जलविद्युत, सौर्यको परिचालन गरे दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुन्छः प्रधानमन्त्री प्रचण्ड
आवुदावी, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुने बताएका छन् । आवुदावीमा आयोजित दशौं विश्व भविष्य उर्जा सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत भएकाले हामीले यी श्रोतको परिचालन गरे समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुने बताए ।
सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ । यु.ए.इ.ले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मुख्य भूमिकालाई यस सम्मेलनले आत्मसात गरेको छ । उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानताका लागि जीवन प्रदायक वस्तु भएकोमा यो सम्मेलनले आत्मसात गरेको छ ।’
उर्जा सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा व्यक्त सम्बोधनको नेपाली संक्षेपीकरण यस प्रकार रहेको छः
१. यस महत्वपूर्ण सम्मेलनमा ख्याति प्राप्त राजनीतिज्ञ, व्यापारिक र प्राज्ञहरूसामू आफ्ना विचार राख्न पाउँदा आफू गौरवान्वित भएको छु ।
२. सम्मेलनमा भाग लिन निमन्त्रणा गर्ने र यसको व्यवस्था मिलाउने आयोजकलाई आभार व्यक्त गर्न चाहन्छु ।
३. यस सुन्दर नगरीमा मलाई प्रदान गरिएको आतिथ्यका लागि यु.ए.इ.का जनताहरू र सरकारलाई धन्यवाद दिन चाहन्छु ।
४. दिगो उर्जा र सफा प्रविधि प्राप्त गर्नका लागि साझा उद्देश्य लिएर छलफल गर्न यस बृहत् फोरमले उत्तम सम्भावना प्रदान गरेको छ ।
५. यु.ए.इ.ले उर्जा क्षेत्रलाई आमूल परिवर्तन गर्न खेलिरहेको मूख्य भूमिकालाई यस सम्मेलनले आत्मसात् गरेको छ ।
६. उर्जाको आवश्यकताको दिगो रुपले समाधान नगर्ने हो भने हाम्रा विकासका आयामहरू असफल हुनेछन्, उर्जा विकास र मानवताका लागि जीवन प्रदायक वस्तु हो ।
७. २०१५ मा विश्वका नेताहरूले हाम्रो दिगो आवश्यकताका लागि दिगो विकासका प्रण गर्नुभएको छ ।
८. त्यसमा सातौं गोलले सबैका लागि पहुँचमा भएको भरभर्दो, दिगो र आधुनिक उर्जाको निश्चितताको कुरा गर्छ ।
९. दुर्भाग्य छ की ५ मा १ जना आफैं आधुनिक विद्युतबाट वञ्चित छन् । र ६% हरित गृह उत्सर्जन हाम्रो कार्वनमूखी उर्जा खपतले गर्दा हुने गर्छ ।
१०. भविष्यमा हाम्रा सन्ततीले हाम्रा प्रतिवद्धतालाई शंका नगरुन भन्नका लागि विगतमा गरेका प्रतिज्ञा र प्रतिवद्धतालाई लागू गर्नुपर्ने बेला आएको छ । जसले तातो र अँध्यारो पृथ्वी भएर असफल भविष्यमा धकेलिनुबाट बँच्न सकिने छ ।
११. फसिल उर्जामा निर्भर भएको अर्थतन्त्रले जलवायु परिवर्तनका नकारात्मक असरबाट पृथ्वीलाई बचाउन सक्ने छैन ।
१२. नकारात्मक असरबाट बच्न र उर्जा सुरक्षा गर्न तथा हरित अर्थतन्त्रका लागि पनि सफा उर्जा (सौर्य, जल, हावा र थर्मल) को आवश्यकता छ । जसले मानव सुरक्षालाई प्रत्याभूत गर्ने छ ।
१३. जलविद्युतमा नेपाल पहिलेदेखि (१९११) लागि परेको छ तर विडम्वना छ कि हालसम्म ३०% जनता आफै विद्युतबाट बञ्चित छन् ।
१४ मेरो सरकार आउनुअघि वर्षौदेखि दिनहु १२ देखि १६ घण्टा विद्युत कटौती हुने गथ्र्यो । आपूर्ति तर्फको व्यवस्थापनलाई सुदृढ गरी हाल विद्युत कटौती पूर्ण रुपले हटाउन सफल भएका छौं ।
१५. यो विडम्वना छ कि ८३,००० मेघावाट विद्युतको सम्भावना हुँदाहुँदै हामीले उर्जा सङ्कट व्यहोर्नु परिराखेको छ ।
१६. सौर्य उर्जाको नेपालमा निकै ठूलो सम्भावना छ । ०.०१% यरियामा २९२० मेगावाट घण्टा प्रतिवर्ष पाउन सकिन्छ । जो २५१,२४३ टन तेल बराबर हो ।
१७. पुनः नवीकरणीय उर्जा नै हाम्रा लागि दिगो श्रोत हो, फसिल होइन ।
१८. यसरी नेपालमा जलविद्युत, सौर्य आदि प्रचुर मात्रामा स्रोत हुनाले उर्जा सङ्कट व्यहोर्नुपर्ने देखिदैन । हामीले यी श्रोतको परिचालन गर्नुपर्ने हुन्छ र समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल समक्ष हुनेछ ।
