सवारी दुर्घटनामा ११ जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका १४ रातानाङला मोडस्थित सडकमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे.१ च २५६० नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार अन्य २ जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा।६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कारमा सवार मनहरी गाउँपालिका ८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपालीसमेत ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सहकारी अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका १० बाराकोटस्थित सडकमा गोठलापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरकोजिप अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने २१ वर्षीया मिना जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका १४ भाटभटेनी नजिकै सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स. ७ प ४३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदाचालक उदयपुर बेलकानगरपालिका १ बस्ने ५० वर्षीय सचितानन्द चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको डुडुवा गाउँपालिका ४ मलई पुरूवास्थित सडकमा भे.१ त ३२३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदाचालक सोही गाउँपालिका ४ साहपुरूवा बस्ने ३८ वर्षीय नरेश खटिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
पर्साको वीरगंज महानगरपालिका १४ नहरको बाटोमा गणडकबाट बारातर्फ जाँदै गरको ना. १६प३४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीबारा परवानीपुर गाउँपालिका(५ बहुअरी टोल बस्ने ३७ वर्षीय देव कुमार पटेलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
उदयपुरमा नालीमा डुबेर दुई वर्षीय बालकको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ मा घरछेउको नालीमा डुबेर दुई वर्षका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार लिम्चुङबुङ गाउँपालिका–४, बलम्ता घर भई त्रियुगा नगरपालिका–३, मोतीगडा चोक बस्ने देवान राईका छोरा योङहाङ राईको नालीमा डुबेर मृत्यु भएको हो। बालक हिजाे सोमबार खेल्ने क्रममा नालीमा जमेको पानीमा डुबेर मृत अवस्थामा फेला परेको खड्काको भनाइ छ। शवलाई आवश्यक कानुनी प्रकिया पूरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी दिए।
भोजपुरमा ट्याक्टर दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर दिङ्लातर्फ आउँदै गर्दा सडकबाट करीब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार छ जनामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको र चारजना घाइते भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक षडानन्द नगरपालिका–४ केराबारीका ३५ वर्षीय आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका ३० वर्षीय नवीन तामाङ रहेका छन् । दुवैजनाको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा षडानन्द नगरपालिकाका १९ वर्षीय दाछिरी शेर्पा, २२ वर्षीय अम्बरबहादुर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीय सुनिता तामाङ रहेका छन् । उनीहरूको उपचार नगर अस्पताल दिङ्लामा भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट परासीमा मामाघर आएकि चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए । दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए । ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालार्इ लिएर माइत आएकी थिइन् ।
मनाङका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु
मनाङ । हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो । उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मृत्यु हुनेमा तनहुँका ४४ वर्षीय रामबहादुर थापा, नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घले र लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् । पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्ने थापा शनिबार राति नार्पाभूमि–२, मा केरेला होटलमा बास बसेका थिए । उनको सोही होटलमा मृत्यु भएको हो । आइतबार बिहान उनको शवलाई हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ । यसैगरी, शनिबार नै मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा लेक लागेर लमजुङको क्व्होलासोथर गाउँपालिका–४, भुजुङका गुरुङको निधन भएको थियो । लेक लागेर बेहोस भएका गुरुङको उपचारको क्रममा निधन भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार काङला फेदी करिब चार हजार पाँच सय मिटरबाट पर्यटकको सामान बोकेर फर्कने क्रममा लेक लागेर गुरुङ बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा दुई जनाको टोलीले एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।

