उपनिर्वाचनको उत्साहपूर्ण परिणामले ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
‘आजको बैठमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट संख्या र लोकप्रिय जनमत दुबै हिसाबले प्राप्त परिणामलाई उत्साहजन भएको निष्कर्ष निकालिएको छ’– बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो– ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ । भएभरका सबै दलहरु मिलेर गठबन्धन गर्दा पनि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरु लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौंको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रुपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । कीर्तिपुरमा दोस्रो भए पनि यसलाई जनता र कार्यकर्ताले जीतकै रुपमा लिएको उहाँले बताउनुभयो ।
‘विगतमा जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नसक्नुमा हाम्रो केही गल्ती कमजोरी भएकै हो, पार्टी र जनता दुबैको कुरा मिल्दै गएको छ’– उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीले पनि जनतासँग सम्बन्ध प्रगाढ बनाउन नसक्नुलाई कमजोरीको रुपमा लिंदै आफ्नो वर्गप्रति फर्कने अभियान सुरु गरेको छ भने जनताले पनि हाम्रो हितमा काम गर्ने पार्टी त माओवादी नै रहेछ भनेर पुनः बोध गर्न थालेका छन्, अहिले उपनिर्वाचनको सफलताको अर्थ पनि योसँगै जोडिएको छ ।’
पार्टीले केन्द्रीय कार्यालय र स्थायी समिति बैठकहुँदै देशब्यापी परामर्श बैठकमार्फत लिएको पहलकदमी र सबै नेता कार्यकर्ताहरु एकताबद्ध भएर खटिंदा नै उपनिर्वाचनबाट यो परिणाम प्राप्त भएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले भन्नुभयो– ‘यो उपनिर्वाचनले वृहत बामपंथी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनका लागि हामीलाई थप आधार दिएको छ । अब यही २७ गते स्थायी समिति र त्यसपछि केन्द्रीय समिति बैठक बस्दैछ, त्यहाँ पनि समीक्षा हुनेछ । जिल्ला र प्रदेशहरुबाट पनि समीक्षा रिपार्ट आइरहेका छन् । हाम्रो प्रारम्भिक समीक्षाले परिणामलाई उत्साहवर्धन भनेको छ ।’
बैठकले पार्टीका पालिका सम्मेलन र पालिकास्तरका खबरदारी सभाहरुलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । खबरदारी सभाका लागि केन्द्रीय नेताहरुलाई पालिकास्तरमा खटाउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ । तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । ‘हाम्रो अध्यक्षले स्पष्टरुपमा भनिरहनुभएको छ, अहिले हामी सरकार फेरबदलमा लाग्दैनौं बरु ८४ सम्म नै यही सरकार जाओस् भन्नेमा हाम्रो जोड छ’– उहाँले भन्नुभयो– ‘जसरी सरकारले सेवा प्रवाह र सुशासनको पक्षमा कमजोरी प्रस्तुति देखाइरहेको छ, यही बहानामा अराजकतावादीहरुले थप अस्थिरता निम्त्याउन नपाउन् भनेर पनि हाम्रो पार्टी ८४ सम्म यही सरकार जाओस् भन्ने चाहन्छ ।’
माओवादी केन्द्रले विद्युत प्राधिकरणमा सरकारले गरिहेको हस्तक्षेपको बिरोध गरेको छ । ‘जसरी प्राधिकरणले महसुस उठाउन जोड दिइरहेको छ, यसलाई रोक्न इतिहासमा कहिल्यै नभएको अनौठो गरी विद्युत प्राधिकरणमै मन्त्रीले कार्यकक्ष खोलेर प्राधिकरणका काममा अवरोध गर्ने काम भएको छ, यसमा हाम्रो सशक्त बिरोध हुनेछ’– प्रवक्ता सापकाटोले भन्नुभयो– ‘सरकारले बिचौलिया र भ्रष्टाचारीहरुलाई जोगाउने काम गरिरहेको छ, यसका विरुद्ध व्यवस्थित रुपमा खबरदारी गर्ने पार्टीले निर्णय गरेको छ ।’ आगामी स्थायी समिति र केन्द्रीय समिति बैठकमा विहंगम छलफल गरेर कार्यक्रमिकरुपमा नै अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
सीता दाहालको स्मृति दिवस : मानव सेवा आश्रममा सहयोग लिएर पुगे प्रचण्ड, खाना खुवाए
काठमाडौं । काठमाडौँ । पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्। उनी पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूसँग यो दिन समर्पण गरिएको बताए। अध्यक्ष प्रचण्डले आफ्नै हातले आश्रममा रहेका व्यक्तिहरूलाई भोजन वितरण गरे।त्यस अवसरमा उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराए। सो अवसरमा उनले आफू प्रधानमन्त्री रहँदा हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेको सन्दर्भ स्मरण गर्दै सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको बताए। मानवसेवा आश्रमको मानवता प्रवर्द्धनका कार्यले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा पाउँदै गएको बताए। स्मृति दिवसको दिन आश्रममा आश्रित २५० सहयोगापेक्षी सडकआश्रित मानवका लागि खाद्यान्न सामग्री र एक लाख रुपैयाँ नगद योगदान गरेका थिए। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार तथा मानवीय सेवाका लागि सातै प्रदेशका लागि सात वटा गाडी उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय गरिएको भए पनि त्यसको कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै पहल गर्ने आश्वासन दिए। कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रमको विगत, वर्तमान तथा आगामी योजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए। आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ। साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए। मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे।
संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।” अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याउनुभयो। “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्यौं। अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उहाँले स्पष्ट पार्नुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो। “वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,” उहाँले भन्नुभयो, “पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ।” उहाँले वाइसिएलसँग जनताका समस्या समाधान गर्ने संघर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। “युवा आन्दोलनको इतिहास जनताको समस्या समाधान गर्दै अघि बढेको हो,” उहाँले भन्नुभयो, “भित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो । त्यसमा नेतृत्व र विचारको रक्षामा वाइसिएल एकताबद्व भएर लाग्न जरूरी छ ” अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्गसंघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। “महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो। उहाँले वर्षायाम पछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिंदै त्यसपछि सुरु गरिने संगठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। वाइसिएलले जुजारु भूमिका खेल्ने गरी काम गर्नुपर्ने र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
कृषकहरूको समस्यामा सरकार गम्भीर बनोस् : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे। प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे । समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताए। धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिए । “सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अध्यक्ष प्रचण्डले भने ।”
संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गर्नुभएको हो। अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।” संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो। उहाँले थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।” अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ। “यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो। अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गर्नुभयो ।