर्तन गर्ने तपाईंहरू नै होइन ? आफ्ना अक्षमता र कमजोरीको दोष अब समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई दिन मिल्छ ?
नयाँ–पुराना जातीय, क्षेत्रीय दलहरूलाई मेरा केही प्रश्न छन् । जनमत, नागरिक उन्मुक्तिलगायत पार्टीलाई गर्भमै मार्न चाहेका छन् कांग्रेस–एमालेले । त्यो मञ्जुर छ तपाईंहरूलाई ? थारूले पनि पार्टी बनाउने भन्ने परेको छ उहाँहरूलाई । मधेशीले पनि पार्टी बनाउने भन्ने परेको छ उहाँहरूलाई । यो स्वीकार छ तपाईंलाई ? मेरा लागि तपाईंहरू लोकतन्त्रका सुन्दर फूल हुनुहुन्छ, कांग्रेस–एमालेका लागि अस्थिरताका कारक । यो हो सिद्धान्तको फरक । मलाई विश्वासको मत दिनोस्–नदिनोस्, केही छैन । तर, यत्ति भनिदिनोस्, तपाईंहरू कुन सिद्धान्तको पक्षमा उभिनुुहुन्छ ? तपाईं अस्थिरताको कारक हो कि लोकतन्त्रको फूल ?
प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुस्
तपाईंहरू मिल्नुस्, केही छैन । पहिलोपटक मिल्नुभएको पनि होइन, अन्तिमपटक मिल्नुहुने पनि होइन । तर, जनताका अधिकार खोस्ने विषय दिमागबाट निकाल्नुस् । अधिकार उपभोग गरिसकेको जनताका उपलब्धि खोस्न सजिलो हुँदैन । हिजो निदाएको सीमान्त वर्गमाथि जति शासन गर्नुभयो, त्यो गर्नुभयो । अब युद्ध, विद्रोह र आन्दोलनको भट्टीले त्यो वर्गलाई जगाएको मात्र छैन, राप र तापसहित इस्पात बनाइसकेको छ । उत्पीडित वर्ग, जाति र समुदायका हजारौँ जनताको ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई तपाईंहरू सजिलै खोस्न सक्नुहुने छैन । त्यो प्रयास भयो भने संसद् र सडकमा ठूलो प्रतिरोध हुनेछ । प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सीमान्त वर्ग र समुदायलाई जिस्क्याउने गल्ती नगर्नुहोस् । भुइँ मान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा आफ्नै आँखाले देखिसक्नुभएको छ । त्यही अवस्था फेरि ननिम्त्याउनुहोस् । क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै फेरि नजन्मिन पनि सक्छ । तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महँगो पर्न सक्छ ।
आफ्ना अक्षमता र कमजोरीको दोष समानुपातिक प्रणाली र समावेशितालाई दिन मिल्छ ?
राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ? ०४७ देखि ०६३ सालसम्म १६ वर्षमा १५ सरकार परिवर्तन गर्ने तपाईंहरू नै होइन ? आफ्ना अक्षमता र कमजोरीको दोष अब समानुपातिक प्रणाली र समावेशितालाई दिन मिल्छ ? प्रत्यक्ष निर्वाचित कार्यकारी, उत्पीडित वर्गको प्रतिनिधित्व बढाउने गरी संविधान संशोधनको एजेन्डामा बरु छलफल गर्न सकिन्छ ।
धोकामा परेँ
जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ । केही मान्छेहरू कुण्ठा र प्रतिशोधबाट कहिल्यै निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ । म लामा मीठा र भरोसापूर्ण संवादहरूबाट अलमल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । अनौठो त के भयो भने दुई दलको बीचमा १७ गते राति सहमति र हस्ताक्षर भइसकेपछि १८ गते बिहान आएर एमाले अध्यक्षले ‘भएकै छैन’ भन्नुभयो । मैले पत्रिका देखाउँदै ‘तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको फोटो आइसकेको छ, के कुरा गरेको’ भन्दा ‘पहिलेको फोटो रहेछ’ भन्नुभयो । ढाँट–छलको पनि एउटा सीमा हुन्छ नि ! अनि शेरबहादुरजीलाई फोन गरेर ‘एमाले अध्यक्षले त सहमति भएको छैन, तिनटा नेता बसेर टुंग्याउने हो भन्दै हुनुहुन्छ’ भनेर सोधेको त उहाँले ‘होइन, सहमति भइसक्यो, हस्ताक्षर भइसक्यो, म ढाँट्न जान्दिनँ, सरी । अब तिनटा बसेर के गर्ने ?’ भन्नुभयो । यस्तो तरिका अपनाउने ? मैले धोका पाए पनि नयाँ सत्तासमीकरणका साझेदारको आपसी अनुभव अप्रिय नहोस् र कसैमाथि धोका नहोस्, मेरो शुभकामना छ ।
खुला छलफल गरौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔँ
संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं । विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुनेछैन । हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरंकुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ ।
यसरी बढेको हो दलित र महिलाको प्रतिनिधित्व
तपाईंहरूलाई अहिले बाडुल्की लागिरहेको २०४७ सालको संविधानपछिका संसद्हरूको समावेशिता सम्झाऊँ म तपाईंहरूलाई ? २०४८ सालको आमनिर्वाचनपछिको संसद्मा दलितको प्रतिनिधित्व कति थियो ? ०.४८ प्रतिशत । जम्मा एकजना । २०५१ सालमा ? शून्य । २०५६ को आम निर्वाचनमा ? त्यहाँ पनि शून्य । विशेष गरी नेपाली कांग्रेस र नेकपा एमालेका दलित समुदायका माननीयहरूलाई म सोध्छु, त्यहीँ फर्कने हो अब हामी ? तयार हो तपाईंहरू ? साथीहरूलाई हेक्का रहोस्, ०६३ सालमा माओवादी अन्तरिम व्यवस्थापिकामा आएपछि दलितको प्रतिनिधित्व शून्यबाट सीधै ४.८६ प्रतिशत र १६ जनामा पुगेको हो । २०६४ को पहिलो संविधानसभामा जहाँ माओवादी सबैभन्दा ठूलो राजनीतिक दल थियो, दलित प्रतिनिधित्व इतिहासमै अहिलेसम्मको सबैभन्दा धेरै ८.४८ प्रतिशत अर्थात् ५१ जना पुग्यो । २०४८ सालको तपाईंहरूको पवित्र संसद्मा महिलाको प्रतिनिधित्व कति थियो ? जम्मा ३.९ प्रतिशत । २०५१ को आमनिर्वाचनमा त अझ घटेर ३.४९ प्रतिशत पुग्यो । सबैभन्दा सुधारिएको २०५६ को प्रतिनिधिसभामा पनि महिलाको प्रतिनिधित्व जम्मा ५.८५ प्रतिशत थियो । आधा आकाश ओगट्ने महिलाको राज्य संरचनामा त्यत्ति मात्रै हुनुपर्ने हो हिस्सेदारी ? २०६३ सालको अन्तरिम व्यवस्थापिकामा जब माओवादीको प्रवेश भयो, महिलाको प्रतिनिधित्व ५.८५ प्रतिशतको दयनीय रेकर्ड तोडेर २८.९५ प्रतिशत पुग्यो । २०६४ को पहिलो संविधानसभामा महिलाको प्रतिनिधित्व ३३.७८ थियो, दोस्रो संविधानसभामा २९.२८ प्रतिशत । नयाँ संविधानले संघ र प्रदेशमा एकतिहाइ र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित ग¥यो । त्यसपछि २०७४ सालको प्रतिनिधिसभामा ३२.७ र अहिले ३३.१० प्रतिशत महिला प्रतिनिधित्व छ । प्रदेश सभामा महिला हिस्सेदारी ३६.३६ प्रतिशत छ । राज्यका हरेक तहमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने गरी संविधान संशोधन गर्ने आँट गरौँ । नयाँ पत्रिकाबाट
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।