जापानी इन्सेफ्लाइटिसको जोखिम बढ्दो

वालवालिकाहरु उच्च जोखिममा

जापानी इन्सेफ्लाइटिसको जोखिम बढ्दो

यतिबेला लामखुट्टेको टोकाइबाट सर्ने जापानी इन्सेफलाइटिसको जोखिम बढेको छ, जसबाट बालबालिका उच्च जोखिममा छन्।
सन् २०२५ मा नेपालमा जापानी इन्सेफ्लाइटिसबाट ३ जनाको मृत्यु भएको छ, र यो रोग तराई र ग्रामीण क्षेत्रमा बढी देखिएको छ।
यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ।
काठमाडौँ । मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगहरूको जोखिम बढेको छ । यस्तोमा अहिले जापानी इन्सेफलाइटिस जेई संक्रमणको उच्च जोखिममा बालबालिका परेका छन् । 

बालबालिकासँगै कृषि पेसामा आबद्ध मानिस, धानखेत, सुँगुर तथा हाँस पालन क्षेत्र नजिक बसोबास गर्नेहरू पनि यस रोगको जोखिम परिरहेका चिकित्सकहरू सुनाउँछन् । एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो रोगको उच्च जोखिममा छन् । सन् २०२५ मै नेपालमा जापानी इन्सेफ्लाइटिसबाट युवा र ज्येष्ठ नागरिक गरी ३ जनाको ज्यान गएको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार ६८१ जनालाई परीक्षण गर्दा ३४ जना संक्रमित भएका थिए । 

मस्तिष्कमा गम्भीर असर पुर्‍याउने यो रोगको खतरा विशेषगरी नेपालको तराई र ग्रामीण क्षेत्रमा देखिएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर अभियान गौतम बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत वर्ष ९५५ जना शङ्कास्पद बिरामीको परीक्षण गर्दा ८६ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको थियो, जसमध्ये २५ जनाको मृत्यु भएको थियो ।  

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० नेपालकी अधिकृत सोनिया भगत यो रोग ‘क्युलेक्स’ प्रजातिको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरल भएको बताउँछिन् । ‘यो रोग मानिसबाट मानिसमा भने सर्दैन । विशेषगरी धानखेती हुने, सुँगुर तथा हाँसपालन गरिने ठाउँहरूमा बढी देखिने गर्छ,’ उनले भनिन् । 

जापानी इन्सेफ्लाइटिस भाइरसका कारणले हुने एक प्रकारको गम्भीर मस्तिष्क सङ्क्रमण भएको प्रमुख गौतमले बताए । उनका अनुसार विशेषगरी धानखेत, दलदले जमिन र पानी जम्ने ठाउँहरूमा पाइने ‘क्युलेक्स’ जातको लामखुट्टेले यो रोग फैलाउँछ । यो लामखुट्टेले संक्रमित सुँगुर, बंगुर वा जंगली चराहरूलाई टोकेपछि मानिसलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

गौतमले भने, ‘यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन । तर, समयमै उपचार नपाएमा यसले गम्भीर रूप लिन सक्छ र बिरामीको ज्यान समेत जान सक्छ ।’ एक तंथ्याकअनुसार गम्भीर अवस्थामा पुगेका बिरामीमध्ये ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ ।

विश्वमा जापानी इन्सेफ्लाइटिसका केसहरू दक्षिण एसियाली क्षेत्रमा बढी देखिन्छन् । नेपालको छिमेकी राष्ट्रहरूमा पनि यसको प्रभाव बढी छ । स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा पहिलो पटक सन् १९७८ मा जापानी इन्सेफलाइटिस देखिएको थियो । सन् १९९८ देखि २००८ सम्म नेपालमा ११ हजार ५९१ बिरामी भएका थिए । सन् २०१४–१५ मा २२ सयमा यस्तो सङ्क्रमण भएको थियो ।   

यस्तै नेपालमा सन् २००५–२००६ बाट यसको खोप कार्यक्रम सुरु भएको हो । सुरुमा ३१ जिल्लामा यो कार्यक्रम लागु गरिएको थियो, जसमध्ये तराई र भित्री तराईका जिल्लाहरूमा बढी केन्द्रित गरिएका थिए । 

