एनआरएनए अमेरिकाको निर्वाचन दौडमा डा. केशब धेरै अगाडि छेउ मै छैनन प्रतिस्पर्धी
टेक्सस (अमेरिका), भदौ १९ । एक वर्षदेखि प्रतीक्षारत गैरआवासीय नेपाली संघ, अमेरिका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन यसै हप्ताको ५ र ६ तारिख तय भएसँगै अमेरिकी डायस्पोरामा नेतृत्व पदका लागि जोड–घटाउ शुरु भएको छ ।
यसअगाडि अध्यक्ष पदमा पाँच प्रत्यासीले नेतृत्वमा आकांक्षा देखाए पनि गौरीराज जोशीको उम्मेदवारी मनोनयनलाई निर्वाचन समितिले प्रक्रिया नपुगेको कारणसहित अयोग्य ठहराएको थियो । त्यही अयोग्यताको असन्तुष्टिलाई लिएर जोशी अदालतको ढोका ढकढक्याउन पुगेपछि अनिश्चित बनेको राष्ट्रिय समितिको निर्वाचन पुनः जोशीले डा. केशव पौडेललाई एक कार्यकाल थप काम गर्न दिने भन्दै मुद्दा फिर्ता लिएपछि मार्ग प्रशस्त भएको थियो ।
अध्यक्ष पदका लागि वर्तमान कार्यसमितिका अध्यक्ष डा. केशव पौडेलसँग प्रतिस्पर्धा गर्न वर्तमान कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, उपाध्यक्षद्वय रविना थापा र राम सी पोखरेल लागिपरेका छन् । १४ हजार सदस्य रहेको गैरआवासीय नेपाली संघकोे नयाँ नेतृत्वमा ४ आकांक्षीमध्ये वर्तमान अध्यक्ष डा. केशव पौडेल नै सबैभन्दा योग्य उम्मेदवार भएको प्रतिक्रिया दिन्छन् न्यूयोर्कस्थित शिक्षा पेशामा आबद्ध दिलिप ओझा ।
ओझा भन्छन्– ‘दुई वर्षअगाडि भारी मतले निर्वाचित डा. पौडेलविरुद्ध पराजितहरुले हारेकै हप्तादेखि मुद्दा हालेर दुःख दिए । मलाई लाग्छ डा. पौडेलले उनको क्षमताअनुसार काम गर्नै पाएका छैनन् । उनलाई काम गर्न दिइएकै छैन । त्यसैले एक पटक पुनः उनलाई अमेरिकाबासी नेपालीले विवेक पु¥याएरै जिताउनुपर्छ ।’
लभलेस हेल्थ सिस्टम नामक अस्पतालका सिनियर मेडिकल डाइरेक्टर, स्टेट युनिभर्सिटी अफ न्यूयोर्क अपस्टेटका पूर्व प्राध्यापक, हस्पिटल मेडिसिन सोसाइटी न्यू मेक्सिकोका पूर्व अध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालको उत्कृष्ट मेडिकल अफिसर अवार्डबाट सन् २००३ मा सम्मानित डा. पौडेलका वर्तमान प्रतिस्पर्धीहरु सामान्य रुपमा पनि अमेरिकी नेपालीले एनआरएन अध्यक्षका लागि स्वीकार गर्ने खालको नहुनुले पनि यस पटकको निर्वाचनमा डा. पौडेल निकै अगाडि भएको बताउनेहरुको कमी छैन । अध्यक्ष पदका अन्य प्रत्यासीहरुमा कृष्ण पोखरेल न्यूयोर्क लाइफ इन्स्सुरेन्सका इन्सुरेन्स एजेन्ट हुन् भने रविना थापा बाल्टिमोरस्थित लुम्बिनी रेष्टुरेन्टकी सञ्चालिका हुन् । त्यसैगरी राम सी पोखरेल टेक्ससस्थित किराना व्यापारी हुन् ।
डा. पौडेल निकै अगाडि
नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका डा. केशव पौडेलप्रति विश्वभरि क्रियाशील ८० प्रतिशत कांग्रेस निकट एनआरएन अभियन्ताहरुको सहानुभूति छ । डा. पौडेललाई अबका एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षका प्रत्यासी भवन भट्टले महासचिव पदमा अफर गरेका थिए भने उनीसँगै भिड्ने तयारी गरेका कुमार पन्तले सचिव पदमा अफर गरेका थिए । तर, डा. पौडेलले माथि जाने उच्च महत्वाकांक्षा देखाएनन् ।
गत कार्यकालमा विपक्षीहरुले निर्वाचन जितेकै दिनदेखि मुद्दामामिला गरेर अनावश्यक विवाद गरेर काम गर्नै नदिएपछि थप एक कार्यकाल अमेरिकाभित्रै काम गर्ने उनको उद्देश्यलाई सकारात्मक रुपमा लिने ठूलो जमात अमेरिकामा उनको पछाडि छ । उनलाई बोलेपछि पूरा गरेरै छाड्ने व्यक्तिका रुपमा अमेरिकामा चिन्ने गरिन्छ भने विपत्ति परेका बेला स्टेथेस्कोप बोकेर बिरामी जाँच्न मैदानमा उत्रने व्यक्ति हुन् डा. पौडेल भन्छन् क्यालिफोर्नियाका जीवन पन्त । उनी भन्छन्– ‘डा. पौडेलले नेपालको भूकम्पमा देखाएको भूमिकाले म नतमस्तक छु । अहिलेका अन्य प्रतिस्पर्धीहरुभन्दा डा. पौडेलले धेरै अगाडिको दूरी तय गरिसकेका छन् । डा. केशव पौडेलले सबैभन्दा महत्वपूर्ण दृष्टि टिम निर्माणमा देखाएका छन् । मधेस र मधेसीको प्रतिनिधित्व हुने गरी वरिष्ठ उपाध्यक्षमा सुमन साह लिएका छन् । महासचिवमा जनजाति प्रतिनिधित्व हुने गरी बाबुराम लामालाई लिएका छन् ।
