लामिछानेको रिहाइका लागि ७७ जिल्लामै ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी

लामिछानेको रिहाइका लागि ७७ जिल्लामै ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी

काठमाडौं । सहकारीको बचत ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेको रिहाइका लागि दबाब दिन रास्वपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ। पार्टी केन्द्रीय सचिवालयले शनिबार राति निर्देशन पठाउँदै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन निर्देशन दिएको हो।

‘जिल्लामा हुनुभएका साथीहरूले सम्बन्धित सिडिओलाई ज्ञापनपत्र बुझाउने भन्ने कुरा छलफल भइराखेको छ। त्यसका लागि जिल्लामा भएका साथीहरूलाई परिचालन गरेर तयारी अवस्थामा रहनु भन्नुपर्छ। तर यसको लागि पोखरा आउन छोडेर जिल्लामा बस्नु चाहिँ भएन,’ तहगत समितिहरूलाई पठाइएको सन्देशमा भनिएको छ।

ज्ञापनपत्र बुझाउन जाँदा जिल्लामा सम्भावना भएका सबैलाई खबर गर्ने, कुनै एक स्थानमा भेटघाट हुने, ज्ञापनपत्र बुझाउनको लागि सिडिओ (प्रमुख जिल्ला अधिकारी) वा सिडिओ नभए सहायक सिडिओको समय लिने, ज्ञापनपत्र बुझाउन जाँदैछौं भनेर मिडियाहरूलाई पनि साथै लाने, ज्ञापन पत्र बुझाउन सबैजना तयार भइसकेपछि ज्ञापनपत्र पढेर सुनाउने र सिडिओलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने र त्यसपछाडि छोटो अनौपचारिक कुरा गरेर सिडिओसँग बिदा हुने भनेर पनि सचिवालयले सूचित गरेको छ।

यसैबीच रास्वपाले प्रत्येक जिल्लाबाट सय—सय जना नेता कार्यकर्ता पोखरा उतार्न आन्तरिक निर्देशन दिएको छ।

