एनआईसी बैंकको प्रशंसा गरेका नबिलका सिईओ शाहले भने, ‘कारबाही भोग्न तयार छु’
काठमाडौं, बैशाख ४ । नबिल बैंक लिमिटेडका सिईओ अनिल केशरी शाहले नबिल बैंकले ल्याएको ‘नारी निक्षेप र कर्जा अफर’ कार्यक्रममा आफ्नो प्रतिस्पर्धी बैंक एनआइसी एसिया रहेको बताएका थिए ।
त्यतिमा नै उनले आफ्नो कुरा सिमित राखेनन् । एनआईसी एसिया बैंकको प्रशंसा गर्दै उनले पछिल्लो समय त्यो बैंकले ठूलो फड्को मारेको बताएका थिए । उनले भनेका थिए ‘नढाँटी भन्दा अबको हाम्रो मुख्य प्रतिस्पर्धा नै एनआईसी एशिया बैंकसँग हो । एनआईसी एशियाले मैले समेत नसोचेको कुरा गरेर देखाइदियो । उसको प्रगति अनुकरणीय र प्रशंसनीय छ ।’
अनिलको भनाई एनआईसी एसिया बैंकले पछिल्लो समय आफ्नो शाखा विस्तार गरी खुद्रा व्यापार र साना तथा मझौला व्यवसायी उन्मुख भएको र यो ठूलो उपलब्धि रहेको भन्ने थियो। उनले भनेका थिए, ‘नेपालमा यो क्षेत्र ठूलो छ र एनआईसीले यसमा हात अघि बढाएकोले यो काम अनुकरणीर छ।’
यति कुरा गरेका अनिल केशरी शाह विवादमा तानिए। एक बैंकको सिईओ रहेर अर्को बैंकको प्रशंसा गर्ने भन्ने विषयले चर्चा समेत पायो । पछिल्लो समय उनलाई सञ्चालक समितिले स्पष्टिकरण समेत लिएको छ । सञ्चालक समितिका सदस्यहरुले समितिको बैठकमा उनलाई बोलाएरै एनआईसी एसियाको बारेमा बोलेका कुराहरुको बारेमा सोधेका थिए ।
सञ्चालक समितिका एक सदस्यका अनुसार शाहले बैंकलाई नै धक्का पुग्ने गरी नकारात्मक कुरा बोलेको भन्दै समितिको बैठकमा आलोचना भएको थियो । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रहेको व्यक्तिको जिम्मेवारी के हुने, के नहुने भन्ने कुरा पनि उनलाई सोधिएको थियो ।
सञ्चालक समिति सदस्यहरुको कुरामा कुनै प्रतिक्रिया नजनाई सबैको कुरा सुनेरै लामो समयसम्म शाह मौन बसेका थिए । बरु सदस्यहरुले बोल्न छोडेपछि उनले राम्रो तरिकाले आफ्नो कुरा प्रष्ट्याए । उनले उक्त बैठकमा भनेका थिए, ‘आफूलाई विवादमा नै पार्ने अभिप्रायले त्यस्तो अभिव्यक्ति दिएको होइन । पछिल्लो समयको राइजिङ बैंक एनआईसी रहेको आशयले त्यो कुरा बताएको हुँ । एनआईसी बैंक पनि आफ्नो प्रतिष्पर्धी हुन सक्छ, भनेको हुँ ।’
यति कुरा गरेपछि उक्त बैठकमा सञ्चालकहरुको तर्फबाट मिडियामा बोल्दा विचार गरेर बोल्नुपर्ने भन्दै अरु बैंकहरुले यसको फाइदा लिन सक्ने भन्दै उनलाई सचेत गराइएको थियो । बैंकको कार्यकारी अधिकृत भएपछि हरेक शब्दमा ध्यान दिनुपर्ने सञ्चालकहरुको भनाई थियो ।
उक्त प्रशंगमा शाह अलि चर्किएका थिए । शाहले भनेका थिए, ‘आफूले कुनै अप्ठ्यारो पार्ने हिसावले अभिव्यक्ति नदिएकाले यसमा कारबाही नै हुन्छ भने पनि भोग्न तयार छु ।’ यति भनेपछि सबै जना मुखामुख गरेर मिटिङ सकिएको ति सञ्चालकले बताए। तर शाहलाई कारबाही भने भएको छैन ।
कस्तो छ नबिल र एनआईसी एशियाको सुचांक ?
पछिल्लो समय आक्रामक रुपमा अगाडि बढेको एनआईसी एशियाले देशभर दुई सय ८१ वटा शाखा स्थापना गरिसकेको छ, जसबाट अग्रणी बाणिज्य बैंकहरूमाथि पनि दबाब परेको छ । नबिल बैंकका अहिलेसम्म देशभर ७५ वटामात्रै शाखा रहेका छन् ।
चुक्ता पुँजी पनि दुबै बैंकको ८ अर्ब हाराहारीमा रहेको छ। त्यस्तै पछिल्लो समय एनआईसी एशियाले आफ्नो फण्ड बिक्री गरेर केही रकम बढाएको छ । मुनाफाको कुरा गर्ने हो भने चालू आर्थिक वर्षको हालसम्म नबिल बैंकले २ अर्ब ४ करोड पुर्याएको छ भने एनआईसी एसियाले १ अर्ब ५० करोड बनाएको छ।
व्यापक रुपमा शाखा सञ्जाल विस्तार गरी सर्वसाधारणको निक्षेप संकलमा ध्यान दिएको एनआईसी एसियाको चालू वर्षको हालसम्मको निक्षेप १ खर्ब ७० अर्ब रहेको छ। जबकी नबिल बैंकको निक्षेप १ खर्ब ५६ अर्ब मात्रै पुगेको छ। कर्जा लगानीमा पनि एनआईसी नै केही अगाडि देखिएको छ। चालू वर्षको हालसम्म एनआईसीको कर्जा लगानी हालसम्म १ खर्ब ५० अर्बको हाराहारी रहेको छ भने नबिलले १ खर्ब ३० अर्ब मात्रै कर्जा प्रवाह गरेको छ।
आजका लागि विदेशी मुद्राको विनियमदर : कुन घट्यो, कुन बढ्यो ?
काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबार (मंसिर ६, २०८२ / नोभेम्बर २२, २०२५) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर यस प्रकार रहेको छ: अमेरिकी डलर (USD): खरिद १४२.८८, बिक्री १४३.४८ युरोपियन युरो (EUR): खरिद १६४.६१, बिक्री १६५.३० बेलायती पाउन्ड स्टर्लिङ (GBP): खरिद १८६.६१, बिक्री १८७.३९ अस्ट्रेलियन डलर (AUD): खरिद ९१.९९, बिक्री ९२.३८ क्यानेडियन डलर (CAD): खरिद १०१.४०, बिक्री १०१.८२ जापानी येन १० (JPY): खरिद ९.११, बिक्री ९.१५ चिनियाँ युआन (CNY): खरिद २०.०९, बिक्री २०.१८ साउदी रियाल (SAR): खरिद ३८.१०, बिक्री ३८.२६ कतारी रियाल (QAR): खरिद ३९.२०, बिक्री ३९.३६ युएई दिराम (AED): खरिद ३८.९०, बिक्री ३९.०६ कुवेती दिनार (KWD): खरिद ४६५.०१, बिक्री ४६६.९७ बहराइन दिनार (BHD): खरिद ३७८.९९, बिक्री ३८०.५८ भारतीय रुपैयाँ (ICR) १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ रुपैयाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै बेला संशोधन गर्न सक्ने र वाणिज्य बैंकहरूले आफैंले थोरै फरक दर कायम गर्न सक्ने जनाएको छ।
सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात दशमलव शून्य तीन प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी ३४ दशमलव ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ । आव २०८०/८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थियो । त्यसैगरी, आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार चार खर्ब ३० अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर दुई दशमलव आठ दुई दशमलव आठ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरेको छ । समीक्षा वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र दुई दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन दुई दशमलव ७७ प्रतिशतले बढेको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८ दशमलव ८९ प्रतिशत र १६ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादनअन्तर्गत माछा उत्पादन १० दशमलव ३६ प्रतिशत, मासु शून्य दशमलव ७९ प्रतिशत, ऊन उत्पादन तीन दशमलव २७ र अण्डा एक दशमलव ७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १० दशमलव १४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ । विसं २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३ दशमलव ४१ प्रतिशतले ह्रास भई रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ । प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४ दशमलव ४७ प्रतिशत छ । समष्टिगत रूपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६ दशमलव ९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा चार दशमलव ३७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७२ करोड तीन लाख पुगेको छ । उक्त आवमा नमुनाका रूपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६ दशमलव ४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिस्ट्रेसन सङ्ख्या ३७ दशमलव ५० प्रतिशतले बढेको छ भने रजिस्ट्रेसन राजस्व ३७ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६ दशमलव ३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह दुई दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२ दशमलव ८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५ दशमलव ६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६ दशमलव ४७ प्रतिशत खर्च भएको छ ।
ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई करसहित आठ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको १९औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेकाे वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै आठ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा र पाँच अर्ब सात करोड रुपैयाँ करपछिको खुद नाफा आर्जन गरेको जनाएको छ । साधारण सभामा अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति तथा नियमको पूर्ण पालना गर्दै सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनका अनुसार बैंकले आफ्नो व्यावसायिक रणनीतिअनुसार नयाँ व्यावसायिक क्षेत्रको सन्तुलित विस्तार गर्दै जाने योजना पनि अघि सारेको छ । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट अनेक विधामा सम्मानित हुँदै आएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक इएसजी नेपाल २०२४, र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ । देशका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर, र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवामार्फत विश्वभरका नेपालीलाई सहज र भरपर्दो आर्थिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।
साढे ६२ लाखमा १० बैंकको कर्जा गुणस्तर परीक्षण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । शुक्रबार गरिएको सम्झौताअनुसार कम्पनीलाई ६२ लाख ५४ हजार ११२ रुपैयाँमा परीक्षणको जिम्मेवारी दिइएको छ । कम्पनीले पाँच महिनाभित्र परीक्षण सकाउनुपर्नेछ । सम्झौता बमोजिम ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य बैंक, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया बैंकको कर्जा गुणस्तर परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाअन्तर्गत १० ठूला वाणिज्य बैंकको कर्जा परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । त्यसअनुसार राष्ट्र बैंकले दोस्रोपटक आह्वान गरेको टेन्डर प्रक्रियाबाट आर्थिक र प्राविधिक दुवै पक्षमा योग्य ठहरिँदै हउलादार कम्पनी चयन भएको हो । राष्ट्र बैंकका अनुसार छानिएका कम्पनीले १०० मा ७१.३४ अंकको कुल वेटेड स्कोर हासिल गरेको छ ।

