इन्टरनेट कुलतः के तपाईँमा इन्टरनेटको कुलत सुरु भइसकेको त छैन?

इन्टरनेट कुलतः के तपाईँमा इन्टरनेटको कुलत सुरु भइसकेको त छैन?

काठमाडौं । इन्टरनेटले हाम्रो जीवनलाई धेरै अर्थमा परिवर्तन गरेको छ। यसले हाम्रो जीवन स्तर उन्नति गर्नुका साथै धेरै कार्यहरू गर्न अत्यधिक सहजता उपलब्ध गराएको छ।

यसका साथै इन्टरनेटले सूचना, मनोरञ्जन र ज्ञानको विशाल भण्डार समृद्ध गर्नका साथै यस्ता तमाम सुविधा वृद्धि गरेको छ, जसले गर्दा यसको अत्यधिक प्रयोग गर्नुको लत–कुलत हाम्रा लागि समस्या भइसकेको छ।

विज्ञापन

अन्तर्राष्ट्रिय अन्वेषकहरूको टोलीले भर्खरै गरेको अध्ययनमा इन्टरनेटको प्रयोगले हाम्रो मस्तिष्कको आन्तरिक संरचनालाई द्रुत रूपमा परिवर्तन गरिरहेको छ भन्ने ज्ञात हुन आएको छ । इन्टरनेटको अत्यधिक प्रयोगले प्रयोगकर्ताको एकाग्रता, स्मृति र सामाजिक सम्बन्धलाई नराम्रोसँग प्रभावित गरीरहेको रिपोर्ट प्रकाशित भएको छ ।

साच्चै भन्ने हो भने मस्तिष्कमा भइरहेको यो परिवर्तनले केही मात्रामा, हाम्रो स्नायु प्रणालीलाई नै पुनर्संयोजित (रि–वायरिंग) गरिरहेको छ ।

मनोचिकित्सकीय अनुसन्धानको विश्व प्रसिद्ध जर्नल वर्ल्ड सायकिएट्रीको जून २०१९ को अंकमा प्रकाशित अध्ययन अनुसार इन्टरनेटको अत्यधिक प्रयोगले हाम्रो दिमागमा स्थायी र अस्थायी प्रभाव पारी रहेको छ।

अध्ययनमा सम्मिलित शोधकर्ताले ती प्रमुख परिकल्पनाको जाँच (परीक्षण) गरे जसले इन्टरनेटको प्रयोगले मानिसको संज्ञानात्मक प्रक्रियालाइ बदल्न सक्छ ।

यसका साथै शोधकर्ताले यो पनि परीक्षण गरे, कि मनोविज्ञान, मनोचिकित्सा र ‘न्यूरोइमेजिंग’का आधुनिकतम निष्कर्षसँग यो कति मेल खान्छरु

अस्ट्रेलियाको वेस्टर्न सिडनी विश्वविद्यालयका वरिष्ठ शोधकर्ता डा जोसेफ फेर्थका अनुसार इन्टरनेटको प्रयोगले मष्तिष्कको संरचना मा कसरी प्रभाव पार्छ भन्ने सम्बन्धमा भन्छन, ‘यस अनुसन्धानको प्रमुख निष्कर्ष भनेकै उच्च स्तरको इन्टरनेट प्रयोगले दिमागमा धेरै नकारात्मक प्रभाव पार्नसक्छ भन्ने रहेको छ ।’

उदाहरणको लागि, इन्टरनेटबाट आउने गरेका नोटिफिकेशन र सूचनाको अविरल प्रवाहले हामीलाई हाम्रो ध्यान उतै राख्न प्रोत्साहन दिन्छ।

यसको परिणामस्वरुप आफ्नो अन्य कार्यमा ध्यान केन्द्रित गर्ने हाम्रो क्षमता प्रभावित हुन्छ । हामी कुनै एक विषयवस्तुमा ध्यान केन्द्रित गर्न, त्यसलाई राम्ररी बुझ्न एवं विषयवस्तुको गम्भीरता आत्मसात गर्न सकिरहेका हुन्नौँ।