राष्ट्रिय खोपका रूपमा १२ महिनाको बच्चालाई जापानी इन्सेफ्लाइटिसको खोप दिइने गरिन्छ । यद्यपि ५ वर्षसम्म पनि लगाइदिन मिल्ने विज्ञहरू बताउँछन् ।

यो गम्भीर रोग भएकाले यसले मृत्यु वा दीर्घकालीन अपाङ्गतासमेत गराउन सक्ने चिकित्सकहरू बताउँछन् । लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य जानुपर्ने डा. भगतको भनाइ छ ।  उनका अनुसार इन्सेफ्लाइटिसले मस्तिष्कको कुनै पनि प्रणालीलाई असर गर्न सक्छ । यसको सङ्क्रमण हुँदा आँखा नदेख्ने, कान नसुन्ने, स्वाद हराउने वा हातखुट्टा नचल्ने हुन सक्छ । यो रोग बच्चादेखि वृद्धसम्म सबैलाई लाग्न सक्ने डा। गौतमले बताए । भने, ‘बच्चाहरूमा बढी देखिन्छ, किनभने उनीहरूको इम्युनिटी कम हुन्छ ।’

डब्ल्यूएचओका अनुसार २५० जनामा यो सङ्क्रमण हुँदा एक जनामा घातक समस्या देखिन्छ । र घातक समस्या देखिएका तीन जनामध्ये एकको मृत्यु पनि हुने गर्छ । यस रोगका लक्षणहरू व्यक्तिअनुसार फरक–फरक हुन सक्छन् । धेरैजसो सङ्क्रमितमा कुनै लक्षण नदेखिने पनि सक्छ । लक्षणहरू

