निर्वाचनलाई लक्षित गर्दै प्रहरीले काठमाडौं उपत्यका भित्रिने सबै नाकामा प्रहरी संख्या बढाएको छ भने सुरक्षा जाँचलाई पनि कडा बनाउँदै लगेको छ । सादा पोसाकमा पनि ठुलै संख्यामा प्रहरी परिचालन गरिएको छ ।

उपत्यका भित्रिने प्रमुख नाका थानकोट, फर्पिङ, चापागाउँ, भक्तपुरको जगाती, बालाजु, साँखु बुढानीलकण्ठ र ललितपुरको भट्टेडाँडामा प्रहरीले पैदल र सवारीसाधनमाथि निगरानीसमेत बढाएको छ । यसका लागि सीसीटिभीबाट निगरानी गर्न थालिएको छ । भित्री तथा गल्ली सडकमा पनि चेकजाँचलाई कडा बनाइएको छ ।

निर्वाचनमा शान्ति सुरक्षा बिग्रन नदिन उपत्यकाका तीनओटै महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा तथा मातहत निकायका सबै युनिटलाई चुस्त बनाइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ । आयुक्त कार्यालयले सीआरभी भ्यान तथा क्युराटीमार्फत प्रहरी जुनसुकै बेला पनि तैनाथ भइरहेको जनाएको छ । आयुक्त कार्यालयको एउटा कार्यकक्षबाट यी सबै गतिविधिको अनुगमनसमेत सुरु गरिएको छ ।

‘३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन सक्ने गतिविधिप्रति विशेष निगरानी गरिएको छ,’ आयुक्त कार्यालयका कार्यवाहक प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीले भने ।

उनले काठमाडौंबाट निर्वाचन सुरक्षामा केन्द्रित भई गरिएका कार्यको जानकारी लिँदै समयसापेक्ष विकसित घटनाक्रमप्रति चनाखो भई सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिएको पनि बताए ।

डीआईजी भण्डारीले कानुनविपरीत क्रियाकलाप गर्ने जोकसैलाई समयमै नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न र निर्वाचनमा सहभागी हुने जनताका लागि भयरहित वातावरण सिर्जना गर्न मातहतका वृत्त, प्रभाग तथा कर्मचारीलाई निर्देशन दिइसकेको पनि बताए । केही दिनअघि मात्र आईजीपी प्रकाश अर्यालले निर्वाचनमा सुरक्षाको कुनै कसुर नराखिने बताउँदै सुरक्षा थ्रेट भएका तŒवहरूको निगरानी गरी कडा रूपमा प्रस्तुत हुन मातहतका प्रहरीलाई निर्देशन दिएका थिए ।

गृह मन्त्रालयले सबैभन्दा बढी सुरक्षा थ्रेटका रूपमा विप्लव माओवादीलाई राखेको छ । त्यसैगरी सिके राउत तथा अन्य भूमिगत समूहले पनि राजधानी काठमाडौंलगायत अन्य स्थानमा चुनाव बिथोल्न सक्ने अवस्थाप्रति प्रहरी सचेत रहेको जनाएको छ ।

निर्वाचन दुई चरणमा हुने भएकाले सुरक्षा व्यवस्था गर्न यसपटक अलि सहज भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उपत्यकामा पनि ट्राफिक प्रहरीका अधिकृतहरूलाई प्रशासनमा खटाइएको छ भने प्रशासनमा रहेका प्रहरीलाई डिउटीमा खटाइएको छ । निर्वाचन अवधिभर काठमाडौं उपत्यकामा ट्राफिक जाम कम हुने भएकाले उनीहरूलाई प्रशासनमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।