डा. केशव पौडेलको अर्को जित्ने आधार भनेको उनीसँगै प्रतिस्पर्धा गर्न कम्मर कसेर लागेका गौरीराज जोशीको समर्थनले उनलाई थप मजबुत बनाएको छ । नेपालमा व्यापारिक साझेदारीदेखि वृद्धाश्रम निर्माण र चेपाङलाई सहयोगमा समेत सहयत्रा गर्दै आएका गौरीराज जोशी र डा. पौडेलको मित्रता अत्यन्त गहिरो छ । त्यही कारणले जोशीले डा. पौडेलसँग प्रतिस्पर्धा नगर्ने बरु सहकार्य गर्दै सफलता हासिल गर्ने भन्दै मुद्दा फिर्ता लिएको कुरा यी दुईको सहमति भएको बैठकमा बसेका एक सामाजिक कार्यकर्ताले बताए ।
एकातर्फ प्रतिस्पर्धीहरु निकै कमजोर हुनु र अर्कोतर्फ डा. पौडेल व्यावसायिक, राजनीतिक र सामाजिकरुपमा अब्बल हुनुले सन् २०१७ देखि २०१९ सम्मको कार्यकालका लागि अमेरिकी एनआरएनमा पुनः डा. पौडेल लगभग सुरक्षित देखिएका हुन् ।
वकिल जिसीको हर्कत
गतवर्ष एनआरएन अन्तर्राष्ट्रिय परिषद्मा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर भारी मतले पराजय भोगेका न्यूयोर्कका वकिल खगेन्द्र जिसीलाई पुनः उपाध्यक्ष पदको भोक जागेपछि उनले योग्यता नै नपुगेका सोझा स्वभावका व्यवसायी गौरीराज जोशीलाई अनावश्यक उचाले । आफ्नो अनुकूलको अध्यक्ष जिताउँदा आफू अनुकूलका प्रतिनिधि अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा पु¥याउँदा आफूलाई उपाध्यक्ष जित्न सजिलो हुने जिसीको सपनाका कारण फुल्दै गरेको एनआरएन कचहरीसम्म पुग्यो । निर्वाचन नै तीन महिना ढिला सम्पन्न हुने भयो । कांग्रेस नेता महेन्द्रध्वज जिसीका भाइ खगेन्द्र जिसी आफ्नो फाइदाका लागि जुनसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । अहिलेका अध्यक्ष पदका बलिया प्रत्यासी डा. केशव पौडेल नेविसंघकै पूर्व नेता भए पनि जिसीले आफू अनुकूल नहुने भएपछि गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध उम्मेदवारी दिन लगाएका थिए । तर, गौरीराज जोशी एक कार्यकाल काम नगरेका कारण विधानअनुसार उनी अध्यक्ष पदका लागि योग्य भएका थिएनन् ।
उता, जिसीसँगसँगै कांग्रेस प्रवास संगठन जनसम्पर्क समितिका अध्यक्ष गोरखबहादुर विष्ट पनि डा. पौडेलविरुद्ध व्यक्तिगत रिस साँधेर पछि लाग्दै गए । गौरीराज जोशीलाई डा. पौडेलविरुद्ध भड्काउँदै गए । गौरीराज जोशीलाई अनावश्यक उचालेर जिसी, विष्ट र एमालेका केही कार्यकर्ता मिलेर अदालतमा मुद्दा दर्तासमेत गराइयो । तर, व्यापारमा राम्रो सफलता हासिल गरेका सोझो स्वभावका जोशीले यी सबैलाई पिठ्युँ फर्काएर मुद्दा फिर्ता लिए र एक पटक डा. पौडेललाई नै अध्यक्ष बनाउने निर्णयमा पुगे ।
जोशीले नाम फिर्ता लिएपछि एकाएक तिलमिलाएका खगेन्द्र जिसी अर्का अवसरवादी स्वभावका कृष्ण पोखरेललाई अध्यक्ष बनाउनुप¥यो भनेर सामाजिक सञ्जालमा शेयर गर्न व्यस्त छन् । जिसी अध्यक्षका कृष्ण पोखरेल र अन्य पदमा एमालेका कार्यकर्ताको फोटो राखेर प्रचारप्रसार गर्न थालेपछि अहिले सामाजिक सञ्जालमा जिसीविरुद्ध व्यापक विरोध भएको छ । तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको कृपामा परराष्ट्रको अवैतनिक एनआरएनएन सल्लाहकारको नियुक्ति लिएका जिसीले खुल्लम्खुल्ला सामाजिक सञ्जालबाट उम्मेदवारी प्रचार गर्न थालेपछि विरोध भएको हो ।
अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए
काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।
यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
कम्बोडियाबाट १२ नेपालीको उद्दार
काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।
डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन
काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।