–अचानक उच्च ज्वरो आउनु

–धेरै टाउको दुख्नु

–वान्ता हुनु

–मानसिक स्थितिमा परिवर्तन आउनु ९जस्तैः अर्धचेत वा अचेत हुनु०

–कम्पन आउनु

–पछिल्लो अवस्था

कसरी बच्ने

लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने 

घरबाहिर निस्कँदा लामो बाहुला भएको कपडा लगाउने 

घरवरिपरि पानी जम्न नदिने र सफा राख्ने 

लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने  

रोल्पाको जेलवाङमा निःशुल्क संयुक्त स्वास्थ्य शिविर, ३३२ जना लाभान्वित

खुमबहादुर सुनार रोल्पा । “स्वास्थ्य नै ठूलो धन हो” भन्ने नारासहित रोल्पाको दुर्गम क्षेत्र जेलवाङमा एकदिने निःशुल्क संयुक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। विकट भेगका गरिब, असहाय तथा स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै शनिबार शिविर सञ्चालन गरिएको हो। नेपाली सेनाको सूर्यदल गण, लिबाङ ब्यारेकको अगुवाइमा स्थानीय तह तथा विभिन्न स्वास्थ्य संस्थाहरूको समन्वयमा शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। दुर्गम भौगोलिक अवस्था, विशेषज्ञ चिकित्सकको अभाव तथा सामान्य उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यतालाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको हो। सुनछहरी गाउँपालिका–७, जेलवाङमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सेवाग्राहीको भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको थियो। शिविरमा नेपाली सेनाको सूर्यदल गण, नं. १९ फि.ए. गुल्म दाङ, सुनछहरी गाउँपालिका, वडा नं. ७ कार्यालय, रोल्पा अस्पताल रेउघा, स्वास्थ्य कार्यालय रोल्पा, स्वास्थ्य चौकी जेलवाङ, नेपाल रेडक्रस सोसाइटी रोल्पा, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र लिबाङ तथा अनमोल डेण्टल क्लिनिक लिबाङको सहभागिता रहेको थियो। विशेषज्ञ चिकित्सकद्वारा आँखा, दाँत, स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। साथै मधुमेह परीक्षण, पाठेघर जाँच लगायत अन्य स्वास्थ्य सेवाहरू पनि उपलब्ध गराइएको थियो। परीक्षणपछि आवश्यक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ। सूर्यदल गणका प्रमुख सेनानी ईश्वर थापाले नेपाली सेना सधैँ जनताको सुख–दुःखमा साथमा रहने उल्लेख गर्दै दुर्गम क्षेत्रमा घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउनु नै शिविरको उद्देश्य रहेको बताए। स्वास्थ्य सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो। शिविरबाट कुल ३३२ जनाले सेवा लिएका छन्। दन्त सेवातर्फ ६१ जनाको परीक्षण गरिएकोमा २२ जनाको दाँत निकालिएको छ। आँखासम्बन्धी सेवामा २४४ जनाले उपचार पाएका छन् भने १६ जनामा मोतिविन्दु परीक्षण गरिएको छ। सामान्य स्वास्थ्य परीक्षणअन्तर्गत २३२ जनाले सेवा लिएका छन्। पाठेघर जाँच ५५ जना र सुगर परीक्षण ४० जनामा गरिएको छ। शिविरमा पुरुष ११५, महिला १६८ र बालबालिका ३१ जना सहभागी भएका थिए, जसले महिला तथा बालबालिकाको उल्लेखनीय सहभागिता देखाएको छ। यसैबीच, जनचेतनामूलक तालिमअन्तर्गत फायर फाइटिङ, बाढी–पहिरो तथा खोज तथा उद्धारसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो। उक्त तालिममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीय गरी करिब ७५ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। करिब ३५० जनाको समग्र सहभागिता रहेको आयोजकले जनाएको छ। बहुपक्षीय सहकार्यमा सम्पन्न शिविरले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ। यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीय सरोकारवालाहरूले औँल्याएका छन्।

उदयपुरमा झन्डै तीन करोडमा निर्माण भएको कोभिड अस्पताल अलपत्र

उदयपुर । कोभिड–१९ महामारीका कठिन समयमा उदयपुरका सयौँ नागरिकको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको चौदण्डीगढी नगरपालिका–६ साताधारेस्थित कोभिड अस्पताल अहिले प्रयोगविहीन बन्दै गएको छ । पर्याप्त पूर्वाधार, उपकरण र संरचना हुँदाहुँदै पनि सञ्चालन अभावका कारण अस्पताल लथालिंग अवस्थामा पुगेको हो ।  स्विजरल्याण्ड सरकारको एक करोड ५० लाख रुपैयाँ र उदयपुरका आठ स्थानीय तहको एक करोड २० लाख रुपैयाँ गरी कुल २ करोड ७० लाख लागतमा निर्माण गरिएको अस्पतालमा करिब १ हजार १ सय संक्रमितको सफल उपचार गरिएको थियो ।  निर्माणपछि २०७७ पुस ६ गते तत्कालीन कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्विजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरले संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा ल्याएका थिए।अस्पतालमा एक पोर्टेबल भेन्टिलेटर, ४० बेड तथा साना–ठूला गरी ३० अक्सिजन सिलिन्डरलगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध छन् । तर महामारी नियन्त्रणमा आएपछि यसको वैकल्पिक प्रयोगबारे स्पष्ट योजना नबन्दा अस्पताल प्रयोगविहीन बन्दै गएको हो । हाल अस्पताल परिसर झाडीले ढाकिन थालेको छ भने संरचना संरक्षण अभावमा क्रमशः जीर्ण बन्दै जाने जोखिम बढेको छ । हाल चौदण्डीगढी नगरपालिकाले वर्षमा एक पटक सञ्चालन गर्ने आँखा शिविर बाहेक यहाँ नियमित स्वास्थ्य सेवा सञ्चालन हुन सकेको छैन । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय अभावका कारण अस्पताललाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने पहल नहुनु दुःखद भएको स्थानीयवासीको भनाइ छ । मदन भण्डारी लोकमार्गसँग जोडिएको यस अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न सके दैनिकजसो हुने सडक दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा उपलब्ध गराउन सकिने स्वास्थ्यकर्मीहरू बताउँछन् । तर आवश्यक नीति, बजेट र निर्णय अभावले यस्तो सम्भावना व्यवहारमा आउन सकेको छैन । महामारीका बेला वरदान सावित भएको अस्पताल आज प्रयोगविहीन बन्नु सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोगमाथि गम्भीर प्रश्न उठेको स्थानीय अगुवा अन्जनी अधिकारी बताउँछन् । उनले भने, ‘समयमै आवश्यक निर्णय गरी अस्पताललाई नियमित स्वास्थ्य सेवासँग जोड्न नसकिए करोडौँ रुपैयाँको लगानी पूर्ण रूपमा नष्ट हुने खतरा बढ्दै गएको छ ।’ उनले स्थानीयवासीले स्पष्ट जिम्मेवारी निर्धारण गर्दै अस्पताललाई ट्रमा सेन्टर वा बहुउद्देश्यीय स्वास्थ्य केन्द्रका रूपमा तत्काल सञ्चालनमा ल्याउन माग गरेका पनि गरेका छन् ।   चौदण्डीगढी नगरपालिकाकी उपमेयर मणीकादेवी दुलालले अहिले पालिकाकाले त्यही अस्पतालबाट आँखा शिविर लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको र अस्पतालमा भएका उपकरणहरुलाई प्रयोग गरेर दैनिक रुपमा सञ्चालनको तयारी गरिरहेको जानकारी दिइन् । उनले भनिन्, ‘हामीले समय सयमा नगरप्रहरी परिचालन गरेर झाण्डीहरु पनि फडानी गरिरहेका छौँ । अस्पतालको जग्गामा विवाद छ । टुंग्याउनु पर्ने छ । त्यो नगरपालिकाको स्थायी संचरना हो । त्यसलाई हामीले जीर्ण बन्न दिने छैनौँ ।’  