१९. उर्जा सङ्कटले हाम्रो राष्ट्रिय विकासको आकाङ्क्षालाई इङ्गित गरेको छ ।
२०. नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा द्रूतगतिले लागि परेको छ ।
२१. २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यम अर्थतन्त्रको सूचीमा पर्ने योजनाअनुरुप नेपालले २०३० सम्म ६००० मेघावाट थप विद्युतको व्यवस्था गर्नुपर्ने हुन्छ । यसैगरी २०४० सम्म २५,००० मेघावाट विद्युतको आवश्यकता पर्नेछ ।
२२. नेपाली उर्जा क्षेत्रमा लगानीको प्रचूर सम्भावना छ । खासगरी यातायात र अन्य पूर्वाधारका योजना अगाडि बढिरहेकाले उर्जाको विकासमा टेवा मिल्ने छ ।
२३. विद्युत वितरण र प्रशारण क्षेत्रमा लगानीको सम्भावना प्रशस्त छ ।
२४. हामीले वैदेशिक लगानीका लागि सहज नीति अवलोकन गरेका छौं । यसै सन्दर्भमा २०७१ मा हामीले राष्ट्रिय उर्जा सङ्कट निवारण र विद्युत विकास दशकको कार्ययोजना मनाउँदै छौं जसबाट सन् २०२५ सम्म १०,००० मेघावाट विद्युत उत्पादन गरिने छ । यसका लागि सहज नीति, नीजि क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय उर्जा उत्पादनमा अनुदान आदि नीति ल्याइएको छ ।
२५. हाम्रा श्रम नीति बजारमा छन् र नेपालमा सस्तोमा प्रशस्त श्रम उपलब्धता छ ।
२६. हामी उर्जा उत्पादनका लागि अलग्गै योजना विकास सम्झौता गर्ने नीति लिएका छौं । एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा हामी दक्षिण एसियामा दोस्रो सजिलोसँग व्यापार गर्ने देशमा पर्दछौं ।
२७. हामी ठूलो बजारको बीचमा भएकाले उर्जा व्यापारमा धेरै सम्भावना छन् । उर्जा व्यापार सम्झौता गरेर हाम्रो विद्युत भारतमा निर्यात गर्ने बाटो खेलेको छ ।
२८. व्यापारी साथीहरूलाई यसै मञ्चबाट २ र ३ मार्च २०१७ मा नेपालमा आयोजना गरिएको लगानी सम्मेलनमा निमन्त्रणा गर्न चाहन्छु ।
२९. हरित, सम्बृद्ध र दिगो भविष्यको सम्भावना छ । हामीमा प्रतिवद्धता, सोचाइ र बृहत् लगानीका लागि साझेदारीको आवश्यकता छ । त्यसका लागि दशौं उर्जा सम्मेलन फलदायी हुने विश्वास लिएको छु ।
तेलको मूल्य यस वर्षैभरि १०० डलर नाघ्ने प्रक्षेपण, विश्व अर्थतन्त्रमा दबाब बढ्ने संकेत
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य यस वर्षभरि नै प्रति ब्यारेल एकसय अमेरिकी डलरको हाराहारीमा रहने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तीय संस्था जेपी मोर्गनले तेल आपूर्तिमा देखिएको अस्थिरता र मध्यपूर्वी तनावका कारण मूल्य उच्च रहने अनुमान गरेको हो । बीबीसीका अनुसार जेपी मोर्गनले सार्वजनिक गरेको विश्लेषणमा विश्वव्यापी आपूर्ति सहज हुने अवस्था तत्काल नदेखिएकाले कच्चा तेलको मूल्य यस वर्षको बाँकी अवधिभरि प्रति ब्यारेल एकसय डलर आसपास रहने उल्लेख गरिएको छ । बैंकले सन् २०२६ मा पनि औसत मूल्य ९७ डलर रहने प्रक्षेपण गरेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोध र आपूर्ति शृंखलामा कायम असहजताले बजारमा दबाब बढाएको विश्लेषण गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी यही सामुद्रिक मार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा सीधा असर पार्ने गरेको छ । मध्यपूर्वमा बढ्दो तनावका बीच युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तहरू स्वीकार गर्न अमेरिका तयार नदेखिएपछि तेल बजार थप प्रभावित बनेको छ । यता, इरानले पनि बाह्य दबाबसामु नझुक्ने अडान दोहोर्याउँदै आएको छ, जसले ऊर्जा बजारमा अनिश्चितता झन् बढाएको विश्लेषकहरूको भनाइ छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा यसको मूल्य प्रति ब्यारेल ४ प्रतिशतले बढेर १०५.