चलचित्र ‘छ माया छपक्कै’: नाम बदलियो, पारा उही

चलचित्र ‘छ माया छपक्कै’: नाम बदलियो, पारा उही

काठमाडौंः दसैं लागेलगत्तै फिल्म ‘छ माया छपक्कै’ रिलिज गर्न नपाउँदा रिसाएका दीपक– दीपा टिमले फिल्मप्रति दर्शकको ध्यान तान्न निक्कै कसरत गरे ।

ट्रेलर जारी गरेपछि राम्रो प्रतिक्रिया आएन । अनि जानजान विवादित शब्द राखेर तिजे गीतको रिमेक गरे पनि गाली खाए । आफूमाथि राजनीति गरेको भन्दै हल सञ्चालकलाई गर्नसम्म गाली गरे ।

फिल्म रिलिज भएको पहिलो दिनको ओपनिङ राम्रो भएपछि अहिले उनीहरु शान्त छन् । उनीहरुले चाहेजस्तो सबै हलमा एकछत्र फिल्म लगाउन नपाए पनि फिल्मको कलेक्सन राम्रो छ ।

‘छक्का पञ्जा’को सिरिजमा समीक्षकहरुबाट टर्रो समीक्षा पाएका उनीहरुले यो फिल्मबाट मध्यमस्तरको प्रशंसा पाइरहेका छन् । समीक्षकप्रति सधैँ आगो ओकल्ने दीपक अहिले नरम देखिएका छन् । यो सकारात्मक नै हो ।

यसको कारण हो ‘खानेपानी अभाव, राजनीति र प्रेम सम्बन्धको उतारचढावलाई केन्द्रमा राखेर प्रस्तुत गरेको फिल्म ‘छ माया छपक्कै’ ‘छक्का पञ्जा’ सिरिजभन्दा केही सुधारिएर आउनु । गम्भीर विषयको उडन्ते प्रस्तुति र टेलिसिरियल ‘तीतो सत्य’को ह्याङबाट केही हदसम्म उनीहरु मुक्त देखिए ‘छ माया छपक्कै’मा । तर सुधार्नुपर्ने पाटाहरु भने टन्नै देखियो यसमा पनि ।

दर्शक हँसाउन छन्द मिलेका डायलगको प्याटर्नले दीपक–दीपा छक्कापञ्जाको ह्याङबाट मुक्त हुन सकेका छैनन् । फिल्मको मूल कथाभन्दा उपकथातिर बढी फोकस गर्दा फिल्म अल्मलिएको छ ।

फिल्मको मुलकथा पानीको राजनीति मान्ने हो भने फिल्मको कथावस्तुसँग फिल्मको टाइटल ‘छ माया छपक्कै’ समेत सुहाउँदैन । फिल्मको कथावस्तुसँग फिल्मको नामको सम्बन्ध नदेखिनुमा दीपक–दीपाको छ शब्द फाप्ने भ्रमले काम गरेको देखियो ।

यो फिल्मले दीपक–दीपा सुधारिएको देखियो तर यस अगाडि जातपातको विभेद र किसानको दुखमाथि फिल्म बनाएका निर्देशक दीपेन्द्र लामा विचलित भएको देखियो ‘छ माया छपक्कैमा ।’

फिल्मको कथा हो कचञ्चनपुरको गोदावरी गाविसको घडेरी गाउँ । गाउँमा ४५ सालको भूकम्पपछि सडक पुग्यो, बिजुली पुग्यो तर भूकम्पले पानीको मुहान सुकाइदियो । गाउँका दिदीबहिनी पानी थाप्नकै लागि सधैँ लामो बाटो हिँड्छन् । सबैलाई पानीकै पीर छ ।

गाउँका नेता बिपी (दीपकराज गिरी)‘कमरेड’लाई गाउँमा पानी ल्याउनु छ । बिपीका बुबा (प्रकाश घिमिरे) पनि चुनाव जितेर गाउँमा पानी ल्याउन चाहन्छन् । छिमेकी गाउँ टोड्केमा भने पानीको अभाव छैन तर त्यहाँ लोकतान्त्रिक मत राख्ने दल हावी छ । घडेरी गाउँमा कम्युनिस्ट विचारधारा राख्नेहरु बढी छन् ।

फरक राजनैतिक पार्टीको नेताकी छोरी जल (केकी अधिकारी)सँग बिपीको माया बस्छ । जल त्यही टोड्के गाउँकी हुन् । टोड्के गाउँ न नानी दिन तयार छ, न पानी । यही पानी र नानीकै लागि हुने उतारचढाव नै ‘छ माया छपक्कै’ को कथा हो ।

