अठचालिस गाविस खाद्य असुरक्षाको उच्च जोखिममा

अठचालिस गाविस खाद्य असुरक्षाको उच्च जोखिममा

काठमाडौँ, असार १० । हिमाली र उच्च पहाडी छ जिल्लाका ४८ गाविस (तत्कालीन) खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् ।

खाद्य सुरक्षा सञ्जालले विस्तृत अध्ययन गरी धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविसलाई उच्चतम् खाद्य असुरक्षित अवस्था (चरण–३) मा वर्गिकरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सञ्जालमा उपसंयोजक स्थानीय विकास अधिकारी र सदस्यमा कृषि विकास कार्यालय, भू–संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, नेपाल खाद्य संस्थान, खाद्य सुरक्षासँग सम्बन्धित कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस, खाद्य सुरक्षासँग सम्बन्धित गैरसरकारी संस्थालगायतका प्रतिनिधि रहने व्यवस्था छ । सञ्जालमा वरिष्ठ कृषि विकास अधिकृत सदस्य सचिवका रुपमा रहने प्रावधान छ ।

यो तथ्याङ्क नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) अन्तर्गत ७५ मध्ये (काठमाडौँ बाहेक) ७४ जिल्लामा गठन भएका जिल्ला खाद्य सुरक्षा सञ्जालका बैठकको नतिजामा आधारित छ । सो तथ्याङ्कको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिएको हो ।

कृषि विकास मन्त्रालयले कार्यान्वयन गरिरहेको नेक्सापमा संयुक्त अधिराज्य बेलायत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रमले प्राविधिक सहयोग गरिरहेको छ । सर्वेक्षण मूलतः २०७३ साल मङ्सिरदेखि फागुनसम्मको अवधिलाई समेटेर गरिएको हो । जुन आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमाासिक अवधि हो ।
सञ्जालले ती गाविसमा करिब ८७ हजार १०० मानिस उच्चतम् खाद्य असुरक्षित अवस्थामा रहेका र खाद्य तथा गैर खाद्य आवश्यकता पूरा गर्न उनीहरुलाई बाह्य सहायताको आवश्यकता रहेको पनि उल्लेख गरेको छ ।

चरण– ३ त्यस्तो अवस्था हो जसमा सामान्य अवस्थाको भन्दा खाद्य उपभोग अभाव उच्च हुन्छ र घरधुरीले न्यूनतम खाद्य वस्तुको आवश्यकता परिपूर्ति गर्नका लागि जीवनयापनका साधन द्रुततरगतिमा नगुमाई प्राप्त गर्न सक्दैनन् ।

सञ्जालले ती जिल्लामा यो अवस्था आउनुका कारणमा बालीनाली उत्पादनको हिसाबले हिउँदयामको रिक्त समय, खाद्य सञ्चितिमा गिरावट भई अल्पकालीन खाद्य अभावको अवस्था हुनु, भौगोलिक दुर्गमता, पशुजन्य र गैरकाष्ठ वन पैदावरबाट हुने आम्दानीमा आएको कमि र धादिङ एवम् गोरखामा भूकम्पले पारेको प्रभावलाई उल्लेख गरेका छन् ।

त्यस्तै तथ्याङ्कले १४ जिल्लाका थप १८३ गाविस र नगरपालिकालाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण–२) अवस्थामा वर्गीकरण गरेको छ । यसमा परेका गाविसमध्ये तीन चौथाई भन्दा बढी मध्य र सुदूरपश्चिम क्षेत्रका हिमाली र पहाडी जिल्लाका छन् ।

तथ्याङ्कअनुसार धादिङ र गोरखा जिल्लाका केही पकेटक्षेत्रमा खाद्य असुरक्षाको अवस्था अझै विद्यमान रहेको र मध्य तथा सुदूरपश्चिम क्षेत्रका केही जिल्लामा खाद्य सुरक्षा अवस्था २०७३ साल साउनदेखि कात्तिकको तुलनामा खस्किएको देखिएको छ ।

समग्रमा सञ्जालले चैत २०७३ देखि असार २०७४ को अवधिमा खाद्य सुरक्षा अवस्थामा सुधार हुने अनुमान गरेका छन् । हिउँदे बाली (गहुँ र जौ) चैत÷वैशाखमा भित्रिएसँगै घरधुरीले आफ्नै उत्पादनबाट खाद्य सञ्चितिको परिपूर्ति गर्नेछन् ।

