सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सुरू

सहकारीले बैंकभन्दा ठूलो कारोबार गर्दा समस्या आयोः मन्त्री अधिकारी

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरुले बैंकभन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गर्दा समस्या सिर्जना भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री अधिकारीले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताएका हुन् । 


जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाप गर्दै काम भइरहेको धारणा उनको छ । ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’, उनले भने ।

सदस्यले पनि सबै कुराको जिम्मा सञ्चालकलाई दिन नहुने उनको धारणा छ । ‘शिक्षक, डाक्टर तथा वकिल सबै यो क्षेत्रमा छन्, सर्वप्रथम मेरो कर्तव्य के हो बुझ्नुपर्छ, त्यो बुझ्न सकियो भने यो समस्या आउँदैन’, मन्त्री अधिकारीले भने ।

लेखा सुपरिवेक्षण समितिमा पनि खोट रहेको उनको भनाइ छ । अहिलेको समस्या समाधान गर्नका लागि अहिलेदेखि नै लाग्न आवश्यक रहेको उनले बताए । 
त्यस्तै कार्यक्रममा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमण्ी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको धारणा राखे । उनले सहकारी अभियान भूमरीमा परेको बताए ।

‘सहकारीहरुले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्म समीक्षा गनेए बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने । 

सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ। सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरुबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनको भनाइ छ।


‘अहिले सबैलाई समस्या छैन, आफूले आफूप्रति विश्वास गरौं, यो गम्भीर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्छ, त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्छ, धेरै आन्तरिक समस्या छन्’, सचिव दुवाडीले भने ।

‘सहकारीमा मुद्दती निक्षेप राख्ने छैन, तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्याऔं, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छन्?’, उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को?’

यस्तै, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीको खोल ओडेर बदमासी गर्नेलाई कानुनी कारबाही गरेर छाड्ने बताए । उनले सहकारीको प्रभावकारी नियमनका लागि  बैशाख मसान्तभित्रै ऐनको मस्यौदा सार्वजनिक गर्ने बताउँदै अब सहकारी देखाएर गलत गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका हुन् । 

उनले यस्ता कार्यक्रमले सहकारीको वर्तमान सकसलाई समाधान गर्न भूमिका खेल्ने उनको भनाइ छ । ‘जनताको बचत जे सर्तमा राखेका थियौं, सोही शर्त बमोजिम फिर्ता गर्नु पर्ने हाम्रो दायित्व हो, त्यो दायित्व राज्यको पनि हो, बचत फिर्ता गर्न सकेनौं भने ठूलो समस्या सिर्जना हुन्छ, सहकारीप्रतिको विश्वास टुट्छ, त्यसैले बचत फिर्ताका लागि पहल गर्नुपर्छ,’ उनले भने । 


अहिले सहकारीमा प्रणालीगत समस्या र अर्को गैर प्रणाली समस्या रहेको बताउँदै सहकारी ऐन र मूल्य मान्यताका अनुसार सहकारीमा समस्या नआउनु पर्ने भएपनि कसरी यो समस्या आयो भन्ने तर्फ केन्द्रित भएर अगाडि बढ्नु पर्ने बताए । 

‘सबैले मम गर्नु पर्ने हुन्छ, नियामक निकायको कमजोरीले पनि भन्ने गरिन्छ, त्यसमा केही सत्यता भए पनि समस्या सिर्जना कसरी भयो भन्ने विषयको मनन् गर्नुपर्छ,’ उनले भने । 


