एटीएम ह्याकिङः नेपाली बैंक भन्छन्, ‘तीन महिनाभित्र एटीएम कार्ड फेर्न सकिँदैन’
काठमाडौंः नेपालका विभिन्न ब्याङ्कलाई तारो बनाएर ह्याकरहरूले करोडौँ रुपैयाँ चोरेको घटनाबारे छानबिन गर्न गठित समितिले अहिले प्रचलनमा रहेका सम्पूर्ण म्याग्नेटिक स्ट्रिप कार्ड तीन महिनाभित्र हटाएर चिपमा आधारित कार्ड व्यवस्था मिलाउन सुझाव दिएको छ।
गत शनिवार ह्याकरहरूले नेपाल र भारतका एटीएमबाट नेपाली ब्याङ्कमा रहेको तीन करोड ५८ लाख रुपैयाँ भन्दा बढी रकम एटीएमबाट चोरेका थिए।
चिनियाँ ह्याकरहरूले काठमाण्डूका एटीएमबाट पैसा चोर्दा प्रयोग गरेका सम्पूर्ण कार्डहरू ‘म्याग्नेटिक स्ट्रिप’ भएको पाइएपछि राष्ट्र ब्याङ्कले सुरक्षा व्यवस्था थप सबल बनाउने उपाय भन्दै त्यस्तो सुझाव दिएको बताएको छ।
तर नेपाल ब्याङ्कर्स सङ्घका सदस्य अशोक शेरचन भन्छन्, “लाखौँ ग्राहकहरूले म्याग्नेटिक कार्ड प्रयोग गरिरहेकाले तीन महिनाभित्रै तिनलाई पूर्ण रूपमा विस्थापन गर्न असम्भव छ।”
कार्ड फेर्दा हुने असर
चिप र पिनलाई नेपाल राष्ट्र ब्याङ्कले यसअघि नै अनिवार्य बनाएको थियो।
यद्यपि अहिले पनि चिपले कारोबार गर्न असफल भएको खण्डमा ‘फलब्याक’ भनिने वैकल्पिक बाटोबाट पुरानै म्याग्नेटिक स्ट्रिप कार्डको शैलीमा कारोबार गर्न सकिन्छ।
“म्याग्नेटिक कार्डमा खातावालका सीमित सूचना हुन्छन् जसले गर्दा आधिकारिकता पुष्टि गर्ने सवालमा ह्याकरहरूले फाइदा उठाउन सक्ने जोखिम उच्च हुने गरेको हो,” ब्याङ्किक सुरक्षा मामिलाका जानकार सूचनाप्रविधिविज्ञ सुरेश कर्ण भन्छन्।
तर एटीएमबाटै प्रविधिलाई छक्याउँदै चोरी गर्ने क्रम बढेपछि राष्ट्र ब्याङ्कले त्यसलाई हटाउने सुझाव दिएको हो।
अहिले चिपजडित एटीएम कार्डले समेत निम्न अवस्थामा म्याग्नेटिक स्ट्रिपका रूपमा काम गर्ने गर्छन्:
म्याग्नेटिक कार्ड किन अझै प्रचलनमा?