९४ डलर पुगेको जनाइएको छ । अप्रिल ८ मा युद्धविराम लागू भएपछि केही समय स्थिर देखिएको बजार पुनः उकालो लाग्दै प्रति ब्यारेल १०० डलर माथि पुगेको हो । ऊर्जा मूल्यमा आएको तीव्र उतारचढावले विश्वभरका ठूला ऊर्जा कम्पनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । साउदी अराम्कोकाले सन् २०२६ को पहिलो त्रैमासिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढीले बढेको जनाएको छ । त्यस्तै, बिपीले आफ्नो नाफा दोब्बरभन्दा बढी भएको प्रतिवेदन सार्वजनिक गरेको छ भने शेललले पनि आम्दानी वृद्धि भएको जानकारी दिएको छ । अराम्कोका प्रमुख कार्यकारी एक अधिकृतले युद्ध अन्त्य भए पनि ऊर्जा बजार तत्काल सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् । उनका अनुसार, “यदि होर्मुज मार्ग तत्काल खुलिहाले पनि आपूर्ति सन्तुलनमा फर्कन समय लाग्नेछ । विश्व ऊर्जा बजार पूर्ण रूपमा सामान्य हुन सन् २०२७ सम्म कुर्नुपर्ने अवस्था आउन सक्छ ।” यता, तेल उत्पादनमा आएको गिरावटले पनि मूल्य बढाउन थप योगदान गरेको देखिएको छ । अाेपीईसीका अनुसार तेल उत्पादनमा दैनिक ८ लाख ३० हजार ब्यारेलले कमी आएको छ । हाल विश्वभर दैनिक करिब २०.०४ मिलियन ब्यारेल तेल उत्पादन भइरहेको छ । विश्व बजारमा तेल र ग्यासको मूल्य निरन्तर उकालो लागिरहँदा यसको असर इन्धन आयातमा निर्भर मुलुकहरू, विशेषगरी नेपालजस्ता अर्थतन्त्रमा थप महँगी र व्यापार घाटा बढ्ने जोखिमका रूपमा देखिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा
चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ घुमे
मुस्ताङ । सन् २०२६ को सुरुआती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को सोही अवधिकोभन्दा बढी हो। यहाँ सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा ९ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेब्रुअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक यहाँ आएका थिए । कार्यालय प्रमुख गुप्तका अनुसार सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्। यहाँ आउने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ। पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको एक्यापले जनाएको छ।
तेलकाे मूल्य वृद्धिसँगै विश्व आर्थिक अवस्था थप चुनौतीपूर्ण बन्ने अनुमान
काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एसियामा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औंल्याएकी छिन्। वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले मुद्रास्फीति थप बढाउने सङ्केत गरिन्। उनका अनुसार यस्तो परिस्थितिमा मुद्रास्फीति मात्र बढ्ने होइन, भविष्यमा मूल्य स्थिर रहने विश्वास समेत कमजोर हुन सक्ने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्तमान अवस्थालाई ‘प्रतिकूल परिदृश्य’ अन्तर्गत राखिसकेको छ, जसमा दीर्घकालीन द्वन्द्व, तेलको उच्च मूल्य र बढ्दो मुद्रास्फीति दबाबजस्ता पक्षहरू समावेश छन्। गत अप्रिलमा सार्वजनिक गरिएका तीन सम्भावित परिदृश्यहरूमध्ये ‘सन्दर्भ पूर्वानुमान’, ‘प्रतिकूल परिदृश्य’ र ‘कठोर परिदृश्य’ समावेश रहेका छन्। प्रतिकूल परिदृश्यअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने तथा मुद्रास्फीति ५.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अझ गम्भीर ‘कठोर परिदृश्य’ लागू भएमा आर्थिक वृद्धि दर २ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.८ प्रतिशतसम्म पुग्ने सम्भावना व्यक्त गरिएको छ। त्यस्तै, छोटो अवधिको द्वन्द्व रहने अनुमान गरिएको ‘सन्दर्भ पूर्वानुमान’ मा आर्थिक वृद्धि ३.१ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशत रहने अपेक्षा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई हेर्दा यस्तो सकारात्मक परिदृश्य क्रमशः टाढिँदै गएको संकेत गरिएको छ।
काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।