त्यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा सदस्यले पनि आफ्नो भूमिका निर्वाह नगर्दा पनि सस्या सिर्जना हुनुको एउटा कारण रहेको बताइन् । उनले सहकारीसँगै सहकारीका सदस्यले पनि सहकारप्रति अनरसिप महसुस गर्नु पर्ने धारणा राखिन् ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले आफू बिरामी भएर भारत गएको समयमा भागेको भनेर गलत प्रचार भएको गुनासो गरे । उनले आफ्नो महत्वपूर्ण समय सहकारीमै बिताएको र सहकारीको समस्या समाधानका लागि काम गरिरहने धारणा राख्दै आफूमाथि राजनीति भएको पनि जानकारी गराए । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले यो गोष्ठीले सहकारीको स्वनियमनका लागि प्रभावकारी प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले सहकारी लोकन्तत्रको पाठशाला भएको र लेखासुपरिवेक्षण समिति सहकारीको आँखा रुपमा हेरिएको चित्रण गरे ।

‘सहकारीका सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गराउनका लागि सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण हुन्छ, त्यसका लागि पनि यो गोष्ठी आयोजना गरिएको हो, यो गोष्ठीले सहकारीको लेखा सुपरिवेक्षण समितिलाई थप बलियो बनाउन भूमिका खेल्नेछ’, उनले भने ।  अहिले सहकारी क्षेत्रले समस्या भोगिरहेको बताउँदै यो अवस्थामा सबैले हातेमालो गरेर जुझारुपनका साथ अगाडि बढ्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो उनको भनाइ छ । सीप सिकाइलाई खर्चको रुपमा लिन नहुने पनि उनको भनाइ छ।

‘म उपचारका लागि भारत गएको थिएँ । तर, मलाई भागेको भनेर चर्चा भयो, जुन दुखद हो, आफू आवद्ध राजनीतिक दलबाट पनि असहयोग हुने, आफ्नै साथीहरुले गलत अभ्यास गरेर राजनीति गर्ने रहेछन्,’ उनले गुनासो गर्दै भने । उनले वर्तमान सहकारी समस्या समाधानका लागि सबैले पहल गर्नु पर्ने धारणा राखे । 

यस्तै, उद्घाटन सत्रको समापन कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पृथक ढंगले यो कार्यक्रमको आयोजना गरेको बताए । उनले यो गोष्ठीले सहकारीको वर्तमान समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यो वर्ष सहकारी अभियानका लागि सुखद् वर्षका रुपमा चिनाउने किसिमले काम गर्ने धारणा राखे ।
 