पर्याप्त वर्षा तथा आवश्यक मलखाद र बीउविजनको उपलब्धताले गर्दा २०७४ सालको गहुँबाली उत्पादन राम्रो हुने देखिन्छ । गहँुबालीको दोस्रो प्रारम्भिक उत्पादन पूर्वानुमान २०७४ सालका अनुसार यसवर्ष करिब १८ लाख ३४ हजार २१२ मेट्रिकटन उत्पादन हुने देखिन्छ । यो आव २०७२÷७३ को तुलनामा १७ लाख ३६ हजार आठ सय उनन्चास मेट्रिकटन अर्थात् ५ दशमलव ६ प्रतिशतले बढी हो ।

तथ्याङ्कको प्रक्षेपण अनुसार, २०७३ साल चैतदेखि २०७४ असारको अवधिमा कुनै पनि गाविस गम्भीर खाद्य असुरक्षित (चरण–४) को अवस्थामा वर्गिकृत हुने छैनन् भने उच्चतम खाद्य असुरक्षित (चरण–३) अवस्थामा रहेका गाविसको सङ्ख्या पनि ४८ बाट घटेर ३१ मा झर्नेछ । मध्यमस्तरीय खाद्य असुरक्षित (चरण–२) अवस्थामा रहेका गाविसको सङ्ख्या पनि १८३ बाट १६९ मा झर्ने अनुमान गरिएको छ ।

सञ्जालले मनसुनी वर्षाका कारण दुर्गम क्षेत्रमा सडक तथा बाटोघाटो बिग्रन गई आपूर्ति व्यवस्थामा पर्नसक्ने सम्भावित प्रभाव बाहेक खाद्य सुरक्षालाई असर पार्ने किसिमका कुनै ठूलास्तरका प्रकोप र विपत्तिका घटनाका बारेमा अनुमान गरेका छैनन् ।

नेक्सापले हाल मुलुकभर काठमाडौँबाहेक ७४ जिल्लाको नियमित अनुगमन गर्दछ । सञ्जालहरुले एकिकृत खाद्य सुरक्षा चरण वर्गिकरण विधिको प्रयोग गरी प्रत्येक चौमासिकमा खाद्य असुरक्षाको गम्भिरताको वर्गिकरण गरेर त्यसको कारण पनि विश्लेषण गर्दछन् ।

सामान्यतयाः जिल्ला खाद्य सुरक्षा सञ्जालबाट प्राप्त नतिजालाई कृषि विकास मन्त्रालयको नियमित क्षेत्रीय समीक्षा गोष्ठीबाट प्रमाणित गरिन्छ । नेक्साप परियोजनाको अन्तिम मूल्याङ्कन युरोपियन युनियनले विगत २०१२ देखि २०१६ सम्म सञ्चालन गरिएको परियोजनाको मूल्याङ्कन गर्ने उद्देश्यले एक स्वतन्त्र मूल्याङ्कन टोलीको गठन गरेको छ ।

परियोजनाका थप साझेदार संस्थामा केन्द्रीय तथ्याङ विभाग, खाद्य तथा कृषि सङ्गठन, संयुक्त राष्ट्र सङ्घीय बालकोष, अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र र कृषि तथा जलवायु अनुसन्धान कार्यक्रम, कृषि तथा खाद्य सुरक्षा रहेका छन् ।

तराईमा हुस्सु, जनजजीवन प्रभावित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आवतजावत तथा सवारी सञ्चालनमा समेत समस्या भएको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहने छ । तराई, खोँच क्षेत्रका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

बैतडीमा भूकम्पको धक्का

काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र  (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड (ML)  ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।   

