वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताएका छन् ।
 
नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताए। 

“विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौँ । तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन,” प्रधानमन्त्री प्रचण्डले भने, “विगतका अनुभवहरूबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ।”

व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताए। 

“दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माण लगायतका उपलब्धी प्राप्त गरेका छौँ।” 

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

“म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ।”

निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गरे। 

राष्ट्रपतिसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरिरहेका छन् ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास गएका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मत लिनेबारे विश्वासको मत फिर्ता भएको अवस्थामा निर्णय गर्ने मंगलबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ।

विश्वासको मत कायमै छ, तत्काल केही निर्णय लिन परेन : माओवादी केन्द्र

काठमाडौं ।नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक सम्पन्न भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चापछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटरमा पदाधिकारी बैठक बोलाएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सरकारलाई दिएको विश्वासको मत कायम रहेकाले तत्काललाई केही निर्णय नगर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई विश्वासको मत दिएका पार्टीले विश्वासको मत फिर्ता नलिएको अवस्थामा केही निर्णय गर्न नपर्ने राय पदाधिकारीले राखेका छन्  । सरकारप्रति विश्वासको मत रहेका कारण माओवादी तत्काललाई केही निर्णय नगरेको ती नेताले बताए । यद्यपी संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच गएराति सत्ता सहकार्यका लागि नयाँ समीकरण बनेको चर्चा चलेसँगै सरकारमा सहभागी अन्य दलसँग नयाँ परिस्थितिमा एकमत कायम गर्न  माओवादी केन्द्र र प्रधानमन्त्रीले छलफल गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने । आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे। पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा (ग्रेडवृद्धि)को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार पूरक परीक्षा असार २३ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।

लोकप्रिय