पार्टी फुटाउने होइन, सुधार गर्ने समय होः हितमान शाक्य

पार्टी फुटाउने होइन, सुधार गर्ने समय होः हितमान शाक्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा नेता हितमान शाक्यले पार्टीको पछिल्लो विवादप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

शाक्यले अध्यक्ष प्रचण्डको मौखिक प्रतिवेदन भए पनि त्यसमा आधारित लिखित सन्दर्भ, टिप्पणी र समग्र विश्लेषणको खाका रहेको उल्लेख गर्दै पार्टीभित्र गम्भीर समीक्षा प्रक्रिया चलिरहेको बताए । उनले भने, ‘गल्ती स्वीकार्ने नेताको नाम प्रचण्ड नै हो ।’

शाक्यले पार्टीको कमजोरी जनताको माझमा खुलेर स्वीकार गर्ने नेतृत्व पुष्पकमल दाहाल  ‘प्रचण्ड’ भएको भन्दै अहिलेको बेला पार्टी कमजोर बनाउँदै बाहिरिने या विकल्प खोज्ने कार्य अनुचित हुने बताए । उनका अनुसार, ‘यो बेलामा गल्ती सुधार्ने हो, आत्मालोचना गरेर अघि बढ्ने हो, भाग्ने होइन । उत्तराधिकारी खोज्ने हतारो होइन ।’

उनले नेतृत्वको उत्तराधिकारी खोज्न हतार नगरिने धारणा राख्दै भने,  ‘उत्तराधिकारी खोजेर बनाइने कुरा होइन, यो समय सामूहिक नेतृत्व अभ्यास गर्ने समय हो । संस्थागत प्रक्रिया र प्रशिक्षणमार्फत नेतृत्व उत्पादन गर्नुपर्छ । ’

शाक्यले आफूले विगतमा पार्टीबाट छुट्टिएर गल्ती गरेको स्वीकार गर्दै भने,  ‘मैले पार्टी फुटाउनु गल्ती हो भनेर फर्किएको हुँ । अहिले सबैले मिलेर पार्टी पुनर्गठनमा भूमिका खेल्नुपर्छ ।”

खुला वातावरणमा बहस र सामूहिक निर्णय प्रक्रियाको वकालत गर्दै उनले भने,  ‘लोकतान्त्रिक केन्द्रवाद भनेको यही हो- सबैले आफ्नो धारणा राख्ने, बहस गर्ने, अन्तिम निर्णयमा एकमत हुने ।”

शाक्यले नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै पुराना कमजोरीहरूप्रति आलोचना सहने नैतिक आधार पनि विकास गर्नुपर्ने बताए । “भूकम्प बेला हाम्रो सरकारले काम गरेन भनेर अहिलेकै सरकारको गुणगान गर्नु सहि होइन,” उनले चेतावनी दिए ।

भिजिट भिसा प्रकरण: रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।  भिजिट भिसा प्रकरणमा संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिनको माग पूरा नभएको भन्दै दुवै दलले यो कदम चालेका हुन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए । रास्वपाकी सचेतक निशा डाँगीले सरकारले दोहोरो मापदण्ड अपनाएको आरोप लगाइन् । त्यस्तै, राप्रपाकी सांसद अनिसा नेपालीले भारत र चीनबीच लिपुलेक समेटिएको सम्झौताप्रति आपत्ति जनाउँदै भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाएसम्म सदन बहिस्कार गर्ने बताइन् । विरोधपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिए । रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै सदनमा विरोध जारी राखेका छन् ।

पार्टी विभाजनको हल्ला खारेज गर्छुः जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजनको हल्ला खारेज गरेको बताएका छन् ।  स्थायी समितिको आज तेश्रो दिन जारी बैठकमा बोल्दै नेता शर्माले आफूमाथि पार्टी फूटको आरोप लगाईएको भन्दै असन्तुष्टि व्यक्त गरे ।  उनले भने, ‘म पार्टी छोडेर जान्न, फूटको हल्ला खारेज गर्छु ।’ आफूले पार्टीलाई बलियो बनाउन खोजको जिकिर गर्दै उनले विभाजनको कसरत नगरेको र फुटाउँछु समेत नभनेको तर्क गरेका छन् । बैठकमा बोल्ने अधिकाँसले उनको आलोचना गरेका छन् । आफैँ सरकारमा रहेको बेला बजेटमार्फत किसान पेन्सनको कार्यक्रम ल्याईएको बताउँदै शर्माले त्यसलाइ निरन्तरता नदिइएको बताए । पार्टीको जनमत घटेको कारण खोज्नुपर्नेमा जोड दिँदै शर्माले यसका लागि अध्यक्षले जिम्मा लिनुपर्ने बताए । अध्यक्षले लिएपछि म पनि आत्मालोचना गर्न तयार छु । उनले भने।    यही साउन १६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको बैठकमा हिजो पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए ।

लोकप्रिय