जलस्रोतमा धनी भनिए पनि खानेपानीको अभाव हाम्रो ठूलै समस्या हो । के सहरी क्षेत्र, के पहाडी ग्रामीण भेग अनि के समथर मधेस । सबैतिर उस्तै छ पानीको समस्या । अनि पानीको समस्यालाई लिएर हुने राजनीति पनि चर्कै छ यहाँ । काठमाडौंबासीमाझ भइरहेको मेलम्ची खानेपानीको राजनीति नै यसको बलियो उदाहरण हो । पानीको यही अभावमा भइरहेको राजनीतिलाई फिल्मले देखाउन खोजेको छ ।

भूकम्पपछि मज्जाले पानी आइरहेको पहाडी भूभागमा पानी सुकेर हैरान भएको गाउँ काल्पनिक हैन, वास्तविकै हो । त्यसैले विषयवस्तुको छनोट यथार्थपरक छ ।

तर, सान्दर्भिक विषय उठाए पनि फिल्मको कमजोर प्रस्तुतिले मुख्य विषय नै छरियो फिल्ममा । फिल्म कहिले प्रेमतिर केन्द्रित हुन्छ, कहिले राजनीतितिर । यसले निर्देशक मूल विषयको प्रस्तुतिमा अल्मलिएको प्रस्टै देखियो ।

पानीको अभावमा दुःख पाइरहेको गाउँलेको दृश्यले फिल्म हेर्ने दर्शकको मनमा करुणा उत्पन्न गर्न सक्दैन । न बिपी र जलको पर्दाको प्रेमले मन छुन सकेको छ । न सामाजिक समस्यालाई राजनीतिक हतियार बनाउने नेताप्रति आक्रोश नै जगाउन सक्छ फिल्मले । यसले स्क्रिप्टमा भएको कमजोरी छरपस्टै भयो हलमा ।

पानीमाथिको राजनीति र प्रेमको कथातिर ढल्कँदा फिल्मको केन्द्रीय द्वन्द्व नै अलमलमा परेको छ । क्लाइमेक्स पनि खास छैन ।

संवादमा ‘छक्का पञ्जा’बाट माथि उठ्न सकेको छैन ‘छ माया छपक्कै’ पनि । परिस्थिति भन्दा संवादबाटै जबरजस्ती हँसाउने प्रयास छाडेका छैनन् दीपक– दीपाले ।

राजनीतिक समस्या प्रस्तुत गर्नेक्रममा निर्देशक कम्युनिष्टवादप्रति नकारात्मक देखिएका छन् । कम्युनिष्ट भनेका अस्थिर, मौका परस्त र चन्दा संकलन गरेर आम नागरिकलाई दुख दिनेहरु हुन् भन्ने स्थापित गर्ने प्रयत्न गरेको छ फिल्मले ।

राजनीतिको निर्मम पाटो देखाउन निर्माण गरिएको गोली कान्छा (केदार घिमिरे)को गोली लागेको कथा दृश्यमा झर्कोलाग्दो छ । अभिनय सीपले गोली कान्छाले दर्शकलाई फिल्मको अन्त्यसम्म होल्ड भने गराइरहन्छ ।

प्रवीण (जितु नेपाल)को प्रेम नेपाली समाजमा सुनिरहेकै कथा हो । उनको कथाले होचो कद भएकाको प्रेमकथा कताकता भन्न खोजेको छ । फिल्मबाट उनको कथा हटाउने हो भने फिल्म अपुरो हुन्न । फिल्ममा एउटा दृश्य छ, पानीको लागि झाँक्रीले पूजा गरेको । उक्त दृश्य हुनु र नहुनुले मुख्य कथामा खास अर्थ राख्दैन । त्यस्तै बिपीले प्रेमकै खातिर पार्टी छाडेर अर्को पार्टीसँग मिल्न जाने दृश्य क्लिसे लाग्छ । शुक्रबार साप्ताहिकबाट

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन । कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् । फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन् । यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ । यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

‘दुई कदम’ हङकङमा

काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ुदुई कदमु हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छ्न । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो । उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो । फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले बताए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आज नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रसमेत आज नै आउँदैछ । त्यसैले हामीले पनि यही समय रोजेका हौँ ।’ चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । शर्मिला पाण्डेको निर्माण, निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

लोकप्रिय