म्याद बाँकी भएका म्याग्नेटिक स्ट्रिप कार्ड बोक्ने ग्राहकहरू अझै लाखौँको सङ्ख्यामा रहनुले ब्याङ्कहरूले अहिलेसम्म दुवै अवस्थामा अनुकूल हुनेगरी सुविधा दिइराखेको बताउँछन्।
“त्यसबाहेक नेपालमा थुप्रै विदेशी ब्याङ्किङ सेवाका कार्ड प्रचलनमा छन्। थुप्रै अमेरिकी ब्याङ्कले अझै म्याग्नेटिक स्ट्रिप कार्ड चलाउनु पनि अर्को कारण हो,” नेपाल इन्टरनेट फाउन्डेशनका अध्यक्ष विक्रम श्रेष्ठ भन्छन्।
म्याग्नेटिक स्ट्रिप कार्डमा ह्याकरहरूले अरूको विवरणमाथि थपघट गर्न सक्ने जोखिम उच्च हुने गरेको विज्ञहरूको भनाइ छ।
भिजा, मास्टरकार्डजस्ता सेवा प्रदायकहरूले भने म्याग्नेटिक स्ट्रिपमार्फत् कारोबार भएको खण्डमा थप विवरणको आधिकारिकता पुष्टि ब्याङ्कहरूले नै गर्नुपर्ने अन्यथा हुने भवितव्यमा आफूहरू जिम्मेवार नहुने सर्त राख्ने गरेको ब्याङ्कहरू बताउँछन्।
ब्याङ्कर्स सङ्घका अशोक शेरचनको भन्छन्, “ह्याकरहरूले चिप भएकै एटीएम कार्डबाट समेत ह्याकिङ गरिरहेका छन्। त्यसैले सुरक्षालाई समग्रतामा हेरिनुपर्छ।”
पछिल्ला वर्षमा एटीएमबाट चोरीका क्रम बढेपछि अब एटीएम कार्डमा औँठाछाप पनि हुने बायोमेट्रिक प्रणालीमा जानुपर्ने कुरा पनि उठेको छ।
विक्रम श्रेष्ठ भन्छन्, “त्यो भर्खर उदाइरहेको प्रविधि हो र केही देशले मात्र प्रयोग गरिरहेका छन्। तर नेपाल त्यसमा प्रवेश गर्ने हो भने चाहिँ पूर्वाधारका हिसाबले समस्या छैन।”
राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका भनाइमा तीन महिनाभित्र खातावाललाई सूचित गर्ने र त्यसभित्र उनीहरू एटीएमकार्ड फेर्न नआएमा ती कार्ड निष्क्रिय पार्न लगाइनेछ।
“र वैकल्पिक रूपमा म्याग्नेटिक स्ट्रीपबाट हुने कारोबार रोक्ने समेत तयारी भइरहेको छ।”
आक्रमण र क्षति
समितिका अनुसार गत शनिवार नेपालका १७ वटा ब्याङ्कका विभिन्न स्थानबाट ६८ वटा एटीएम कार्ड प्रयोग गरी एक करोड उनान्नब्बे लाखभन्दा बढी रुपैयाँ निकालिएको थियो।
सोही दिन भारतमा २४ ब्याङ्कका एक सय ३२ एटीएमबाट नेपाली ब्याङ्कलाई तारो बनाएर एक करोड पाँच लाखभन्दा बढी भारतीय रुपैयाँ झिकिएको पाइएको छ।
भारतमा झिकिएको केही रकम वास्तविक रूपमा सेवाग्राहीले गरेका कारोबार हुन सक्ने भनिएको छ।
त्यसदिन जम्माजम्मी तीन करोड ५८ लाख रुपैयाँ भन्दा केही बढी बराबरको रकम झिकिएको थियो।
बिहीवारयता एटीएमबाट एक दिनमा बढीमा ६० हजार रुपैयाँ मात्र झिक्न मिल्ने नयाँ सीमा कायम गरिएको छ।
पहिला एक दिनमा एक लाख रुपैयाँ झिक्न मिल्थ्यो।
अनुमान र अनुसन्धान
समितिले भिजा नेटवर्क वा नेप्स भनिने नेपालका ब्याङ्कहरूको आन्तरिक सञ्जाल वा दुई प्रणालीबीच कहीँ कतै कसैले अनधिकृत रूपमा नियन्त्रण लिई रकम चोरी गरेको अनुमान गरेको छ।
समितिमा रहेका राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार अहिले सिङ्गापुरबाट बोलाइएका विज्ञहरूको टोलीले ह्याकबारे थप अनुसन्धान गरिरहेका छन्।
कार्यकारी निर्देशक मिश्रले भने, “अनुसन्धान केही नेपालमै बसेर र केही देशबाहिर अवस्थित प्रविधि प्रयोगशालामा समेत हुन सक्छ।”
घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले चिनियाँ समूहका छ जनालाई पक्राउ गरेको छ। तीमध्ये एक जनासँग फ्रान्सको नागरिकता भएको बताइएको छ।
उनीहरूबाट काठममाण्डूका एटीएमबाट चोरिएको अधिकांश रकम बरामद भएको प्रहरीले जनाएको छ।
राहदानी विभागको सेवा ठप्प