मेयर कप फुटबल : नारायणी नमूना र अमर मावि विजयी, किरण अमरजंग र ग्रामोदयको बराबरी

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।  शारदानगरमा भएको समूह डी को खेलमा नारायणी नमूना मावि विजयी भएको छ । नारायणी नमूनाले सनराईज ईंग्लिस बोर्डिङविरुद्ध ३(१ को सहज जित हात पारेको हो । नारायणी नमूनाको जितमा उमेश कुमार महतो र सन्जित न्यौपानेले गोल गरे । उसले एक उपहार गोल पाएको थियो । सनराईजका मन्जित क्षेत्रीले एक गोल गरे ।  खेलमा अग्रता भने सनराईजले लिएको थियो । सातौं मिनेटमा गोल गर्दै मन्जितले सनराईजलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा उमेशले नारायणी नमूनाका लागि बराबरी गोल फर्काए । ३७ औं मिनेटमा उपहार गोलमा नारायणी नमूनाले अग्रता लियो । ४९ औं मिनेटमा रन्जितले गोल गरेपछि नारायणी नमूना ३(१ ले विजयी भयो । नारायणी नमूनाका सुमन न्यौपाने म्यान अफ दि म्याच भए ।  यो जितपछि नारायणी नमूना समूह डि को शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको सनराईज अंकबिहिन हुँदै तालिकाको पुछारमा झरेको छ ।  उता कृष्णपुरको मैदानमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले वाल्मिकी शिक्षा सदनलाई ४(० ले पराजित गरेको हो । अमर माविको जितमा रितेश सुनारले दुई तथा राहुल सुनार र बसन्त कुमालले एक(एक गोल गरे ।   रितेशले खेलको १५ र २६औं मिनेटमा गोल गरे । यस्तै राहुलले २९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २३ औं मिनेटमा बसन्तले गोल गरेपछि अमर मावि ४-० को फराकिलो अन्तरले विजयी भयो । बसन्त नै म्यान अफ दि म्याच भए । यो जितपछि अमर मावि दुई खेलबाट ६ अंकसहित समूह ई को शिर्ष स्थानमा कायम छ । उता वाल्मिकी भने समान खेलमा एक अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ  यस्तै पटिहानीमा भएको समूह एफ को खेलमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङले अंक बाँडेका छन् । दुबै टिमले २(२ गोलको बराबरी गर्दै एक-एक अंक बाँदेका हुन् । प्रतिस्पर्धात्मक खेलमा किरण अमरजंगका लागि समिर परियार र निशान सुनारले गोल गरे । ग्रामोदयका लागि विमल गौतम र निशान्त थापा मगरले गोल गरे ।  खेलको दोस्रो मिनेटमा नै समिरको गोलमा किरण अमरजंगले अग्रता लिएको थियो । तर नवौं मिनेटमा विमलले ग्रामोदयका लागि बराबरी गोल फर्काए । ४६ औं मिनेटमा निशानको गोलमा किरण अमरजंगले फेरि अग्रता लियो । तर खेलको अतिरिक्त समयमा ग्रामोदयका निशान्तले गोल गरेपछि दुबै टोली बराबरीमा रोकिए । बराबरीपछि किरण अमरजंगको समूह एफ मा दुई खेलबाट चार अंक भएको छ । किरण अमरजंग तालिकाको शिर्ष स्थानमा छ । ग्रामोदय भने समान खेलबाट दुई अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।  लिगमा आइतबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का होली भिजन र जनज्योति मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का दुर्गा शेषकान्त मावि र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा पटिहानीमा हिमालय दण्डपाणि मावि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक

काठमाडौं । साहित्यकार तथा संचारकर्मी आस्था केसीको जनयुद्धका चिठी नामक पुस्तक सार्वजनिक भएको छ। शनिवार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पुस्तक सार्वजनिक गरेका हुन्। १५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी आस्था केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरु संकलन गरेर।पुस्तकाकारमा प्रकाशन गरेकी हुन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भुमिगत जीवन बिताइन्। सोही समयमा सहकर्मी योद्धाहरु, घरपरिवार र नेतागणहरुबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन्।  जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको  अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौंतरी र घरका पत्र गरि १० भागमा केन्द्रीत गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन  जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने बताईएको छ।  पुस्तक बिमोचनमा बोल्दै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रम प्रचण्डले कालजयी कृतिका लागि आस्था केसीलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए।कार्यक्रम कर्णाली प्रदेशले आयोजना गरेको थियो। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।लेखक केसीको यस अगाडि उज्यालोको खोजी गजल संग्रह प्रकाशित छ।

सेयर बजारमा २.२६ प्रतिशतको वृद्धि, कारोबार सवा ५ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको छ।अघिल्लो कारोबार दिनको तुलनामा ४५.६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो। यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो। सबै क्षेत्रका सूचकहरु बढेका छन् ।बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। जीवन र निर्जीवन बीमा  सबैभन्दा धेरै बढे। आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो।हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो। माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो। पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ।

नो इफ, नो बट हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन्। आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ। हामी पनि सरकारमा सहभागी छौँ।हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन। मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन। विथआउट रिजर्भेसन हामी मत दिनेछौँ।’ उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए। त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए। ‘माग्न आए पनि, नआए पनि। भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ। किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भने। उनले अहिले राजनीतिक अवस्था जटिल भएको पनि बताए। उनले भने, ‘हामी सत्ताको साथमा छौँ। तर लामो साथ दिएका प्रतिपक्षीका साथीहरूलाई पनि हामीले बिचैमा छाडेर हिँड्न हुँदैन। के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ।’ सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ। उनले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नको पनि सराहना गरे।

लोकप्रिय