एसइईको नतिजा सुधारमा जुट्यो भरतपुर महानगर, विद्यालयले तोके लक्ष्य

 चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् ।  पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग २८ बुँदे कार्यसम्पादन करार गर्दै महानगरले कक्षा ८ र एसईईको नतिजा  सुधार्ने प्रतिबद्धता लिएको हो ।  जसरी अन्य व्यापारिक कम्पनी या संघसंस्थाले आगामी वर्षका लागि लक्षित उपलब्धि निर्धारण गर्छन् त्यसरी नै महानगरले विद्यालयहरुसँग सिकाइ उपलब्धिको लक्ष्य वा टार्गेट निर्धारण गरिदिएको हो । लक्ष्य मात्रै निर्धारण गरिएको छैन महानगरले लक्ष्य पूरा गर्नका लागि विद्यालयहरुसँग कार्ययोजना पनि मागेको छ ।  महानगरले विद्यालयका प्रअहरुसँग आगामी वर्षको लक्षित सिकाइ उपलब्धिको प्रतिवद्धता लिएसँगै प्रअ र विद्यालयहरुले फेरि शिक्षकहरुसँग पनि त्यस्तै खालको प्रतिवद्धता लिएका छन् । फेरि शिक्षकहरुले आफ्ना विद्यार्थीहरुसँग नतिजा सुधार्ने त्यस्तै खालको लिखित सम्झौता गरेका छन् ।  गतवर्षको कक्षा ८ को वार्षिक परीक्षा र एसईईमा कति नतिजा थियो, अहिले कति छ र अब कति बनाउने हो ? विद्यालयहरुलाई सहभागी विद्यार्थी सङ्ख्याका आधारमा लक्ष्य निर्धारण गर्न लगाइएको छ । अब हरेक परीक्षाको नतिजा पछि लक्ष्य पूरा भए नभएको विद्यालयमै समीक्षा हुने महानगरको शैक्षिक प्रशासन  महाशाखा प्रमुख सुवास आचार्यले जानकारी दिए ।  लक्ष्य पूरा नभएमा किन पूरा नभएको हो ? कार्यायोजना कार्यान्वयनमा कहाँनेर समस्या भयो त्यसबारे महानगरले सुझाव पनि दिने गरेको छ । महानगरले सहयोग गर्नुपर्ने कुरा भए बुँदागत रुपमा मागेर सहयोग गर्ने पनि गरिएको छ ।  विद्यालयमा भर्ना भएर पढिरहेका विद्यार्थीहरुको नतिजा प्रति विद्यालयहरुलाई जिम्मेवार बनाउनका लागि कार्यसम्पादन करार गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख आचार्यले जानकारी दिए । विद्यालयहरुको आगामी वर्षको नतिजा सुधारको लक्ष्य महानगर आफैले तोकिदिएको भने होइन । विद्यालयहरु आफैले आफ्नो वस्तुस्थिति मूल्यांकन र शिक्षक विद्यार्थीहरुसँग छलफल गरेर लक्ष्य निर्धारण गरेका हुन् । कतिपय विद्यालयहरुले पछि आएर पनि तोकिएको लक्ष्य  बढाउने पनि गरेका आचार्यले जानकारी दिए ।  शैक्षिक प्रशासन महाशाखाले महानगरका नगरप्रमुख र उपप्रमुखकै उपस्थितिमा औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रअहरुसँग तीनपन्ने २८ बुँदे कार्यसम्पादन करार गरेको हो । विद्यालयहरुसँग कार्ययोजना सहित २०८१ को कक्षा ८ को अन्तिम परीक्षा र एसईईमा कति नतिजा पुर्याउन सक्नुहुन्छ भनेर लक्ष्य मागिएको थियो । हरेक त्रैमासिक परीक्षा पछि निर्धारित लक्ष्य, नतिजा र कार्ययोजनाबारे समीक्षा गर्ने गरिएको महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।  नतिजामा सुधार नआएसम्म भवन राम्रो बनाउँदैमा, सबै विद्यार्थी भर्ना गर्दैमा शिक्षा सुध्रिदैन महाशाखा प्रमुख आचार्यले भने, आएका विद्यार्थीले के गरेर गए भन्ने कुरा महत्वपूर्ण हो ।  कक्षा ८मा महानगरले प्रश्नपत्र मात्रै बनाएर पठाउँदा नतिजा ९२–९४ प्रतिशत छ । ९ को र ११ कक्षाको पनि शतप्रतिशत नतिजा छ । १० र १२ कक्षामा मात्रै किन फेल हुन्छन् त विद्यार्थी ? आचार्यले प्रश्न गरे, आफैले प्रश्नपत्र बनाउने र परीक्षण गर्दा राम्रो हुने, अर्कैले गर्दा नराम्रो नतिजा आउने भएपछि हाम्रा शिक्षकमा कहीँ न कहीँ समस्या देखियो ।  हाम्रो ५० प्रतिशत बढी शिक्षक दरबन्दी कक्षा ५ सम्मको छ । तर उनीहरुको जवाफदेहिता कहीँ कतै छैन । कक्षा ५ देखि नै शिक्षकलाई नतिजाप्रति उत्तरदायी बनाउँदै लगे मात्रै माथिल्ला कक्षाको नतिजा सुध्रने आचार्य बताउँछन् ।  कक्षा ५ सम्मका शिक्षकलाई न राम्रो गर्नेलाई प्रोत्साहित गर्न सकियो न नराम्रो गर्नेलाई कारवाही ? अब सुधारको सुरुवात तल्लो तहबाटै हुनुपर्नेमा उनको जोड देखिन्छ । कक्षा ५ को अन्तिम परीक्षा पनि पालिकास्तरमा लिने वातावरण भए माथिल्ला तहका नतिजामा सुधार आउने उनको विश्वास देखिन्छ ।  शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरुले आगामी वर्षका लागि तय गरेको कक्षा ८ र एसईईको लक्ष्य सबैले देखिनेगरी भित्तामा टाँसिदिएको छ । हरेक आगन्तुकले सजिलै विदालयहरुको यो वर्षको नतिजा र आगामी वर्ष विद्यालयले ल्याउन प्रतिबद्धता जनाएको लक्ष्य सजिलै देख्छन् ।  अझ महानगरले विद्यालयहरुसँग नतिजा सुधारको प्रतिवद्धता मात्रै जनाएको छैन त्यसका लागि र्शक्षिक सामग्री पनि सहयोग गर्ने गरेको छ । भर्खरै सोल्टी होटर लिमिटेडको सहयोग र मातृ नेपालसँगको सहकार्यमा २० विद्यालयहरुलाई मातृका डिजिटल सिकाइ सामग्री पनि वितरण गरेको छ ।   

चिनियाँ नेता छेन्ले भेटे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गांग नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटमा प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारण रहेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । चिनियाँ नेता छेन्‌ले नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताउनुभयो। यसअघि छेन्‌ नेतृत्वको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै गरेको थियो ।

लामिछानेलाई आज अदालतमा उपस्थित गराइने

पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उहाँलाई स्थलमार्ग हुँदै शनिवार बिहान पौन ३ बजे पोखरा ल्याइएको थियो ।  

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौं ।अहिले देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यसैगरी, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ६ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ३१ मिनेटमा हुनेछ ।

लोकप्रिय