चुनाव हारेपछि समिक्षा गर्न कांग्रेस महासमिति बैठकको तयारी
काठमाडौं, पुस १ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्।
देउवानिकट नेता बालकृष्ण खाँणले सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको नतिजा आएसँगै सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र एक महिनाभित्रै महासमिति बैठक डाक्ने बारेमा परामर्शमा हुनुहुन्छ।’
महासमिति बैठक भैरहवामा गर्ने बारेमा पनि छलफल भइरहेको खाँणले जानकारी दिए।कांग्रेसको विधानमा एक वर्षमा एकचोटि महासमिति बैठक बस्ने व्यवस्था गरिएको छ। देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि महासमिति बैठक बसेको छैन।
सभापति देउवाले पार्टी संरचनालाई पनि पूर्णता दिन सकेका छैनन्। केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयनदेखि पार्टीका अधिकांश विभागले समेत पूर्णता पाएका छैनन्।देउवा नेतृत्वको सरकारले गराएको संघ र प्रदेशसभा चुनावमा कांग्रेसले नमिठो पराजय बेहोरेको छ। संघ प्रत्यक्षतर्फको १ सय ६५ सिटमध्ये कांग्रेसले २३ सिट मात्रै जितेको छ।
चुनावमा पार्टी पराजित भएपछि केही युवा नेतादेखि पुराना पुस्तासम्मले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिर्वतनसम्मको आवाज उठाएका छन्। कांग्रेस नेता खाँणले २०६४ साल जस्तै २०७४ सालमा पनि कांग्रेस संख्यातमक रूपमा तल देखिए पनि मुलुक जितेको सन्देश गएकोले निर्वाचन सम्पन्न गराएको जसको फाइदा कांग्रेसलाई पछि हुने जिकिर गरे।
‘परिणाम हेर्दा हामी केही खस्किएको जरुर छौं’, खाँणले भने, ‘तर देशको राजनीति सफल भएको छ।’ उनले ०६४ यताका हरेक चुनावमा कांग्रेसले आफ्नो मत प्रतिशत बढाउँदै लगेको भन्दै सन्तोष व्यक्त गरे। ०६४ सालको पहिलो संविधानसभा चुनावमा कांग्रेसले २२ प्रतिशत मत पाएको थियो भने ०७० मा २९ प्रतिशत मत पाएको थियो। केही महिनाअघि मात्रै भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२ प्रतिशत मत प्राप्त गरेको थियो भने हालै सम्पन्न निर्वाचनमा ३४ प्रतिशतको हाराहारीमा मत पुर्याएको छ।
उनले प्रत्यक्षतर्फ बेहोरेको हारको समीक्षा गर्नकै लागि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकदेखि महासमितिको बैठक डाक्नेसम्मको तयारी थालेको बताए। चुनावका लागि गृहजिल्ला गएका सबै नेता मतपरिणाम सार्वजनिक भएसँगै राजधानी फर्कने क्रम सुरु भएको छ। राजधानी आएका प्रायः सबै नेतासँग देउवाले एक चरणको छलफल गरेको खाँणले जानकारी दिए।
खाँणले चुनवामा कांग्रेसले पाएको मतलाई मर्यादा गर्दै प्रतिपक्षमै बस्ने बताए। राष्ट्रियसभा गठन भएपछि प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री चयन भएसँगै आफूहरू प्रतिपक्षमा बस्ने खाँणले जानकारी दिए।
अध्यक्ष प्रचण्ड दाङमा
तुलसीपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रमलाई सम्बोधन दाङ पुग्नुभएको छ। उहाँले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अहिले विहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ। अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ। अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कनुहुने छ।
महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा गर्न प्रचण्डको आग्रह
काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाराष्ट्र रेल दुर्घटनामा परेका नागरिकको अभिभावकीय भुमिका पूरा नेपाल सरकारलाई गम्भिर ध्यानाकर्षण गराउनुभएको छ । हिजो भएको दुर्घटनमा सात जना नेपालीसहित नेपाली र भारतीय नागरिकको निधन र अरु थुप्रै घाइते भएको खबरले स्तब्ध बनेको बताउँदै अध्यक्ष प्रचण्डले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति सरकारले अभिभावकिय भुमिक निवार्ह गर्नुपर्ने बताउनुभएको हो । यस्तो छ सामाजिक सञ्जालमा उहाँले गर्नुभएको आग्रह
विस्तारै उकालो लाग्दै तापक्रम
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको छ। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको बताइएको छ । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ। यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने विभागका एक कमचारीले जानकारी दिए । विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ। न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ। २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।
उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए : सांसद सापकोटा
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो। जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।