काठमाडौँ । केही दिनदेखि राहदानी आवेदन प्रणाली अवरुद्ध हुन पुगेको छ । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको जनाएको छ । विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने जनाएको छ । विभागले समस्या समाधान गर्दै २ दिन भित्रमा नयाँ आवेदन फाराम भर्नका लागि भने बुकिङ खुला गरिने छ ।‘भाईरस देखा परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी पर्याप्त सतर्कता अपनाईएको तथा आवेदकको तथ्याङ्क पूर्ण सुरक्षित रहेको बेहोरा अनुरोध गर्दै धैर्यता अपनाउनका लागि विभाग अनुरोध गर्दछ’, सूचनामा भनिएको छ। सेवाग्राहीलाई पर्नजाने असुविधाप्रति आफूहरु संवेदनशील रहेको भन्दै विभागले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको जनाएको छ ।
रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
नेता राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भयो : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य पदम राईको निधनबाट नेपाली कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । राइप्रति माओवादी केन्द्रको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जली दिने क्रममा शोक वक्तव्य मार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रचण्डले भन्नुभयो 'हाम्रो पार्टी कमरेड पदमबहादुर राईप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ। उहाँको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको छ । शोकको यस घडीमा आम पार्टीपंक्ति र जनसमुदायमा शोकलाई शक्तिमा बदल्न हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।' 'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कमरेड पदमबहादुर राईको ५८ वर्षको उमेरमा २०८१ मंसिर ८ गते बेलुकी ६ बजेर ३० मिनेट जाँदा वीर अस्पताल काठमाडौंमा निधन भएको खबरले हाम्रो सिङ्गो पार्टी मर्माहत भएको छ। यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राई प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि.भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो,' उहाँले भन्नुभयो। राई २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर(तेह्रथुम(संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्य बन्नुभएको थियो । उहाँले २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री, २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौंमा भ्रष्टाचारीहरुको र्याली देख्न परेको छ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौंमा भ्रष्टाचारीहरुले र्याली गरेको देख्न परेको बताउनुभएको छ । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार भ्रष्टाचारीहरुले कब्जा गरेर सडकमा समेत भ्रष्टाचारीहरुले नै प्रर्दशन गर्ने गरेको बताउनुभएको हो । सो क्रममा उहाँले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताउनुभयो ।हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उहाँले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताउनुभयो । ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उहाँले भन्नुभयो। नेपालमा अवैध ढंग्गले सामानहरु ल्याउने गतिविधि भैरहेको बताउनुभयो । उहाँले बिआरआई जस्तो विकासको योजना ल्याउन हुँदैन भन्ने तर विदेसी सेनालाई नेपालमा आमन्त्रण गर्ने खालका एमसिसि, एसपीपी जस्ता योजनाहरुलाई स्वागत गर्ने काम गरेको बताउनुहँदै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सरकारसँग गरेको ३ बुँदे सहमतिलाई इमान्दारी पूर्वक कायान्वयनको माग गर्नुभयो । सो सहमति लागु गरेर जेल परेका नेकपाका नेता कार्यकर्ताहरुलाई रिहा गरे आगामी चुनावमा प्रतिस्प्रर्धा गरेर अगाडि बढ्न तयार रहेको उहाँले बताउनुभयो ।