यस सोधले, इन्टरनेटले हाम्रो दिमागको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई कसरी प्रभावित गरिरहेको छ भन्ने बारे संकेत गर्छ । वर्तमान समयमा सोशल मिडियाका साथै धेरै अनलाइन टेक्नोलोजीहरूको व्यापक प्रयोग बढ्दै जानु शिक्षक र अभिभावकहरूको चिन्ताको विषय बनेको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा सन २०१८ मा जारी गरिएको दिशानिर्देश अनुसार, साना बच्चाहरु (२.५ वर्षको उमेर) लाई दैनिक एक घण्टा भन्दा बढी समय कुनै पनि खाले स्क्रीनको सम्पर्कमा आउँन दिनु हुँदैन । हुन त वर्ल्ड साइकियट्री पत्रिकामा प्रकाशित सोध वयस्कहरूमा गरिएको अनुसन्धानको नतिजा हो भनिएको छ । बच्चाहरूमा इन्टरनेट प्रयोगले हुने फाइदा र हानिबारे थप अनुसन्धान हुनु बाँकी नै छ ।

डा फेर्थ भन्छन्, ‘बच्चा तथा युवा मानिसहरूलाई इन्टरनेटको नकरात्मक प्रभावबाट जोगाउन अझ बढी अनुसन्धान आवश्यक छ, आमाबाबुले पनि आफ्ना बच्चाहरूले डिजिटल उपकरणहरूमा धेरै समय खर्च नगर्ने वातावरण सुनिश्चित गर्नुपर्दछ।’

अभिभावकहरूले बच्चाहरूको अन्य महत्त्वपूर्ण विकासमूलक गतिविधिहरू, जस्तै सामाजिक अन्तर्क्रिया , शारीरिक व्यायाम तथा मैदानमा खेलिने खेल जस्ता गतिविधिमा बढी ध्यान दिनु पर्दछ।

वास्तव मा यस अनुसन्धान को प्रमुख उद्देश्य हो, ‘हामीले यो बुझ्नु आवश्यक छ कि जहाँ एकतिर इन्टरनेटको सुविधाले हामी ‘ग्लोबल’ नागरिक बनी रहेका छौँ ,त्यही अर्कोतिर बच्चा देखि बुढा पाकासम्म ‘साइबर एडिक्ट’ पनि हुँदै गईरहेका छौँ ।

यो लत अथवा कुलत पनि रक्सी अथवा चुरोट भन्दा कम छैन । इन्टरनेटको बानी लागेका मानिसको मस्तिष्कका केहि भागमा ‘गामा अमिनोब्यूटरिक एसिड’ (जीएबीए) को स्तर बढ्दै गईरहेको छ। ‘जीएबीए’ को सम्बन्ध मस्तिष्कका विभिन्न कार्य जस्तै जिज्ञासा, तनाव र निन्द्रा आदिसँग रहेको छ ।

यसको असन्तुलनले अधीरता ,छटपटाहट, बेचैनी, तनाव र अवसाद (डिप्रेसन) बढाउँछ । इन्टरनेट प्रयोगको बानीले हाम्रो मस्तिष्कका सर्किटलाइ द्रुत गतिले र नया किसिमले पुनरसंयोजित (रि–वायरिंग) गरिरहेको छ ।

स्मरण गर्नुस त ‘इन्टरनेट प्रयोगको प्रारम्भिक चरणमा हामी जुनबेला पनि अनलाइन हुने–देखिने प्रयास गर्थ्यौँ,आज अवस्था त्यसको विपरीत छ । बेर छैन, अब संसारमा जाँड –रक्सी चुरोटको लतबाट मुक्ति प्रदान गर्ने जस्ता ‘रिह्यभिलेसन सेन्टर’ जस्तै इन्टरनेटको कुलतबाट टाढा राख्ने सेन्टर खोलिने क्रम प्रारम्भ होस्। देश सञ्चारबाट

