उपनिर्वाचनमा सबैको आँखा कास्की–२ मा, कसले मार्ला बाजी?
कास्की– देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।
महानगरका ११ वटा वडाका ७१ हजार ८७१ मतदाताले उम्मेदवार चयन गर्दैछन् । यस क्षेत्रमा ठूला, साना र स्वतन्त्र गरी २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
चुनावी चर्चामा विशेष गरी दुई पार्टी देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अनेरा स्ववियूका पूर्व सचिवसमेत रहेकी विद्या भट्टराई उम्मेदवारका रुपमा छन् ।
नेपाली काँग्रेसले पनि पार्टीमा लामो समय योगदान गरेको भन्दै ७४ वर्षीय खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी समाजवादी पार्टीका तर्फबाट धर्मराज गुरुङ र राप्रपाका तर्फबाट रोमबहादुर भण्डारी उम्मेदवार छन्।
वैकल्पिक शक्तिका रुपमा प्रचार गर्दै आएको साझा पार्टीले पनि युवा नेत्री रजनी केसीलाई उम्मेदवार बनाएर प्रचार शैलीलाई व्यापकता दिएको छ ।
यता साधारण ‘मान्छेको असाधारण राजनीति’ भन्दै विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा पनि मतदातामाझ पुगेकी छन् ।
स्वतन्त्रका उम्मेदवार पनि सामाजिक सञ्जालबाट आफ्नो चुनावी कार्यसूचीलाई सार्वजनिक गरिरहेका छन् ।
विशेष गरी चर्चामा भने काँग्रेस र नेकपाका दुई उम्मेदवार देखिएका छन् । दुवै पार्टीले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले पनि यस चुनावलाई विशेष रुपमा हेरिएको छ ।
कस्केलीले सत्तारुढ नेकपाकी भट्टराई राजनीतिक चेत भएको, सामाजिक अध्ययनको पृष्ठभूमिका साथै प्राज्ञिक महिला भएका कारणले उनको राजनीतिको पुनः आगमनलाई स्वागतयोग्य ठानेका छन् ।
जुझारु र विकासप्रेमी नेता अधिकारीकी पत्नी भएकाले पनि उनीप्रति मतदाताको सहानुभूति रहन्छ कि भन्ने अनुमान छ ।
जनताको आधारभूत आवश्यकताको पहिचान गरी त्यसको समस्या समाधान गर्न नेताले सक्नुपर्ने र त्यसलाई समाजको गहिरो अध्ययनको अनुभव मिसाई राजनीतिबाट समाधान गर्न सक्ने क्षमता आफूसँग भएको भट्टराईले बताउँदै आएकी छन् ।
पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको भन्दै नयाँ पुस्तालाई राजनीतिमा संलग्न गराएर नयाँ ‘भिजन र मिशन’का साथ अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।
उद्यमशील समाजबाट समृद्धि हासिल हुने कुरामा विशेष ध्यान दिनुपर्ने तर्क उनको छ । यस क्षेत्रमा अधिकारीले तीन पटकसम्म चुनाव जितेकाले पनि कतिपयले यसलाई आधार मानेका छन् ।
काँग्रेसका उम्मेदवार पौडेल पनि आफू निष्ठाको राजनीति गरेकाले पार्टीमा आफ्नो योगदानको मूल्याङ्कन ढिलै भए पनि भएको बताउँछन् ।
जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ सङ्कल्प आफूसँग रहेकाले यसपालिको चुनाव उमेरले बूढो भए पनि राजनीति गर्ने युवा जोश र जाँगर आफूसँग अझै रहेकाले ट्रम्प स्टाइलबाट चुनाव जित्ने उनले बताउँदै आएका छन् ।
