लागूऔषधसहित १३ जना पक्राउ

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध चरेश करिब ६ किलो ९ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना।७ ख २०१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो । 

कञ्चनपुरको भिमदत्त नगरपालिका ७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र २७ वर्षीय निराजन बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले सन्तोषलाई २७ मिलिग्राम र निराजनलाई ९४ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचिनगर नगरपालिका ६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४३ ग्राम १५ मिलिग्रामसहित धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यसैगरी झापाकै अर्जुनधारा नगरपालिका ८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय ४० मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका २ बस्ने २९ वर्षीय अभिषेक चौलागाई र अर्जुनधारा नगरपालिका १ बस्ने ४१ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस्तै झापाकै बिर्तामोड नगरपालिका ३ बिराट आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ३९ ग्राम १० मिलिग्रामसहित बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका १२ पटरीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका ८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अथायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से।३ प ४२८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

सिरहाको कर्जन्हा नगरपालिका ३ जनक चोकस्थित बन्दीपुरे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका ३ बस्ने २६ वर्षीय बिने कुमार यादव र मिर्चैया नगरपालिका(३ बस्ने २८ वर्षीय मनिष प्रसाद यादव रहेका छन् । उक्त होटलमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका ८ स्थितबाट अवैध लागूऔषध गाँजा २ किलोसहित भरतपुर महानगरपालिका ४ बस्ने २२ वर्षीय सोम बहादुर लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा थ्री ग्रुपबाट बिरेन्द्रनगरतर्फ जाँदै गरेको ना।७ प ६५१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देख्नासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५२ ग्राम सुन बरामद गरेको छ । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९÷९ हजार रुपैयाँ दिएर सुन बोकाएको खुलेको छ । उक्त सुन विमानस्थल एरियााको पार्किङ क्षेत्रबाट साहेवले संकलन गर्ने गरेको प्रहरीको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा पठाइएको प्रहरीले जनाएको छ ।

कोटेश्वरको रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार

काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका कर्मचारीले गेस्ट हाउसबाट उनीहरूलाई गएराति उद्धार गरेका हुन्। रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एन्ड गेस्ट हाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाईफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्युरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए।  गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचविखन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भिजिट भिसामा एक जना पीडितलाई कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका ३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो ।  अधिकारीले पीडितलाई दुबईको कम्पनीमा मासिक तलव ४० हजार रूपैयाँ सम्म हुने काममा लगाइदिने प्रलोभन देखाई २ लाख रूपैयाँ नगद लिई दुबईमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको, भिजिट भिसामा २०७९ जेठ १६ गते युएईको दुबई पुर्‍याई दुबईमा रहेका अर्का अभियुक्तले रिसिभ गरी आफु बस्ने फ्ल्याटमा लगि बन्धक बनाएको अभियोग छ । अभियुक्तले पीडितलाई घरेलु काममा लगाई चरम श्रम शोषण गरी यौन शोषण गरी जबरजस्ती गर्भपतन समेत गराएको प्रहरीले जनाएको छ ।  ‘युएईमा भन्दा कुवेतमा राम्रो तलव हुन्छ, अफिसमा क्लिनरको काम हो भनि प्रलोभन देखाई २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याई एजेन्ट अफिसलाई जिम्मा लगाएको र एजेन्ट अफिसले पीडितलाई बन्धक बनाई फेरि चरम श्रम शोषण गरी यौन शोषण समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा ६ लाख ७५ हजार रूपैयाँ रकम बुझाउन भनेपछि आफन्त मार्फत उक्त रकम बुझाई २०८० मंसिर ३ गते नेपाल फर्कन सफल भएका थिए ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

तनहुँ । जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।  तनहुँको ब्याँस नगरपालिका ४ जलदेवी टोल बस्ने ६२ वर्षीय कालु गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १० जनालाई  बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

लोकप्रिय