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने सूचना जारी गरेको हो । त्रिवि कार्यकारी परिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पताल प्रशासनले यो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ । यद्यपि बिरामीको सेवालाई ध्यान दिई ओपीडी (बहिरङ) सेवा र शल्यक्रिया सेवा भने शुक्रबार पूरै दिन र अन्य दिन पनि नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।

‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ — ‘स्वस्थ मुख, सुखी जीवन’ नारासहित आज विश्व मुख स्वास्थ्य दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यो दिवस हरेक वर्ष मार्च २० तारिखमा मनाइन्छ, जसको मुख्य उद्देश्य मुख स्वास्थ्यको महत्त्वबारे जनचेतना फैलाउनु हो। विश्व स्वास्थ्य सङ्गठन तथा दन्त विशेषज्ञहरूले नियमित दाँत सफा गर्ने, समय-समयमा दाँत जाँच गराउने, अत्यधिक चिनी तथा प्रशोधित खानाबाट बच्ने सल्लाह दिएका छन्। उनीहरूका अनुसार स्वस्थ मुख नै समग्र स्वस्थ जीवनको आधार हो। विश्व दन्त महासङ्घ (FDI) को आह्वानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल दन्त चिकित्सक सङ्घ र विभिन्न स्वयंसेवी संस्थाहरूले आज देशभर दन्त स्वास्थ्य शिविर, कार्यशाला, चेतनामूलक अभियान तथा समुदायस्तरीय कार्यक्रम सञ्चालन गर्दैछन्। यो दिवस सन् २०१३ देखि मार्च २० मा मनाउन थालिएको हो। यस वर्षको विश्वव्यापी अभियान "A Happy Mouth is... A Happy Life" नारासहित जीवनका हरेक चरणमा मुख स्वास्थ्यको हेरचाह गर्नुपर्ने सन्देश दिन केन्द्रित छ। मुख स्वास्थ्य राम्रो राख्न दैनिक दुई पटक ब्रस गर्ने, फ्लस प्रयोग गर्ने र स्वस्थ आहार अपनाउने जस्ता सरल अभ्यासहरूले ठूलो फरक पार्न सक्छ।

लोकप्रिय