गर्भावस्थाको पहिलो त्रैमासिक र श्रीमानको भूमिका

गर्भावस्था प्रत्येक महिलाको जीवनको विशेष समय हो, तर यो समय शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। गर्भावस्थाको पहिलो त्रैमासिकमा महिलाको मनोविज्ञान धेरै कुराबाट प्रभावित हुन्छ, विशेषगरी शरीरमा हुने हार्मोनल परिवर्तन र नयाँ जीवनको सुरुवातसँग आउने जिम्मेवारीसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ। यस्तो बेला महिलाको मनोविज्ञान सामान्य अवस्था भन्दा फरक हुन्छ। के के हुन्छ त? १. भावनात्मक उतारचढाव (Mood Swings) पहिलो त्रैमासिकमा महिलाको भावनात्मक स्थिरतामा उतारचढाव आउनु सामान्य हो। एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनको तीव्र रूपमा वृद्धि हुँदा खुशी, उदासी, तनाव, वा झोक जस्ता भावनाहरू एकैचोटि अनुभव हुन सक्छ। यी भावनात्मक उतारचढावले महिलालाई कहिलेकाहीं असहज बनाउँछ, जसका लागि सकारात्मक वातावरणको आवश्यकता हुन्छ। २. चिन्ता र डर नयाँ जीवनको सुरुवातसँगै महिलामा विभिन्न प्रकारका डर र चिन्ता पैदा हुन्छ। बच्चाको स्वास्थ्य, आफ्नै स्वास्थ्य, र भविष्यको तयारीबारे सोच्दा उनी अनिश्चित महसुस गर्न सक्छिन्। विशेषगरी, पहिलो पटक गर्भवती भएका महिलाहरूमा यो डर र तनाव झन् बढी देखिन्छ। यो अवस्थामा मानसिक समर्थनले ठूलो भूमिका खेल्छ। ३. आफ्नै शरीरप्रति संवेदनशीलता गर्भावस्थाको पहिलो चरणमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ। वाकवाकी, थकान, वजनको वृद्धि, र शरीरको अन्य शारीरिक लक्षणहरूले उनी कहिलेकाहीं आफूलाई आत्मविश्वासहीन महसुस गर्न सक्छिन्। कतिपय अवस्थामा उनी आफूलाई "सुन्दर छैन" भन्ने सोच्न पनि सक्छिन्, जसले मानसिक तनाव पैदा गर्न सक्छ। ४. मातृत्वको भावना (Maternal Instinct) गर्भावस्थामा मातृत्वको भावना सुरु हुन्छ। बच्चाको आगमनको सोचले महिलामा प्रेम, सुरक्षा, र हेरचाहको भावना पैदा गर्छ। उनी भविष्यको योजनामा केन्द्रित हुँदै मातृत्वको भूमिकामा आफैंलाई तयार पार्न थाल्छिन्। ५. सामाजिक र भावनात्मक समर्थनको आवश्यकता यो समयमा महिलालाई परिवार र श्रीमान्को साथको आवश्यकता अत्यधिक हुन्छ। समर्थन र सहानुभूतिको अभावले उनी एक्लोपन महसुस गर्न सक्छिन्। परिवारको माया र सहयोगले गर्भावस्थाको चुनौतीलाई सहज बनाउन सहयोग गर्छ। श्रीमान्को सहयोग भनेको उनीप्रति माया र सम्मान देखाउनु मात्र होइन, उनका भावनाहरूलाई बुझेर सहानुभूति देखाउनु पनि हो। ६. थकान र मानसिक कमजोरी पहिलो त्रैमासिकमा शारीरिक थकानका कारण महिलाले मानसिक रूपमा पनि कमजोर महसुस गर्न सक्छिन्। कामप्रतिको ध्यान कम हुनु, सधैं थाकेको महसुस गर्नु, र निर्णय लिने क्षमतामा कमी आउनु सामान्य हुन्छ। ७. भविष्यको योजना (Future Planning) महिला गर्भावस्थाको सुरुवातमै बच्चाको आगमनपछि हुने वित्तीय व्यवस्थापन, जिम्मेवारी, र जीवनशैलीबारे सोच्न थाल्छिन्। यो सोच सकारात्मक भए पनि कहिलेकाहीं यो सोचले तनाव र