साउदीबाट फर्किएका दुई श्रमिकमा मंकीपक्स

काठमाडौं । साउदी अरबबाट फर्केका मंकीपक्स संक्रमित एक नेपालीको अवस्था जटिल देखिएको छ । पछिल्लो दस दिनमा साउदी अरबबाट फर्किएका दुई नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको थियो । उनीहरूमध्ये गत शनिबार काठमाडौं आएका सिन्धुलीका ४४ वर्षीय पुरुषको अवस्था यसअघि पहिचान भएका संक्रमितको भन्दा जटिल देखिएको हो । उनी हाल सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसनमा उपचाररत छन् । छाला रोग विशेषज्ञ डा. सिवेन्द्रकुमार झाका अनुसार ती पुरुषको मृगौला, फोक्सो, कलेजो जस्ता संवेदनशील अंगलाई भने असर गरेको छैन । ‘अनुहार, छाती, हातखुट्टालगायत शरीरभरि संक्रमण देखिएको छ,’ उनले भने, ‘छालाको दृष्टिकोणबाट हेर्दा संवेदनशील तथा जटिल देखिएको हो ।’ ती पुरुष साउदी अरबमा करिब १६ वर्षदेखि काम गर्दै आएका थिए । मंकीपक्स लागेपछि साउदी अबरकै अस्पतालमा १७ दिनदेखि उपचाररत थिए । उनी साउदी अरबबाट दोहा हुँदै शनिबार बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विमानस्थलबाट सिधै स्वयम्भूस्थित आफन्तकोमा गएका थिए । भोलिपल्ट आइतबार मात्र उपचारका लागि टेकु अस्पताल पुगेका थिए । नमुना परीक्षण गर्ने क्रममा उनलाई मंकीपक्स संक्रमण पुष्टि भएको थियो । गत पुस ५ मा साउदी अरबबाटै फर्केका तनहुँका ३६ वर्षीय पुरुषलाई पनि मंकीपक्स पुष्टि भएको थियो । उनको पनि टेकु अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले ती युवकको घाउ लगभग सुकिसकेको बताए । ‘नयाँ घाउ पनि देखापरेको छैन,’ उनले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’ चिकित्सकका अनुसार मंकीपक्स संक्रमित व्यक्ति वा पशुसँगको सम्पर्कमा आउँदा, शरीरबाट निस्किएको थुक, र्‍याल, घाउ, खटिरा, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ । तर, सिन्धुलीका युवामा संक्रमण पुष्टि भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित निकायले कन्ट्याक्ट ट्रेसिङ गरेको छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले संक्रमित व्यक्तिको परिवारलाई मंकीपक्सबारे जानकारी रहेको र सतर्कता अपनाउन भनिसकेको बताए । ‘कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मी पठाउने तयारी छ,’ उनले भने, ‘साउदी अरबमा मंकीपक्स संक्रमित अन्य नेपालीको अवस्थाबारे जानकारी दिन त्यहाँको सरकारी संयन्त्रलाई आग्रह गरेका छौं ।’ साउदी अरब नेपालीको रोजगारीको प्रमुख गन्तव्यमध्येमा पर्छ । त्यहाँ मात्र ४ लाख नेपाली श्रमिक कार्यरत छन् । निर्देशक घिमिरेका अनुसार साउदी अरबको स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय इन्टरनेसनल हेल्थ रिप्रेजेन्टेटिभ (आईएचआर) सँग त्यहाँ कार्यरत नेपालीको अवस्थाबारे जानकारी लिने प्रयास जारी छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनयता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसको घातक प्रजाति ‘क्लेड १ बी’ फैलिरहेको छ । गत जनवरी यतामात्र उक्त भाइरसका कारण विश्वभरि पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि मंकीपक्स संक्रमण बढिरहेको भन्दै सबै मुलुकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । सन् २०२२–०२३ मा पनि मंकीपक्स विश्वव्यापी प्रकोपका रूपमा फैलिएको थियो । मंकीपक्स बिफर रोग लाग्ने प्रजातिको भाइरसबाट संक्रमण हुने गर्छ । एमपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि पनि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । छाला रोग विशेषज्ञहरूका अनुसार यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने गर्छ । टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । स्वास्थ्य मन्त्रालयले छिमेकी देशमा मंकीपक्स भाइरसको संक्रमण बढिरहेकाले नेपालीलाई पनि सतर्कता अपनाउन आग्रह गरेको छ । हवाई तथा सीमा नाकाका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘सातवटै प्रदेशमा मंकीपक्स रोकथाम तथा व्यवस्थापनका लागि अस्पताल र फोकल पर्सन तोकेका छौं,’ उनले भने, ‘कसैलाई शंकास्पद देखिए परीक्षण गर्न आग्रह गर्छु ।’ कान्तिपुर दैनिकबाट

अध्यक्ष प्रचण्डलाई झापामा कोच संस्कृतिको भोजन

झापा । झापाको गौरिगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न यहाँ आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केराको पातमा खाना खानुभएको छ । गौरिगञ्ज–१ मा तिलक राजवंशीको घरमा प्रचण्डसहितका नेताहरूले कोच संस्कृति अनुसार खाना खानुभएको हो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चट्नी र पापडलाई कोलाको पातमा दिइएको हो । आफूले प्रचण्डलाई कोच संस्कृति अनुसारको खाना खुवाउन पाउँदा खुसी लागेको राजवंशीले बताउनुभयो । ‘उहाँले मलाई कोच जातीहरुको लागि लडिरहेको छु । कोच जातीको घरमा भात खान पाउँदा खुसी लागेको बताउनु भयो’– तिलक राजवंशीले भन्नुभयो– ‘मैले पनि तपाईलाई सौभाग्यले खाना खुवाउन पाएँ भने ।’  प्रचण्डको टोलीमा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य एवं स्वकीय सचिव गंगा दाहाल, माओवादी संसदीय दलका कोशी प्रदेश नेता इन्द्रबहादुर आङ्बो, माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो, केन्द्रीय सदस्यहरु धर्मशिला चापागाईं, जीवन आचार्य, झलकसिंह दर्लामीलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

लोकप्रिय