लामो समय शिक्षण पेशामा आबद्ध पौडेललाई मतदाताले अग्रज गुरुका रुपमा मानेका छन् । चुनावी अभियानमा कार्यकर्ताको राम्रै उपस्थितिका साथ घरदैलामा देखिएका समाजवादी पार्टीका उम्मेदवार गुरुङ पनि आफ्नो जीत सुनिश्चित भएको बताउछन् ।
विदेशका विभिन्न ठाउँ र संयुक्त राष्ट्र सङ्घमा लामो समय काम गरेको अनुभवसमेत रहेको बताउने इञ्जिनीयर गुरुङ देश कसरी बन्छ भन्ने दृष्टिकोण आफूसँग रहेकाले देशका लागि आफू चाहिने नेता भएको जिकिर गर्छन् ।
आर्थिक र विलासी जीवनशैलीको लोभ आफूमा नभएकाले बाँकी जीवन देशको विकासमा समर्पण गर्ने उनको अठोट छ । घरदैलोमा आफू जस्तै नेता जनताले खोजेकाले आफ्नो जीत सुनिश्चित भएको उनको जिकिर छ ।
राप्रपाका भण्डारीले पनि हिन्दू राष्ट्रको माग आफ्नो पार्टीले उठाएकाले जनताले आफूहरुलाई मत दिने विश्वास व्यक्त गर्छिन् । विसं २०२८ मा प्रधानपञ्च बनेकी भण्डारी २०४९ मा पोखरा महानगरपालिकाका प्रमुखको प्रत्याशी हुन् ।
विसं २०५६ मा सांसदमा उठेको अनुभवसमेत उनीसँग छ । मतदातामाझ पुग्दा देशमा संवैधानिक राजतन्त्र आवश्यक रहेको र हिन्दू धर्मसंस्कृतिको खातिर पनि राप्रपालाई जनताले रोज्ने भण्डारी बताउछन् ।
अब जनताले राजतन्त्र र हिन्दू राष्ट्र खोजेको भन्दै आफूले चुनाव जित्नेमा शङ्का नरहेको उनको भनाइ छ ।
साझा पार्टीका उम्मेदवार केसी देश बदल्न मन र मत बदल्नुपर्ने तर्कका साथ घरदैलामा पुगेकी छन् । देशमा पटक पटक शासन व्यवस्था बदलिए पनि पद्धति नबदलिएकाले अब जनताले वैकल्पिक शक्तिको महसुस गरेको भन्दै आफूलाई जनताले मत दिनेमा ढुक्क छन् ।
परम्परावादी सोचको राजनीतिको आयु अब सकिएको छ भन्दै उनले देशमा सुशासनका लागि साझा पार्टी एक मात्र विकल्प भएको र कास्कीबाट इतिहासको विकुल फुक्ने दिन नजिकिएको जिकिर गििर्छन् ।
विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्माले पनि अबको राजनीति कुनै वाद÷तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति नभई राजनीति गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परिनिर्भरताविरुद्ध हुनुपर्ने बताउँदै आएकी छन्।
मतदाताले राजनीतिमा युवा र महिलाको उपस्थिति देख्न चाहेकाले पनि आफू साधारण मान्छेबाट असाधारण राजनीतिलाई सम्भव तुल्याउन एउटा अठोट लिएर मैदानमा उत्रिएको उनी बताउछिन् ।
‘परिवर्तन सम्भव छ त्यो हामीले गर्छौ’ भन्दै उनी यसपालिको उपनिर्वाचनबाट जनताले सही नेतृत्व चुन्ने विश्वास गर्छिन् ।
उपनिर्वाचनको आज घरदैलो र चुनावी अभियानको अन्तिम दिन रहेको छ । राजनीतिक दलहरु चुनावी अभियानलाई रोक्दै आन्तरिक रुपमा आफ्नो पक्षमा वातावरण बनाउने आन्तरिक गृहकार्यमा समेत जुटिसकेका छन् ।
सबै उम्मेदवारले आफूलाई योग्य ठानेर जिकिर गरे पनि यसको फैसला भने मङ्सिर १४ गतेपछि कुर्नैपर्छ । कास्कीका कुल ७१ हजार ८ सय ७१ मतदाताले ३२ स्थल र ८२ केन्द्रबाट मतदान गर्दै छन् । रासस
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