चिन्ता बढाउन सक्छ। ८. साथी र समाजको धारणा समाज र साथीभाइको धारणा महिलाको मानसिकतामा ठूलो प्रभाव पार्छ। यदि उनी सकारात्मक र समर्थनजनक वातावरणमा छिन् भने उनी आत्मविश्वास र सकारात्मक महसुस गर्छिन्। तर, आलोचनात्मक वा असहयोगी वातावरणले उनीमा नकारात्मक प्रभाव पार्न सक्छ। [  ] श्रीमानको भूमिका  गर्भावस्थाको पहिलो त्रैमासिक महिला जीवनको संवेदनशील समय हो, जसमा शारीरिक परिवर्तनसँगै मानसिक र भावनात्मक रूपमा पनि महिलालाई चुनौतीको सामना गर्नुपर्छ। यो समयमा परिवार, श्रीमान्, र साथीहरूको माया, सहयोग, र सहानुभूति महिलाको मनोविज्ञानलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सकारात्मक वातावरणले महिलालाई तनावमुक्त राख्न मद्दत गर्छ र मातृत्वको यात्रालाई सहज र आनन्दमय बनाउँछ। १. समर्थन र सहानुभूति देखाउनुहोस् श्रीमतीलाई शारीरिक र मानसिक रूपमा सहज महसुस गराउन सकारात्मक वातावरण तयार गर्नुहोस्। उनी गर्भावस्थाका शारीरिक परिवर्तन र समस्याहरू (जस्तै: वाकवाकी, थकान, मूड स्विङ) झेल्दै छिन् भन्ने बुझ्नुहोस्। २. स्वास्थ्य जाँचमा सहयोग गर्नुहोस् डाक्टरको नियमित भेटघाट (prenatal check-ups) मा जान साथ दिनुहोस्। आवश्यक परामर्श र मेडिकल परीक्षणका लागि समय व्यवस्थापन गर्न सहयोग गर्नुहोस्। ३. सन्तुलित आहार सुनिश्चित गर्नुहोस् श्रीमतीलाई पौष्टिक आहार लिन प्रेरित गर्नुहोस्, जस्तै फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना। धेरै पानी पिउन र जंक फुड टाढा रहन सुझाव दिनुहोस्। ४. भावनात्मक रूपमा बलियो बनाउनुहोस् गर्भावस्थाका चुनौतीबारे उनीसँग खुलेर कुरा गर्नुहोस्। उनीलाई आफ्नो महसुस बताउन सहज बनाउनुहोस् र तपाईं उनको साथमा हुनुहुन्छ भन्ने विश्वास दिनुहोस्। ५. घरेलु काममा सहयोग गर्नुहोस् उनी थाकेको वा असहज महसुस गरेमा घरको काम आफैं गर्नुहोस्। कोठा मिलाउने, बाथरूम सफा गर्ने अनि लुगा धुने काममा सहयोग गर्नुस्।  आरामको समय मिलाउन दिनुहोस्। ६. गर्भावस्था सम्बन्धी जानकारी जुटाउनुहोस् पुस्तक, अनलाइन स्रोत, वा डाक्टरबाट गर्भावस्थाको पहिलो त्रैमासिकबारे जान्नुहोस्।  यसको माध्यमबाट श्रीमतीलाई राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ। ७. मनोविनोद र विश्रामको व्यवस्था गर्नुहोस् सँगै बसेर फिल्म हेर्ने, रमाइलो गर्ने, वा साना घुमफिरमा लैजाने योजना बनाउनुहोस्। सकेसम्म बढी भन्दा बढी समय दिनुस्। बेलाबेला सुप र अन्य खानेकुरा ल्याइदिनुस। हरेक दिन खुट्टा, टाउको कमर मालिस गरिदिनुस्।  उनीलाई खुशी र तनावमुक्त राख्ने प्रयास गर्नुहोस्। यो समयमा श्रीमानको सहयोग र माया श्रीमतीको लागि महत्वपूर्ण हुन्छ, जसले उनीलाई आत्मबल दिन्छ र गर्भावस्थाको चुनौतीलाई सहज बनाउँछ।

यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ ।  यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन  (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना

लोकप्रिय