लागूऔषधसहित १३ जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ परेका छन् । प्रहरीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट अवैध लागूऔषध चरेश करिब ६ किलो ९ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका ८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना।७ ख २०१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र २७ वर्षीय निराजन बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले सन्तोषलाई २७ मिलिग्राम र निराजनलाई ९४ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
झापाको मेचिनगर नगरपालिका ६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४३ ग्राम १५ मिलिग्रामसहित धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापाकै अर्जुनधारा नगरपालिका ८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय ४० मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका २ बस्ने २९ वर्षीय अभिषेक चौलागाई र अर्जुनधारा नगरपालिका १ बस्ने ४१ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै झापाकै बिर्तामोड नगरपालिका ३ बिराट आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ३९ ग्राम १० मिलिग्रामसहित बैतडी दशरथचन्द नगरपालिका ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका १२ पटरीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका ८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अथायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से।३ प ४२८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
सिरहाको कर्जन्हा नगरपालिका ३ जनक चोकस्थित बन्दीपुरे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका ३ बस्ने २६ वर्षीय बिने कुमार यादव र मिर्चैया नगरपालिका(३ बस्ने २८ वर्षीय मनिष प्रसाद यादव रहेका छन् । उक्त होटलमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
चितवनको राप्ती नगरपालिका ८ स्थितबाट अवैध लागूऔषध गाँजा २ किलोसहित भरतपुर महानगरपालिका ४ बस्ने २२ वर्षीय सोम बहादुर लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा थ्री ग्रुपबाट बिरेन्द्रनगरतर्फ जाँदै गरेको ना।७ प ६५१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देख्नासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी आन्तरिक प्रतिवेदन: जेनजी प्रदर्शनपछि ९८ हजार भन्दा बढी गोली हराएको पुष्टि
काठमाडौं । भदौ २३–२४ मा काठमाडौं उपत्यका र उपत्यका बाहिर भएको जेनजी प्रदर्शनपछि प्रहरीले ठूलो मात्रामा गोली र हतियार हराएको आन्तरिक छानबिनमा पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समिति द्वारा तयार गरिएको प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाइएको छ । छानबिन अनुसार, जेनजी प्रदर्शनपछि करिब ९८ हजार धातुको राउण्ड (जङ्ग्री राउण्ड) रेकर्डमा नभेटिएको देखिएको छ। काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय राउण्ड गोली हराएको प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनकारीले डमी राउण्ड समेत लुटेको पाइएको छ। करिब २ हजार २०० डमी राउण्ड रेकर्डमा छैन । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट, २ हजार ८ सय अश्रुग्याँस सेल, र १७ सय म्याग्जिन (गोली राख्ने भाँडो) हराएको विवरण प्रतिवेदनमा संकलन गरिएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि करिब ६५ सय राउण्ड गोली, २५ सयभन्दा बढी रबर बुलेट, २५ सय भन्दा बढी ब्ल्याङ्क राउन्ड, र ८ हजार अश्रुग्याँस सेल प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार अश्रुग्याँस सेल प्रहार भएको थियो । प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र २ सय अश्रुग्याँस सेल बरामद भएको छ । आन्तरिक प्रतिवेदन अनुसार करिब १२ सय हतियार हराएकोमा ७४७ थान भेटिएको छ । तर, प्रहरीका अनुसार अझै ४५३ हतियार बाहिर रहेका छन् । एकजना उच्च प्रहरी अधिकृतका अनुसार, बानेश्वरसहित देशभर प्रदर्शनकारी भगाउन प्रयोग भएका सामग्रीहरूमा ठूलो मात्रा हराइरहेको अवस्था छ ।
बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ
ललितपुर । नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार ललितपुर महानगरपालिका–१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको हो । “नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शङ्कास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की मथुरा विक र जिल्ला काठमाडौँ शङ्खरापुर नगरपालिका–६ का वर्ष ४० की रामदेवी श्रेष्ठलाई चेकजाँच र खानतलासी गर्दा निजहरूमध्ये रामदेवी श्रेष्ठले बोकेको सेतो हातेझोलाभित्र चितुवाको छालाजस्तो देखिने ओखेटो पहार एक थान फेला परेको छ,” उनले भने, “उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाइल एक थान र आइटेल कम्पनीको एन्डरोइड फोन एक थान फेला पारिएको छ, प्रहरीले नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।”
गुल्मी कारागारकाे क्षमता २५, कैदीबन्दी १०८ जना
गुल्मी । गुल्मीस्थित कारागार कार्यालयमा २५ जना मात्र कैदीबन्दी राख्ने क्षमता भए पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् । विसं २०२४ सालमा स्थापना भएको तम्घासस्थित उक्त कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता रहेको जेलर रेश्मीराज पन्थीले जानकारी दिए । हाल कारागारमा १०२ जना पुरुष, पाँच जना महिला र एक जना आश्रित रहेका छन् । तीमध्ये पुरुष कैदी ७१ जना र थुनुवा ३१ जना छन् भने महिला कैदी चार र थुनुवा एक जना छन् । जेलर पन्थीका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये कर्तव्य ज्यानसम्बन्धी १८, जबरजस्ती करणी ५९, सवारी ज्यान ३, चोरी ११, बहुविवाह ५, अभद्र व्यवहार १, हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग ३, आपराधिक उपद्रव (आगोलागी) १, अप्राकृतिक मैथुन १, भ्रष्टाचार २, कुटपिट १ र अन्य ज्यानसम्बन्धी कसुरमा २ जना रहेका छन् । क्षमता भन्दा धेरै कैदीबन्दी भएकाले आवास र सुरक्षासम्बन्धी समस्या देखिएको जेलर पन्थीले बताए । “तारबार निर्माण गर्न जरुरी छ । सुरक्षाकर्मीका आवास गृह जीर्ण छन् र कर्मचारीलाई समेत आवासको अभाव छ,” उनले भने । विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीलाई सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । हाल कारागारमा बाँसका मुढा, फर्निचर र ढाकाका कपडा उत्पादन हुँदै आएका छन् । फर्निचर निर्माणमा ५० जना, मुढा उत्पादनमा ३५ जना, ढाकाका सल बुन्नेमा १५ जना र स्वेटर बुन्नेमा ६ जना कैदीबन्दी संलग्न छन् । कारागारलाई सानो औद्योगिक ग्रामको रूप दिन खोजिए पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताए । तयार सामग्रीको बजार व्यवस्थापनमा पनि कठिनाइ देखिएको छ । शिक्षा र मनोपरिवर्तनका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको छ तर नयाँ पुस्तकको अभाव छ । खेलकुदतर्फ कैदीबन्दीले भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड र लुडोमा रुचि देखाएका छन् । पछिल्लो समय उनीहरू तरकारी खेतीतर्फ पनि आकर्षित भएका छन् । कारागार परिसरमा मौसमअनुसारका तरकारी—जस्तै खुर्सानी, भान्टा, स्क्वास, फर्सी, घिरौंला, भिन्डी, काउली आदि—खेती भइरहेको छ । जीर्ण भवनको भित्री र बाहिरी भागमा रङरोगन, कार्पेटिङ र ढलान गरी वातावरण सुधार गरिएको जेलर पन्थीले जानकारी दिए । पुरुष र महिला कैदीबन्दीका लागि सुताइ व्यवस्था सहज बनाउन डबल टेकर खाटको व्यवस्था गरिएको छ ।
कुटपिट गरी नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ । कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौँको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौँको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुले पैदल हिँड्ने व्यक्तिसँग २३।३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए ।

